बहुमुखी कृषि फर्ममा लगाइएको कुरिलो । साथमा शिवेन्द्र बस्नेत ।
बेलबारी(मोरङ) । शिवेन्द्र बस्नेतको जिन्दगी कुनै बेला आकाशमै दौडिन्थ्यो । पेशाले पाइलट उनले धेरै समय ककपिटमा बसेर आकाशमा फन्को लगाएका छन् । पाइलट भएपनि सोचले व्यवसायी शिवेन्द्रका सफलताले धेरै पटक आकाश चुमेको छ । तर उनीसँग असफलताले धर्तीमा थेचारिएको रेकर्ड पनि छ । जति थेचारिए पनि उनले हिम्मत भने हारेका छैनन् । धुलो टक्टक्याउँदै शिवेन्द्र यतिखेर मोरङ बेलबारी डाँगीहाटस्थित आफ्नै पैतृक थलोको माटो सुम्सुमाउँदै छन् ।
शिवेन्द्र बस्नेत नेपालको उड्डयन क्षेत्रमा एकछत्र राज गरिरहेको बुद्ध एयरका संस्थापकमध्येका एक हुन् । उनी उक्त एयरलाइन्समा आफ्नो ४० प्रतिशत शेयर भएको दावी गर्छन् । यो एयरलाइन्सको स्वामित्वसम्बन्धी कानूनी लफडा शिवेन्द्र र उनका आफ्नै दाजुबीच अहिले चलिरहेको छ ।
विश्वका धेरै मानिसका लागि अमेरिका सपनाको संसार हो । अवसर, सुविधा अनि सुरक्षाका दृष्टिले उचाइयुक्त मानिने अमेरिकामा पनि व्यापारमार्फत शिवेन्द्रले लोभलाग्दो उचाइ हात पारिसकेका छन् । यसरी पेशागत रुपमा धेरै हिसाबले उचाइ प्राप्त गरिसकेका उनै शिवेन्द्र केही वर्षयता धर्तीमा ओर्लेर माटोसँग खेलिरहेका छन् । उनी माटोमा हुर्कदै गरेका वनस्पति र चौपायाहरू सुम्सुम्याइरहेका छन् । व्यावसायिक र पेशागत रुपमा जिन्दगीभरि आर्जेको सफलतालाई एकातिर छाडेर माटोमा विभिन्न फसलहरू फलाइरहेका छन् ।
भनिन्छ, दुनियाँमा सबका सबले आफ्नो दायित्व भूले पनि हावा, पानी र माटोले कहिल्यै कर्तव्य भुल्दैनन् । खनजोत गरेर रोप्ने र छर्ने कर्म गरिसकेपछि माटोले आफ्नो कर्तव्य निभाउँदै केही न केही उत्पादन दिन्छ । शिवेन्द्र यतिबेला मोरङ बेलबारीस्थित डाँगीहाटको आफ्नो खेतबारीमा फसल मात्रै होइन एउटा सपना हुर्काइरहेका छन् । यस्तो सपना जुन माटोसँग जोडिएको छ । यस्तो सपना जो माटोमै अंकुराइरहेको छ, फक्रिरहेको छ, फुलिरहेको छ ।
हालैको एउटा झरिलो बिहान । शिवेन्द्रले चलाइरहेको डाँगीहाटको बहुमुखी कृषि फार्ममा उद्घोष टिम पुग्दा छाता ओढेर उनी फार्म क्षेत्रको चक्कर लगाइरहेको अवस्थामा भेटिए । ६५ बिघा क्षेत्रफलमा फैलिएको उनको फार्ममा बोयर जातका ४ सय बाख्रा भर्खरै दानापानी खाएर उग्राइरहेका थिए । स्थानीय र ब्रोइलर गरी ८ हजारभन्दा बढी कुखुरा ‘काँ, काँ,’ को आवाज निकालिरहेका थिए । ७० वटा होलिस्टेन जातका गाई बाछा आफ्नै आश्रयमा विचरण गरिरहेका थिए । शिवेन्द्र चाहिँ आफ्ना कर्मचारीहरुलाई सोध्दै थिए ‘यो बाख्राको दाना कसरी छिटो सकियो ? डाटाले त अझै पुग्नुपर्ने देखाउँछ त ?’
बाख्राको दानाको पनि डाटा राख्नुहुन्छ ? प्रश्न भूइँमा खस्न नपाउँदै छिटोछिटो बोल्ने आफ्नो स्वभावअनुसार उनले भने ‘हो दानाको डाटा । दानाको, घाँसको, परालको, औषधिको अनि कुन बाख्रा वा कुखुराको कति दिनमा कति तौल भयो, के-के औषधि प्रयोग भयो । भ्याक्सिनहरू के के प्रयोग भयो एक-एक तथ्याङ्क हामीसँग हुन्छ । हरेक दिन प्रत्येक खसीबोका, बाख्रा, कुखुराको तौलबारे हामी जानकार हुनैपर्छ । उनीहरूले के कति खानेकुरा खाए, कति खाएनन् भन्नेबारे पनि एकएक हिसाब राख्नैपर्छ ।’
उनको यो अभिव्यक्ति झट्ट सुन्दा ‘पाइला गन्दै हिंडे’ जस्तो सुनिन सक्छ । तर, बहुमुखी कृषि फार्ममा उनले जे जस्तो सतर्कता र सचेतता प्रदर्शन गरेका छन्, त्यसले खेतीपाती र पशुपालन कति संवेदनशील र गम्भीर काम हो भन्ने दर्बिलो प्रमाण दिन्छ । त्यसैले त यहाँको बाख्राको खोर पनि कुनै अस्पतालको टक्टकाउँदो भूइँजस्तो सफाचट देखिन्छ । सुत्केरी बाख्रा र पाठापाठीको हेरचाहका लागि सुविधायुक्त अलग्गै कक्ष, कुखुराको खोर होस् वा गाईको गोठ, कोही कसैले यत्तिकै प्रवेश पाउँदैन । पहिले खुट्टालाई पूरै ‘स्यानिटाइज’ गर्ने त्यसपछि मात्रै खोरतिर प्रवेश गर्ने प्रोटोकल पूरा गर्नैपर्छ । ‘कुखुरा र बाख्राको मुख्य प्रयोजन मासु हो’, शिवेन्द्रले सुनाए ‘त्यसका लागि उनीहरूको तौल बढ्नैपर्छ । स्वस्थ मासुका लागि स्वस्थ कुखुरा–बाख्रा अनिवार्य शर्त हो । त्यसैले यसमा कुनै सम्झौता गरिन्न ।’
उनले देखाएको प्रतिबद्धता व्यवहारमै लागु भइरहेको देखिन्छ । यसको प्रमाण इटहरी र विराटनगरमा रहेका अत्याधुनिक डेरी र फ्रेस हाउस हुन् । बहुमुखी कृषि फार्मका यी दुइटै आउटलेटमा दुग्ध पदार्थ केहीबेरमै ‘सोल्ड आउट’ हुन्छ भने मेसिनबाटै तयार हुने मासुजन्य पदार्थ खोज्दै आउने उपभोक्ताको भीड पनि उत्तिकै हुन्छ । ‘हामीले दिने हरेक पदार्थ अन्यत्रभन्दा शुद्ध र सस्तो हुन्छ’, उनले भने ‘किनभने, हामीले आफै उपभोक्तासम्म आफ्ना उत्पादन पुर्याउँछौं । बीचमा बिचौलिया छिर्नै पाउँदैन । बिचौलियाले प्रवेश नै नपाएपछि उपभोग्य सामग्री शुद्ध र सस्तो हुन्छ ।’
शिवेन्द्रका अनुसार नेपालमा बोयर जातका बाख्रा भित्र्याएकै उनका पिताजी सुरेन्द्रबहादुर बस्नेतले हो । ‘८-१० वर्षअघि बुबाले पहिलोपटक नेपालमा भित्र्याएको त्यही जातको बाख्रा हामीसँग अहिले ४ सय जति छन्’, उनले भने ‘खसीबोका र बाख्रा दुवै छन् ।’ बाख्रा पाल्नकै लागि आफूले अमेरिका छदै बाख्रापालनबारे प्रशस्त अध्ययन गरेको पनि उनले सुनाए । ‘अमेरिकामा हुँदा नेपालमा बाख्रा पाल्नकै लागि अनलाइनबाटै कक्षा लिएँ’, उनले भने ‘नपढी र नबुझी यो क्षेत्रमा हात हाल्नै हुन्न । बाख्रा पाल्नु मात्रै भनेर हुँदैन । त्यसका लागि प्रविधि बुझ्न पर्यो, पशु स्वास्थ्यबारे बुझ्न पर्यो । त्यही पढाइले मलाई सजिलो भएको छ ।’
शिवेन्द्रले एकातिर गाईबाख्रा र कुखुरापालनमा लोभलाग्दो तरक्की देखाइरहेका छन् भने अर्कातर्फ १६ बिघा क्षेत्रफलमा माछापोखरी पनि तयार पारिसकेका छन् । माछापोखरीकै नजिकै १९ विघा जमिनमा सुपारीका १५ हजार विरुवा हुर्किरहेका छन् । मोहितनगर जातका सुपारी लगाएकै क्षेत्रमा लाकाडङ जातको बेसार पनि मौलाएर आइरहेका छन् । सुपारीका प्रत्येक बोटमा मरिचका लहरा पनि लहराइरहेका छन् । ‘यो सुपारी फल्न थाल्दै गर्दा यहाँ पान मसला उद्योग स्थापना भइसकेको हुनेछ’, उनले योजना सुनाए ‘जर्दारहित पान मसला यहीँ बन्नेछ । बेसारको प्रशोधन यहीँ हुनेछ । यहाँबाट प्याकेजिङ गरेर मिसावटरहित अबको एक डेढ वर्षमा बेसार बजार पुग्नेछ ।’
धान, मकै जस्ता अन्नपातका अलावा उनको खेतबारीमा सिजनका हरेकजसो तरकारी अनि कुरिलो लहलहाइरहेका छन् । यसरी कृषिकर्मको बहुआयामिक अभ्यासको सफल परीक्षण गरिसकेका उनले आफ्नो फार्मलाई कृषि पर्यटनको आकर्षक गन्तव्य बनाउने योजना बुनेका छन्। ‘जब यी १५ हजार सुपारीका विरुवा हलक्क बढ्ने छन्, यहाँ ठूलो जंगल क्षेत्र निर्माण भइसकेको हुनेछ’, शिवेन्द्रले हुर्काइरहेको सपना साझा गरे ‘त्यसपछि यहाँ एउटा हात्ती र पाँच वटा घोडा राख्नेछु । यहाँ बोटिङ, फिसिङ र जीपलाइनको सुविधा हुनेछ ।’ जीपलाइन सञ्चालनका लागि संरचना तयार हुँदैछ भने बोटिङका लागि काठे डुंगाहरू बेलबारी झारिसकेका छन् ।
शिवेन्द्रले थपे ‘यहाँ दुईटा पिकनिक स्पट पनि बनाउँदैछु । पिकनिक आउने टोलीले माछामासु, अन्नपातदेखि पकाइतुल्याइ रेडी पार्दिने मान्छे र सामग्री हामीबाटै प्राप्त गर्नेछन् ।’ उनका अनुसार यो सबै काम पूरा गर्न अब ८ करोड हाराहारी लगानी लाग्ने अनुमान छ । अहिलेसम्म १५ करोड हाराहारी लगानी भइसकेको उनले सुनाए । ६५ विघा क्षेत्रफलको जग्गालाई भारत-पाकिस्तान सीमा क्षेत्रमा जस्तो तीन तहको काँडेतारको वाल लगाइएको छ । विश्वका सबैजसो मुलुकबाट बीऊबिजन ल्याइएको छ । जस्तो, अस्ट्रेलियाबाट बाख्रा, हल्याण्ड र नेदरल्याण्डबाट गाई, भारतको सिलोङबाट बेसार, अमेरिकाबाट कुरिलो । माटोमा यतिधेरै लगानी किन ?
शिवेन्द्रको प्रष्ट विचार छ ‘मैले अहिलेसम्म गरेको लगानी खेर गएकै छैन । आएको आयै छ । फेरि अब नेपालमा कुनै क्षेत्रमा सबैभन्दा धेरै सम्भावना छ भने त्यो कि हाइड्रो हो, कि कृषि नै हो ।’ लगानीकै विषयमा उनी अरु पनि थप्ने योजना सुनाइरहेका छन् । किनभने आफ्नो फार्मलाई एग्रो टुरिजमको केन्द्र बनाउने लक्ष्यमा रहेका उनले अब दोस्रो चरणमा यहाँ भव्य रिसोर्ट बनाउने योजना बुनेका छन् । ‘यहाँ स्वीमिङ पुल बन्नेछ, क्याफ्टेरिया र रिसोर्ट पनि घुमन्तेहरूको रोजाइमा पर्नेछ’ उनले थपे ‘स्पा, पार्लरहरूसहित ४० बेडको रिसोर्ट हुनेछ । सुविधासम्पन्न दुईटा कन्फरेन्स हलसहितको रिसोर्ट अब छिट्टै देख्न पाउनुहुनेछ ।’
सन् १९९४ मा युक्रेनबाट हेलिकप्टरको पाइलट कोर्ष सकेर फर्केपछि शिवेन्द्रले उड्डयन क्षेत्रमै सम्भावना खोजेका थिए । पाइलट कोर्षको अध्ययन गराउनेखि अन्य व्यवसायमा पनि उनले हात हालेका थिए । यद्यपि तिनमा उनले अपेक्षाकृत सफलता हात पार्न सकेनन् । सन् १९९७ मा बुबा सुरेन्द्रबहादुर र दाजु वीरेन्द्रबहादुरसँग मिलेर उनीहरुले बुद्ध एयर स्थापना गरे । त्यसपछि बुद्ध एयरले नेपाली आकाशमा अड्डा जमाउँदै गयो, बस्नेत परिवारले उड्ययन क्षेत्रमा ।
यद्यपि बुबाको निधनपछि यतिबेला वीरेन्द्र र शिवेन्द्रबीच बुद्धको स्वामित्व र हिसाबकिताबलाई लिएर द्वन्द्व उत्कर्षमा छ । यो तनावका बीच उनले पुर्ख्यौली विरासतमा प्राप्त खेतबारीलाई हराभरा बनाउँदै सुनौलो सपना साकार पारिरहेका छन् । ‘हाम्रो परिवारको जीनमै कृषिकर्मप्रतिको आकर्षण रहेछ भन्ने लाग्छ’, शिवेन्द्रले सुनाए ‘हाम्रो परिवारका जो पनि कृषिकर्म भनेपछि छिट्टै आकर्षित भइहाल्छौं । मलाई त लाग्छ माटोमा के छैन, सबैथोक छ । माटोमा सपना छ, अपार सम्भावना छ । त्यो प्रमाणित गरेरै देखाइरहेको छु । अझै धेरै गर्दै जानेछु ।’
View : 2960
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved