Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

महिला उद्यमीहरूको प्रेरणाको कथामाथि छलफल

उद्घोष सम्वाददाता
२५ जेठ २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशमा रहेका महिला उद्यमीहरूले आर्थिक विकासमा गरेको योगदान र उनीहरूको उद्यमशीलताले प्रेरणाबारे शुक्रबार विराटनगरमा अन्तरक्रिया गरिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिको आयोजनामा भएको छलफलमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेश सरकारको नीति तथा कार्यक्रमले उद्यमशीलता विकासलाई सम्बोधन गरेको बताइन् ।

समिति सक्रियतामा भइरहेको महिला उद्यमशीलता विकासको प्रेरणाको कथाले अन्य क्षेत्रमा रहेका महिलाहरूलाई समेत उद्यमशीलता लाग्नका लागि प्रेरणा मिलेको बताइन् । 

महासंघ कोशी प्रदेश महिला उद्यम विकास समिति सभापति सरू केसीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाकी प्रमुख दुर्गा भण्डारीले मुलुकको अर्थतन्त्रमा उद्यमी महिलाको योगदान एक विश्लेषण कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले महिला उद्यमशीलता र महिला सशक्तीकरण बीच सम्बन्ध रहेको भन्दै उद्यमशीलताको माध्यमबाट महिलाहरूको आर्थिक स्वतन्त्रता र आत्मसम्मानमा पनि वृद्धि भएको बताइन् । 

सभापति केसीले महिला उद्यम विकास समितिका माध्यमबाट महिलाहरूको उद्यमशीलता विकासमा महासंघले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिइन् । उनले उद्यमशीलतामा सफल भएका महिला उद्यमीहरूको प्रेरणाका कथाले उद्यमशीलता विकासमा अघि बढेका अन्य महिलाहरूलाई समेत सकारात्मक प्रभाव पार्ने बताइन् ।

इलाम नगरपालिका–८ स्थित ग्रीनसिटी ललिपप उद्योगीकी सञ्चालक दीपा गुरुङको उद्यमशीलता विकासको सफलताको कथा प्रस्तुत गरिएको थियो । उनले उद्यम सञ्चालन गर्ने सुरुवाती समयमा धेरै व्यवधान भोग्नु परेपनि अहिले ४० जनालाई रोजगार प्रदान गरेको उल्लेख छ । साथै वैदेशिक रोजगारीमा रहेका आफ्ना श्रीमानलाई समेत स्वदेश फर्काएका उद्यमशीलताकै कार्यमा संलग्न गराएको कथा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महिला उद्यमीको आर्थिक अधिकार विषयमा मानव अधिकार आयोगका पूर्व निर्देशक सुवर्ण कुमार कर्माचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले राजनीतिक र सामाजिक रूपमा महिलाहरू सशक्त बन्न आर्थिक रूपले पनि सशक्त बन्नुपर्ने धारणा राखिन् । 

उनले महिलाहरूको उत्पादनको गुणस्तर, मूल्य र ब्रान्डिङमा जोड दिनुपर्ने बताइन् । विराटनगर महानगरपालिकाले महिला उद्यमशीलताको अवस्था बारेमा अध्ययन गरिरहेको जानकारी दिँदै आगामी बजेटमार्फत महिला उद्यमशीलता विकासको क्षेत्रमा सम्बोधन गर्ने बताइन् । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिला सशक्तिकरणको खाँचो रहेको बताए । उनले अध्ययनका साथसाथै तालिमले क्षमता विकास हुने बताए । आन्तरिक राजस्व कार्यालयका हरि सेढाईंले उद्यमशीलता विकासका आधारभूत पक्षहरू बारेमा चर्चा गर्दै महिला उद्यमीहरूले व्यवसाय व्यवसाय सञ्चालनमा भोग्नु परेको कर र उद्योग व्यवसायसम्बन्धी समस्यालाई सहजीकरण गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघसम्बद्ध महिला समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

View : 227

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved