Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मर्मत भयो थामे बाढीले क्षतिग्रस्त बनाएको बिजुली, खुम्बु क्षेत्र १५ दिनपछि फेरी झिलिमिली

उद्घोष सम्वाददाता
१४ भदौ २०८१, शुक्रवार

विराटनगर । हिमताल फुटेर आएको भीषण बाढीबाट सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेस्थित खुम्बु बिजुली कम्पनीको क्षतिग्रस्त संरचना मर्मत गरेर १५ दिनपछि खुम्बु क्षेत्रमा विजुली बालिएको छ ।

गत साउन ३२ गते दुईवटा हिमताल फुटेर थामे खोलामा आएको भीषण बाढीले ९५० किलो वाट क्षमताको खुम्बु जलविद्युत कम्पनीको हेडवक्स र बालुवा थेग्र्याउने पोखरी क्षतिग्रस्त बनाएको थियो । क्षति भएको १५ दिनपछि मर्मत गरेर शुक्रबारबाट खुम्बु क्षेत्रमा विजुली बलेको जनाइएको छ ।

अष्ट्रिया नेपाल कर्पोरेसनको सहयोगमा थामेमा सन् १९९५ अक्टोबर ५ बाट उक्त साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको सो विद्युत आयोजनाको बिजुलीले सगरमाथा आधार शिविरको घाँटी नाम्चे बजार लगायतका ठाउँमा विद्युत सेवा सञ्चालन हुँदै आएको थियो ।

साउन ३२ को बाढीले क्षतिग्रस्त बनाएको संरचनालाई अस्थायी रुपमा मर्मत गरी शुक्रबारदेखि खुम्बु क्षेत्रमा विद्युत पुनः सञ्चालनमा आएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

‘हिजोसम्म खुम्बु क्षेत्रमा विद्युत थिएन, दैनिक जनश्रमदान र सहयोग जुटाएर आयोजनाको बगाएको भाग मर्मत गरेर आजदेखि विजुली बल्यो’ वडाध्यक्ष अधिकारीले भने, ‘बाढीले पोखरीमा पानी जाने मूल नै बगाएको थियो, मर्मत गरेर वैकल्पिक रुपमा विद्युत सञ्चालनमा ल्याएका छौं ।’

उनले उक्त विद्युत आयोजनाबाट खुम्बु क्षेत्र अन्तरगतको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ र ५ का ४८१ घरले विद्युत सेवा उपभोग गर्दै आएको जानकारी दिए ।

उनले वडा नम्बर ५ को सम्पूर्ण भाग र वडा नम्बर ४ को खुम्जुङ, खुम्देदेखि सगरमाथा बेसक्याम्प जाने बाटोमा रहेको होटल एभरेष्ट भ्यूसम्म सोही विद्युत आयोजनाको विद्युत प्रयोग हुने गरेको बताए ।

शुक्रबारदेखि विद्युत सेवा सञ्चालनमा आएका कारण खुम्बु क्षेत्रमा टेलिफोन सेवा समेत सुचारु भएको जानकारी दिए । विद्युत आयोजना मर्मतका लागि दैनिक ५० जना कामदारलाई दिनको दुई हजार रुपैयाँ ज्याला दिएर खटाइएको बताए ।

त्यसका साथै नाम्जे लगायत खुम्बु क्षेत्रका बासिन्दा, गाउँपालिका, विदेशमा रहेका व्यक्‍तिहरूबाट प्राप्त सहयोग समेट जुटाएर विद्युत आयोजना मर्मत गरिएको र सबैबाट ठुलो सहयोग प्राप्त हुँदा छोटो समयमै विद्युत सेवा सञ्चालनमा आएको जानकारी दिए । 

विद्युत आयोजना पूर्ण रुपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने जनाइएको छ ।

View : 159

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved