विराटनगर । सामाजिक क्षेक्रमा निरन्तर त्रियाशील संस्था माहेश्वरी महिला मञ्च विराटनगरले एक सामुदायिक विद्यालयलाई अत्याधुनिक खानेपानी फिल्टर प्लान्ट प्रदान गरेको छ । मञ्चले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको हो ।
विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा मञ्चले खानेपानीको प्लान्ट राखेको छ । कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालयभित्र र बाहिर दुबैतिरका धाराबाट एक दिनमा २ हजार जनाले लाभ पाउन सक्ने मञ्चले जनाएको छ ।
मञ्चले १५ सय लिटर पानी अट्ने स्टोरेज ट्यांकसहितको फिल्टर गर्मी महिनामा चिसो पानी उपलब्ध हुने गरी निर्माण गरेको अध्यक्ष पुनम राठीले जानकारी दिइन् ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार दुबै ठाउँमा जडित प्लान्टको उद्घाटन गर्दै केही समययता मञ्चले गरेका सेवाकार्यबाट आफू अत्यन्त प्रभावित भएको बताइन् ।
प्लान्टमा ५ तहको फिल्टर भएको र यसले पिउनयोग्य आरओ र युभी सहितको उत्पादन गर्ने अध्यक्ष राठीको भनाइ छ । राठीका अनुसार फिल्टरको प्रति घण्टा १२० लिटर पानी उत्पादन गर्ने क्षमता छ ।
मञ्चले प्रदान गरेको फिल्टर प्लान्टको मर्मतसम्भार र रेखदेखको काम विद्यालय व्यवस्थापनले गर्ने सहमति भएको छ ।
कार्यक्रममा अध्यक्ष राठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाहले सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान समेत गरे ।
विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेले केही दिनअघिको गर्मीमा विद्यार्थीहरू पर्याप्त पिउने पानी नपाएर अप्ठेरोमा परेको बताए । कार्यक्रममा महानगरका वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेल र माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरालगायतले बोलेका थिए ।
View : 179
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved