Biratnagar, Morang, Nepal
१ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा कांग्रेस संस्थापनइतर पक्षको भेला

फेरि देउवा समूहसँग सहकार्यमा होमिए शेखर

कोशीका १४ वटै जिल्ला सभापति अनुपस्थित भेलामा शेखर र सिटौला निकट सांसदहरू पनि आएनन् ।
उद्‌घोष संवाददाता
१ असार २०८३, सोमवार

Advertisement

विराटनगर । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग टाढिएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अन्ततः सोही समूहसँग सहकार्यको विन्दूमा पुगेका छन् । 

देउवा समूहसँग औपचारिक रुपमा सहयात्रा थाल्ने कामको सुरुआत कोइरालाले आफ्नै गृहनगर विराटनगरबाट सुरु गरेका छन् । 

आइतबार विराटनगरमा आयोजना गरिएको संस्थापन इतर पक्षको भेलामार्फत कोइरालाले देउवा समूहसँग हातेमालो गरेका हुन् ।

कांग्रेसमा देउवा सभापति हुन्जेल कोइराला देउवाबाट नेतृत्व नचल्ने भन्दै चार वर्षसम्म देश दौडाहामा थिए । 

भदौको जेनजी आन्दोलनपछि देउवाले नेतृत्व छाड्नुपर्ने भन्दै पार्टीमा अभियान चल्दा पनि उनी त्यसलाई साथ दिइरहेकै थिए ।

तर, पार्टीको विशेष महाधिवेशनले देउवासहित आफूलाई समेत पार्टीको् मूलधारबाट बाहिर पु¥याएपछि शेखरले अन्ततः देउवा समूहसँगै सहकार्यको बाटो रोजेका हुन् । गएको पुसमा भएको विशेष महाधिवेशनमा देउवा–कोइराला सहभागी थिएनन् ।

विशेष महाधिवेशनविरूद्ध सर्वोच्च अदालतमा देउवा र पूर्णबहादुर खड्काले रिट दिएका थिए । अदालतबाट फैसला नआउन्जेल देउवा र कोइराला पक्ष सँगसँगै थिए ।  

अदालतले विशेष महाधिवेशनलाई वैधानिक भनेपछि देउवा र शेखर पक्ष अलगअलग रुपमा सक्रिय रहँदै आएका थिए ।

यसपटक भने यी दुवै समूहका नेताहरू कोइरालाहरूको आधारभूमि मानिने विराटनगरमा एकै मञ्चमा देखापरेका हुन् । 

विराटनगर भेलाले कोइराला परिवारका दुई दाजुभाइ डा. शेखर र डा. संशाकलाई पनि लामो समयपछि गृहनगरमा एकै मञ्चमा सँगै रहने अवसर जुराइदिएको छ ।

त्यसो त वैशाख २९ गते मंगलबार कांग्रेसको शेरबहादुर देउवा समूहले  विराटनगरमा ‘कोशी प्रदेशस्तरीय भेला’ आयोजना गरेको थियो । मुख्य वक्ता बनेर उपस्थित भएका थिए सोही समूहका नेता कृष्णप्रसाद सिटौला ।  

त्यसबेला प्रचार ‘संस्थापनइतर समूहको भेला’ भनेर गरिए पनि विराटनगरमै रहेका शेखर कोइराला भेलामा सहभागी भएनन् । 

उनी निकट कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की सहभागी भएको भेलामा सिटौलाकै निकटस्थहरू अनुपस्थित रहे । 

आफ्नै निकटस्थहरू नै नआएको त्यो ‘भेला’ खासमा ‘कोठे बैठक’ मा सीमित भयो । त्यही बैठकलाई सम्बोधन गर्नेक्रममा सिटौलाले दुई वटा कुरामा जोड दिएका थिए । 

पहिलो, सदस्यता अद्यावधिक नगर्नू–नगराउनू भन्ने उनको जोड थियो । दोस्रो चाहिँ, जेठ १० मा ‘आजको भन्दा वृहत भेला आयोजना गर्नू’ भन्ने थियो ।

जेठ १० मा सुदुरपश्चिममा भेला राखेको संस्थापनइतर पक्षले त्यसको २० दिनपछि आइतबार विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । 

यसपटकको भेलाले कोशीमा पहिलोपटक देउवा र शेखर समूहलाई एकै मञ्चमा उभ्याएको हो । 

२० दिन लामो तयारीपछि आयोजित भेलामा वैशाख २९ को दाँजोमा हलभरी सहभागी थिए । यद्यपि कोशीका १४ जिल्लाका पार्टी सभापति कोही पनि उपस्थित भएनन् ।

सिटौला निकट मानिने झापाका देउमान थेवे हुन् वा शेखर निकट मानिने मोरङका डिगबहादुर लिम्बू, भेलामा उपस्थित थिएनन् । 

शेखर र सिटौलाका निकटस्थहरू नै भेलामा अनुपस्थित रहेपछि नेता विजय गच्छदारले उनीहरूलाई मञ्चबाटै कटाक्ष पनि गरेका छन् । 

‘१४ औं महाधिवेशनका बेला मलाई शेरबहादुरजीले कोशीमा तपाई र सिटौला मिल्नुपर्छ नत्र शेखरले प्रदेश उडाउँछ भन्नुभयो,’ गच्छदारले सम्झिए ‘शेरबहादुरजीले भनेपछि म सिटौलाजीसँग मिलेँ ।

उद्धव थापाजीलाई दुई भोटले प्रदेश सभापति जिताइयो । आज उद्धव थापाजी कहाँ हुनुहुन्छ, म सिटौलाजीलाई सोध्न चाहन्छु ।’

१४ औं महाधिवेशनमा देउवा–सिटौला समूहबाट थापाले प्रदेश सभापति जित्दा शेखर समूहका गुरुराज घिमिरे पराजित भएका थिए । 

घिमिरे अहिले महामन्त्री बनेर शेखर समूहबाट टाढा पुगेका छन् भने सिटौला र गच्छदारसहित मिलेर जिताएका थापा पनि संस्थापनमै पुगेका छन् ।

गच्छदारले शेखर कोइराला उमेरमा आफूभन्दा सिनियर भए पनि राजनीतिमा जुनियर रहेको भन्दै उनलाई पनि सोधे ‘गगन थापालाई महामन्त्री जिताएको होइन तपाईले, कहाँ हुनुहन्छ गगन थापा आज ?’ 

गगन थापा आफ्नो छोराभन्दा कान्छो भएको भन्दै गच्छदारले पार्टी बनाएको दुःख उनले नबुझ्ने, अग्रजहरूलाई सम्मान गरेर पार्टी अघि बढाउनुपर्ने बताएका थिए ।

नेता बलबहादुर केसीले आफूले सभापति थापाको हजुरबुबासँग सहकार्य गरेको भन्दै योगदान नभुल्न भनेका थिए । 

पार्टीमा एकताका लागि संस्थापन पक्षले पठाएको सातबुँदे प्रस्तावबारे छलफल नगरेको इतर पक्षले कोशी प्रदेश संसदीय दलमा दलको नेता फेर्न पनि कसरत गरिरहेको छ ।

२९ सदस्यीय संसदीय दलमा आफूहरूसँग बहुमत रहेको दाबी गरिरहेको देउवा–कोइराला पक्ष आफ्नै निकट मानिएकाहरू अनुपस्थित रहेपछि आक्रोशित सुनिन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका शेखर कोइराला र अर्का वक्ता कृष्णप्रसाद सिटौला दुवैले समानुपातिक सांसदहरुलाई डर देखाइएको र उनीहरू अनुपस्थित रहेको बताएका थिए । कोशीको संसदीय दलमा देउवा पक्षको एकल बहुमत थियो ।

आइतबारको कार्यक्रममा भने सिटौलाको क्षेत्रका प्रदेश सांसद भूमि राजवंशी, इलामकी खगेश्वरी पौडेल, मोरङका केदार कार्की, भीम पराजुली, उदयपुरका रामकुमार खत्री र खोटाङका भूपेन्द्र राई लगायत मात्रै उपस्थित थिए ।

केदार कार्की मुख्यमन्त्री बन्ने बेलामा विद्रोह गरेका शेखर पक्षका इलामका दुई सांसद शमशेर राई, गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापासहितका सांसद अनुपस्थित रहे । 

शेखर निकट मोरङकै सांसद गयानन्द मण्डल पनि भेलामा आएका थिएनन् । 

‘धेरै जनालाई यो भेलामा नआउन भनेर धम्क्याइएको छ,’ डा.शेखरले भने ‘वडामा धेरैको जिम्मेवारी बिना कारण खोसिएको छ । यो निरंकुशता हो । कांग्रेस निरंकुशताविरुद्ध लड्न स्थापना भएको पार्टी हो ।’

वडा तथा पालिका सभापतिहरूलाई कारबाही गर्ने धम्की आएपछि बाध्य भएर गरिएको ५ बुँदे सहमतिबाट अहिले नेतृत्व पक्ष पछि हट्न खोजेको र दिनदिनै कुरा फेरिरहेको उनले दाबी गरे ।

डेढ महिनाअघि नै नेतृत्वले स्वीकार गरिसकेको भनिएको उक्त ५ बुँदे सहमति पत्रका बुँदाहरू सार्वजनिक गर्दै उनले ती ५ बुँदा पनि वाचन गरेर सुनाए ।

उनका अनुसार १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने, १४ औं अधिवेशनपछि नवीकरण भइसकेका र वितरण गरिसकेका क्रियाशील सदस्यताकै आधारमा १५औं महाधिवेशन सम्पन्न गर्ने, १४ औं महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने सहमति भएको शेखरको दाबी थियो ।

त्यस्तै  कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने, र पा“चौमा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी समझदारी र सहमतिमा मात्र गठन गर्ने सहमति भएको उनको दाबी थियो । 

‘यो सबै कुरा उहाँले स्वीकार्नुभएको डेढ महिना भइसक्यो । तर आज कुन तत्वले उहाँहरूलाई रोकिराखेको छ र किन दिनदिनै कुरा फेरिरहनुभएको छ ?’ उनले प्रश्न गरे । 

कार्यकर्ताहरूलाई आश्वस्त पार्दै उनले पार्टी कुनै पनि हालतमा नफुट्ने र फुट्न नदिइने स्पष्ट पारे ।

‘पार्टी फुट्न दिन्नँ र फुट्दैन, यो कुरामा तपाईंहरू ढुक्क हुनुहोस्’ उनले भने । डा. संशाक कोइरालाले भने पार्टी फुटिसकेको र टुट्ने ठाउँमा आइपुगेको भन्दै रोक्नुपर्ने बताएका थिए ।

कृष्णप्रसाद सिटौलाले धेरै जना लोभमा परेको र लोभकै कारण कार्यक्रममा आउन डराएको भन्दै आक्रोश पोखेका थिए ।

‘अस्ति राष्ट्रपतिले डराएर संसद विघटन गर्नुभयो, हामीले पनि डराएर समर्थन गरिदियौं, अहिले लोभले डर पैदा गरेको छ,’ सिटौलाले भने ‘डराएको कांग्रेसले देश थाम्न सक्दैन ।’

सिटौलाले उपसभापति विश्वप्रकाश शर्माले पत्रमार्फत ७ बुँदेबारे ध्यानाकर्षण गराएको विषयलाई ‘नाटक’ को संज्ञा पनि दिएका छन् । 

‘विश्वप्रकाशजीले पत्र पठाएर, अनलाइनहरूमा पठाएर नाटक गरिरहनुभएको छ,’ उनले भने ‘त्यसो गर्नै पर्दैन । १० मिनेट भेटेर हृदयले कुरा गरे सबै कुरा मिलिहाल्छ ।’

विराटनगर भेलाबाट कोइराला दाजुभाइसहित सिटौला, विजयकुमार गच्छदार, बलबहादुर केसीसहितका नेताहरूले ‘कांग्रेसमा एकता अपरिहार्य रहेको र त्यसको सम्पूर्ण बल सभापति गगन थापा र टिमको कोर्ट’ मा रहेको सन्देश दिएका छन् । त्यसका लागि सबैजसो नेताहरूले जोड दिएको विषय भने एकै थियो ‘सम्मानजनक एकता ।’

देउवा समूहका सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेत र सिटौला समूहका दोलखाली नेता कुन्दराज काफ्लेबाहेकका बहुसंख्यक वक्ताहरूको जोड ‘सम्मानजनक एकता’ कै लागि थियो । 
बस्नेत र काफ्ले भने सुरुदेखि नै अलग्गै अघि बढ्न जोड दिइरहेका नेताहरू हुन् ।  

विराटनगरमा प्रष्ट भाषामा उनीहरूले त्यसो नभने पनि अब कसरी अघि बढ्ने, एकता भएन भने के गर्ने भन्ने प्रश्न भने दुवैले गरेका थिए । गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टी कब्जा गरेको भन्दै उनीहरूले रोष प्रकट गरेका थिए ।  

विराटनगरमा उपस्थित संस्थापन इतर पक्षका सबैजसो नेताहरूले ‘सम्मानजनक एकता’ को कुरा उठाइरहेका बेला उमेशजंग रायामाझीले भने अहिले नेतृत्वमा रहेका र मञ्चमा बसेका कसैले पनि कांग्रेसलाई सही नेतृत्व दिन नसक्ने ठोकुवा गरेका थिए । 

‘तपाईहरू सबै विफल भइसक्नुभयो,’ उनले भने ‘अस्ति देश जल्नबाट रोक्न नसक्ने तपाईहरूको परीक्षण भइसकेको छ ।’

View : 57

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved