बिहीबार आयोजित ग्रामथान गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशनमा अध्यक्ष माझीलाई कानुन सम्झाउँदै अन्य जनप्रतिनिधीहरु ।
विराटनगर । कार्यपालिका बैठक समेत बसाउन नसकेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कानुन विपरीत गाउँसभा बोलाएका कारण विरोध भएपछि आफैंले बैठक स्थगित गरेका छन् ।
निर्वाचित भएलगत्तै एकपछि अर्को विवादमा मुछिएका अध्यक्ष माझीले अहिलेसम्म पनि कार्यपालिका बैठक सौहार्दपूर्ण रुपमा बसाउन सकेका छैनन् । माझीले बिहीबार बोलाएको गाउँसभाको १६ औं अधिवेशन कानुन विपरीत भएको भन्दै सभाका सदस्यहरूले प्रश्न उठाएपछि स्थगित गर्न बाध्य बनेका हुन् ।
माझीले कार्यपालिका बैठकमार्फत गाउँ सभाको अधिवेशनमा प्रस्तुत गर्ने साझा प्रस्ताव ल्याउनु पर्नेमा कुनैपनि छलफल नगरी प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तुत गरेपछि गाउँपालिकाका सदस्यहरूले विरोध जनाएका थिए । सदस्यहरूले ‘कार्यपालिका बैठकमा छलफल नगरी प्रस्ताव ल्याउने हो भने कार्यपालिकाको औचित्य के रह्यो ? किन बस्नु पर्यो ?’ भन्दै प्रश्न गरेका थिए ।
अध्यक्ष माझीको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार भण्डारीले गाउँपालिकाको बार्षिक आयव्यय प्रस्तुत गरेपछि गाउँसभाका सदस्यहरूले विरोध जनाए । त्यसपछि बैठक झन् असहज बनेको थियो ।
‘प्रमुख प्रशासकीयले बजेट र आयव्यय प्रस्तुत गर्ने हो कि उपाध्यक्षले गर्ने हो ?’ गाउँसभाका एक सदस्यले भने, ‘अवैधानिक तरिकाले गाउँसभा सञ्चालन भएका कारण स्थगित गरेर फेरि बैधानिक तरिकाले आउनु पर्छ । जबसम्म बैधानिक रुपमा प्रस्ताव आउँदैन तबसम्म स्थगित हुनुपर्छ ।’
गाउँसभा बैठकमा अध्यक्ष माझीले आचारसंहिताका नाममा सदस्यहरूलाई बोल्न निरुत्साहित गर्ने प्रयास गरेपनि उनी सफल भएनन् ।
अधिवेशन नै अवैधानिक रुपमा सञ्चालन गरेका कारण उनी पछि हट्न बाध्य बने ।
अध्यक्ष माझीले अरुलाई मात्रै कानुन र सिस्टम सिकाउने गरेको भन्दै कार्यपालिकाका एक सदस्यले आलोचना गरेका थिए । यसअघि कार्यापालिकाको बैठकको निर्णय बिनै अध्यक्ष माझीले माओवादी कार्यकर्ताहरू समेत परिचालन गरेर उपाध्यक्ष गुणावती धामीले चढ्दै आएको गाडी र वडाध्यक्षहरूले प्रयोग गर्ने मोटरसाइकल जबरजस्ती खोसेका थिए । त्यसको कानुनी प्रक्रियाबारे गाउँसभामा प्रश्न उठेपछि अध्यक्ष माझी नाजवाफ बनेका थिए ।
आलोचना चर्किएपछि अध्यक्ष माझीले बैठक स्थगनको माग पनि गर्ने तर बोल्न पनि नछाड्ने ? भन्दै गाउँसभाका सदस्यहरूलाई बैठक स्थगित गर्न उत्तेजित पारेका थिए । माझी आफैंले गाउँसभाका सदस्यहरूलाई आफ्नो आसनबाट उठेर बैठक स्थगितको माग गर्न आग्रह गरेका थिए ।
स्थगित नभएको बैठकमा गाउँसभाका सदस्यले बोल्न पाउनुपर्ने अडान राखेका थिए । त्यसपछि अध्यक्ष माझी आफैंले ‘तपाईँहरुले माग गर्नुपर्यो नि त’ भनेर बैठक स्थगित गर्ने माहौल बनाए ।
‘तपाईँहरू नै सार्वभौम सम्पन्न हुनुहुन्छ, ल ल सबैजना उठ्नुस् त ल, स्थगन गर्नुहुन्छ भने सवै उठिदिनुस्’ अध्यक्ष माझीले भनेका थिए । त्यसपछि कानुन विपरीत गाउँसभाको अधिवेशन भएको भन्दै सदस्यहरूले ‘ल अब हेर्नुहोस्’ भन्दै उठेर बहुमत रहेको जनाउ दिएका थिए । अध्यक्ष माझी ‘आजको सभा बहुमतद्वारा स्थगन हुन्छ ल’ भन्दै सभाहलबाट बाहिरिए ।
View : 194
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved