विराटनगर । कहिलेकाहीँ जीवनका केही मिनेटले वर्षौंसम्म पछ्याइरहने सम्झना बनाउने रहेछ । २०८३ साउन १३ गते चीनको आकाशमा बितेको ७५ मिनेट मेरो जीवनको त्यस्तै एउटा घटना बनेको छ ।
साउन ९ मा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको अन्तराष्ट्रिय मिडिया सम्मेलनमा सहभागि भएर फर्कदै थिएँ । सम्मेलनमा महासंघको केन्द्रीय समिति र प्रदेश तथा जिल्ला अध्यक्ष गरेर ४० जना जापान पुगेका थियौं । जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वाङ्झाउका लागि चाइना साउथर्न एयरलाइन्सको विमान उडेको थियो । उडानअघि क्याप्टेनले जानकारी दिएका थिए, ‘चार घण्टा तीस मिनेटमा हामी गन्तव्यमा पुग्नेछौं ।’
हामी तीन जना–नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत जर्घामगर, माला पालुङ्वा र म–एउटै लाइनमा बसेका थियौं । मेरो मोबाइलमा जापानकै समय देखिइरहेकाले बेला–बेलामा भरतजीलाई घडी हेर्न लगाउँथेँ । हामीलाई काठमाडौं जाने अर्को विमान पनि समात्नु थियो, त्यसैले समयप्रति अझ बढी सचेत थियौं ।
उडान सहज थियो । बीच–बीचमा बादल देखिन्थे, तर यात्रामा कुनै असहजता थिएन । गन्तव्य नजिकिदै जाँदा क्याप्टेनले सीट बेल्ट बाँध्न अनुरोध गरे । हामीले झ्यालतिर हेर्दै चीनको भूमिमा अवतरण गर्ने तयारी ग¥यौं ।
तर केही क्षणमै अर्को घोषणा आयो । ‘ग्वाङ्झाउको मौसम प्रतिकूल भएकाले अहिले अवतरण सम्भव छैन । ४० मिनेटपछी अर्को कुनै विमानस्थलमा अवतरण ।’
यात्रुहरू सामान्य थिए । यस्तो सूचना अन्तर्राष्ट्रिय उडानमा अस्वाभाविक होइन । सबैले केही बेर कुर्ने सोच बनाए । तर त्यो केही बेर विस्तारै तनावमा बदलियो ।
समय बित्दै गयो । विमान उस्तै उचाइमा बादलमाथि घुमिरह्यो । झ्यालबाट देखिने एउटै दृश्य थियो—सेता बाक्ला बादल र विमानको पखेटा । जमिन कतै देखिदैनथ्यो । दिशाको कुनै अनुमान थिएन ।
समय ४० मिनेट नाघ्यो । त्यसपछि ५० मिनेट । एक घण्टा । विमानभित्रको वातावरण विस्तारै बदलिन थाल्यो ।
सुरुमा हाँसिरहेका यात्रुहरू गम्भीर भए । कोही झ्यालतिर टोलाइरहेका थिए, कोही आँखा चिम्लेर प्रार्थना गरिरहेका थिए । किशोरकिशोरीको आवाज पनि कम हुँदै गयो । विमानका कर्मचारीहरू यात्रुहरूलाई आश्वस्त पार्न आएनन् । करिव एक घण्टा न क्याप्टेन बोले न कर्मचारीनै ।
बीच–बीचमा जहाज बाक्ला बादलका तहमा पस्दा ठूलै धक्का महसुस हुन्थ्यो । विशाल विमान एकाएक तल झरेजस्तो लाग्थ्यो, फेरि उचाई लिएर सम्हालिन्थ्यो ।
हरेक पटक मेरो मुटु पनि त्यसैगरी तल झथ्र्यो । भरतजीले वातावरण हल्का बनाउन रुन्चे हाँसो हाँस्दै भन्नुहुन्थ्यो, ‘के होला अब ?’
म पनि मुस्कुराउने प्रयास गर्थें । तर त्यो मुस्कानमा आत्मविश्वासभन्दा बढी डर लुकेको थियो ।
त्यही बेला मनमा एउटा अनौठो सोच आयो । ‘यदि आज केही भयो भने ?’
त्यसपछि आफैंलाई सम्झाएँ—‘यात्रा बीमा गरेको छु । कम्तीमा परिवारलाई केही आर्थिक सहारा त पुग्ला ।’ अनि अन्तराष्ट्रिय बिमान कम्पनी भएकाले त्यसको बिमापनि ठुलै होला । त्यो सोचले मृत्यु स्वीकारेको होइन, डरलाई नियन्त्रण गर्ने प्रयास मात्र थियो । मृत्यु नजिक छ कि जस्तो अनुभूति भइरहेको थियो ।
विमानमा करिब ४८० यात्रु थिए । तर त्यतिबेला सबैको मनमा एउटै प्रश्न थियो—हामी सुरक्षित अवतरण गर्न पाउँछौं कि पाउँदैनौं ? अन्ततः ७५ मिनेटपछि क्याप्टेनको आवाज फेरि सुनियो ।
पहिले चिनिया भाषामा केही घोषणा भयो । त्यसलगत्तै विमानभित्र एकाएक ताली बज्न थाल्यो । हामीले भाषा बुझेनौं, तर यात्रुहरूको प्रतिक्रिया देखेर त्यो शुभ समाचार भएको अनुमान गर्न गाह्रो थिएन ।
केही क्षणपछि अंग्रेजीमा तर नेपालीमा यस्तो अर्थ लाग्ने शब्द सुनिए–‘महिला तथा सज्जनवृन्द, हामीलाई अब ग्वाङ्झाउ विमानस्थलमा अवतरण गर्ने तयारीमा छौं ।’
त्यो वाक्य सुन्नासाथ मनमा अकल्पनीय हल्कापन आयो । मैले पनि ताली बजाएँ । त्यो ताली एउटा सफल अवतरणको मात्रै थिएन, फेरि एकपटक जीवनतर्फ फर्कन पाएको खुसीको थियो ।
तर हाम्रो दौडधुप अझै बाँकी थियो । ग्वाङ्झाउमा अवतरण गर्दा काठमाडौं जाने हाम्रो अर्को उडान छुट्नै लागेको थियो । विमानबाट ओर्लिनेबित्तिकै एक चिनिया कर्मचारीले कराउँदै सोधिरहेकी थिइन्–काठमाडौं, काठमाडौं । हामीले हात उठायौं । उनले हाम्रो लुगामा ‘एक्प्रेस कनेक्सन’ लेखिएको स्टिकर टाँसिदिइन् र एउटै शब्द भनिन्–रन । अर्थात् दौड ।
हामी साँच्चै दौडियौं । विशाल विमानस्थल । अपरिचित भाषा । बोर्डहरू हेर्दै, कर्मचारीहरूको हातको इशारा पछ्याउँदै, सुरक्षा जाँच पार गर्दै हामी गेट नम्बर १४८ खोजिरहेका थियौं । समयसँगै दौडिरहेको त्यो क्षण अझै चलचित्रझैं आँखाअघि आउँछ । करिब २५ मिनेटपछि अन्ततः गेटमा पुग्दा बोर्डिङ लगभग सकिन लागेको थियो ।
विमानभित्र पस्दै गर्दा पहिलो पटक गहिरो सास फेरें । ‘अब घर पुगिन्छ ।’
साढे चार घण्टापछि राति साढे १० बजे काठमाडौं अवतरण गरियो । त्यही विमानमा मेरो दाहिनेतर्फ झ्यालको सिटमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल थिए । मैले छोटो परिचय गराएँ । काठमाडौंमा ओर्लिएपछि उनी पनि हामीजस्तै नेपाल एयरलाइन्सको बसमै टर्मिनलतर्फ लागे ।
उता, त्यही विमानका एक विदेशी दम्पतीका लागि भने छुट्टै भ्यान आएको थियो । त्यो दृश्यले मलाई सोच्न बाध्य बनायो । पद, शक्ति र प्रतिष्ठा सबै समयसँगै परिवर्तन हुन्छन् । आज सत्तामा भएकाहरू पनि भोलि पूर्व हुन्छन् । अन्ततः सबै यात्रु एउटै गन्तव्यका सहयात्री मात्र रहेछन् ।
त्यसपछि अर्को सानो झट्का बाँकी नै थियो । लगेज बेल्टमा पुग्दा माइकबाट हाम्रो तीनै जनाको नाम बोलाइयो । हाम्रो सामान ग्वाङ्झाउमै छुटेको रहेछ । मैले नारिता बिमानस्थलमै चिनजान गरेका करिव ६० र ७० वर्षीय दम्पती हाम्रो सामानसँगै चिनमै छुटेछन् । उनीहरु छोरा भेटेर काठमाडौ फर्कदै थिए । मैले उनीहरुको मोबाइलमा वाईफाई जोड्न सहयोग गरेको थिएं । चिनमा उनको भाषा बुझ्ने थिएनन् ।
भोलिपल्ट राति मात्र सामान काठमाडौं आइपुग्यो । सायद उनीहरुपनि भोलिपल्ट नेपाल आए होला । जापान घुम्दाका अविश्मरणीय क्षणसँगै ७५ मिनेटको आकाशको मौनता मनमा घुमिरहेको छ ।
आज त्यो घटना सम्झँदा लाग्छ—जीवनको मूल्य कहिलेकाहीँ सुरक्षित रूपमा जमिन टेक्ने क्षणले सिकाउँछ । चीनको आकाशमा बितेको त्यो ७५ मिनेटले मलाई एउटा पाठ दियो—मानिसले धेरै कुरा योजना बनाउन सक्छ, तर अन्तिम निर्णय कहिलेकाहीँ प्रकृति, समय र भाग्यको हातमा पनि हुन्छ । त्यसैले प्रत्येक सुरक्षित अवतरण एउटा सामान्य घटना होइन, एउटा नयाँ अवसर हो–फेरि एकपटक आफ्ना मानिसहरूकहाँ फर्किने अवसर पनि ।
जापान छाड्दैगर्दा बिदाई गर्न आउनु भएका टोकियोमा रहेका अग्रज पत्रकार तिलक मल्लसँग हामी तीन जना ।
View : 366
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved