राउत नेतृत्वको महासंघ कार्यसमिति सपथ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक विकासलाई गति दिन प्रदेश सरकारले साना तथा मझौला उद्योगहरूलाई लक्षित गरी दुईवटा ठूला कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
ती कार्यक्रममार्फत प्रदेश सरकारले ब्याजमा अनुदानदेखि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने आश्वासन दिएका हुन् ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अब टुक्रे योजना बनाउने र त्यसमा बजेट विनियोजन गर्ने परम्परा हटाउँदै लगेको पनि बताएका छन् ।
‘६ अर्ब रुपैयाँ बराबरको लगानीमा साना तथा मझौला उद्योगहरूलाई २ देखि ५ वर्षसम्म ब्याज अनुदान दिइनेछ, ऋणको सीमा ३० लाखदेखि ३ करोडसम्म रहेको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘जिल्ला नगर उद्योग वाणिज्य संघहरूले उद्यमी पहिचान गरी प्रदेशसँग जोड्न सहयोग गरिदिनुपर्छ, हामीले स्विस सरकारको सहयोगमा करिब ८ अर्बको सहुलियतपूर्ण ऋण कार्यक्रमअन्तर्गत कम धितोमा बढी ऋण उपलब्ध गराउँदैछौं ।’
कम धितोमा बढी ऋण उपलब्ध गराउँदै प्रदेश सरकारको उद्योग, कृषि तथा पशुपंक्षी मन्त्रालयमार्फत सञ्चालित ब्याज अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताए ।
‘यसका लागि राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकसँग सम्झौता भइसकेको छ, व्यवसायीहरूलाई सक्रिय रूपमा जोड्न आग्रह गर्दछु’ उनले भने, ‘यी कार्यक्रमहरूले कोशी प्रदेशमा उत्पादन वृद्धि, आर्थिक गतिविधि र रोजगारी बढाउने विश्वास लिएका छौं ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका कर्मचारीहरूलाई दिइने पोशाक भत्तालाई प्रदेशमै उत्पादित कपडा (ढाका, अल्लो, खादी आदि) लगाए मात्र उपलब्ध गराउने नीति ल्याएको बताए ।
प्रदेशमै उत्पादित कपडालाई पोसाकका रुपमा खरिद गर्न थप ५ हजार ५०० रुपैयाँ उपलब्ध गराइने पनि जानकारी दिए । उनले इच्छुक स्थानीय तहहरूले पनि इच्छा देखाए प्रदेश सरकारले पनि सहुलियत रकम उपलब्ध गराउने आश्वासन दिए ।
‘प्रदेशमा हामीसँग ४ हजार कर्मचारी छन्, उनीहरूलाई पोसाकका लागि बार्षिक ५ हजार ५०० रुपैयाँ पोसाक भत्ता थपिदिने छौं, यो नीति स्थानीय तहका १२ हजार कर्मचारीसहित कुल १६ हजार कर्मचारीमा पु¥याउन सहकार्य गर्न तयार छौं’ उनले भने, ‘यसले गर्दा हाम्रो प्रदेशमा रहेका करिब २०० साना तथा मझौला घरेलु कपडा उद्योगहरूलाई ठूलो फाइदा पुग्नेछ, तपाईहरूले अब उद्यमीहरूलाई सशक्त बनाउन सहयोग गरिदिनुहोस् ।’
घरेलु तथा साना र मझौला उद्योगमा महिलाहरूको सहभागिता उच्च रहेकोले यस क्षेत्रको उत्पादन क्षमता वृद्धि गर्न धागोको गुणस्तर विस्तार र मेसिनका लागि प्रदेश सरकारले अघि सारेको ब्याज अनुदान तथा सहुलियतपूर्ण ऋण उपयोग गर्न सकिनेमा उनले जोड दिए ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारप्रति लक्षित गर्दै उद्योगीहरूलाई तर्साउने नभई सहयोग गर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योगी व्यवसायीको हितमा सहकार्य गरेर महानगर अघि बढ्दै आएको बताए ।
यसअघि स्वदेशी व्यापार विस्तारका लागि भन्सार नाकाबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउन रोक्ने प्रयासमा भने व्यवसाय क्षेत्रबाटै असहयोग भएको संकेत गर्दै त्यसलाई सफल बनाउन नसकिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष दिपसुन्दर श्रेष्ठले निजी क्षेत्रले विना कारण सरकारहरूबाट दुःख पाउने गरेको गुनासो गरे ।
उनले महासंघले मुलुकको अर्थतन्त्र बलियो बनाउन ६ वटा पिलर र ६० वटा पहलहरू गर्दै अघि बढाउने प्रतिवद्धता जनाए ।
पदस्थापन कार्यक्रममा महासंघका पूर्वउपाध्यक्ष हेमराज ढकाल, किशोर प्रधान, नवनिर्वाचित केन्द्रीय सदस्य सुयश प्याकुरेल, महासंघ कोशीका संस्थापक अध्यक्ष नरेन्द्र खड्का र नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले शुभकामना दिएका थिए ।
View : 252
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved