Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालद्वारा वेष्ट इण्डिज ए पराजित

उद्घोष सम्वाददाता
१५ वैशाख २०८१, शनिवार

विराटनगर । शनिबारदेखि सुरु भएको पाँच खेलको टी–२० सिरिजको पहिलो खेल नेपालले जितेको छ । नेपालका लागि कप्तान रोहित पौडेलको शानदार शतकको मद्दतले वेष्ट इण्डिज ए ४ विकेटले पराजित भएको हो । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन जोडेको थियो । २०५ रनको लक्ष्य पछ्याएको नेपालले दुई बल बाँकी छँदै चार विकेटले रिसिजको पहिलो खेल जितेको हो । 

जितका लागि रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्काको मद्दतबाट ११२ रनको शतकीय इनिङ दर्ता गरे । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए ।

नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट बने ।

नेपाललाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । रोहित आउट भएपछि क्रिजमा उत्रिएका प्रतिश जिसी र गुल्सन झाले अन्तिम ओभर सम्हाल्दै १० रन जोड्दै जित सुनिश्चित गरेका थिए । 

नेपालका ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भएका थिए ।

वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्डले २ र किमो पलले १ विकेट चड्काए ।

वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाएर आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट बने ।

कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले समान १–१ विकेट लिए । अब नेपाल र वेष्टइण्डिज ए बीचको सिरिजको दोस्रो खेल आइतबार हुने जनाइएको छ ।

View : 80

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved