विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको नवनिर्वाचित कार्यसमिति, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरूले बुधबारदेखि पदभार ग्रहण गरेका छन् । विभिन्न पदमा निर्वाचित भएका महासंघका सदस्यहरूलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।
मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट सुशीला पाठकको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । त्यस्तै १३ जना प्रदेश परिषद् सदस्य र पाँच जना केन्द्रीय परिषद् सदस्य निर्वाचित भएका थिए ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं निर्वाचन समितिका संयोजक दीपक दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वअध्यक्षहरू यज्ञ शर्मा, मोहन भण्डारीलगायतले शुभकामना दिएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नवनिर्वाचितहरूलाई प्रमाणपत्र प्रदान गरेका हुन् । मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेश सञ्चार प्रतिष्ठान विधेयक ल्याउने बताए । संसदको हिउँदे अधिवेशनलाई पर्याप्त बिज्नेस दिने बताए ।
उनले सबै खालका निजी क्षेत्रलाई सहभागी गराएर लगानी सम्मेलन सरकार आफैंले गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले पर्यटन वर्ष २०८२ लाई भव्यताका साथ मनाउने र चिया सम्मेलनलाई सफल बनाउने पनि बताए । साथै तथ्यपरक समाचारले मात्रै पत्रकारिता क्षेत्रलाई बलियो बनाउने बताएका थिए ।
यसैबीच पदस्थापनापछि बसेको महासंघ मोरङको पहिलो बैठकले पत्रकारिता क्षेत्रमा क्रियाशील मोरङका पत्रकार महिला सुत्केरी भएमा १५ हजार रूपैयाँ पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
अध्यक्ष पाठकको अध्यक्षतामा बसेको बैठकले भत्ता उपलब्ध गराउने कार्यलाई कार्यविधिमार्फत व्यवस्थित गरिने जनाइएको छ ।
यसैगरी पत्रकारहरूको पेशागत हकहितको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित एवम् स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षणमा लागिपर्ने बैठकले निर्णय गरेको छ ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved