Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

गृहमन्त्रीले नै स्वीकारे उद्योगीको आरोप, कोशीका नाकामा खुलेआम तस्करी

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बिहिवार

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीहरुले बारम्बार उठाउँदै आएको विषय हो, सीमा नाकामा जारी रहेको तस्करी धन्दा । तस्करीधन्दा खुलेआम हुने गरेकै कारण स्वदेशी उद्योगी र राज्यले क्षति बेहोरिरहेको बताउने उद्योगी व्यवसायीहरुको भनाइमा गृहमन्त्री रमेश लेखक स्वयम् सहमत भएका छन् । 

गृहमन्त्री लेखकले बुधबार ‘कोशीका नाकाहरुबाट तस्करी धन्दा चलिरहेको’ खुलासा गरेका छन् । 

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटनका क्रममा गृहमन्त्री लेखकले कोशीका नाकाहरुबाट तस्करीधन्दा चलिरहेको मात्रै बताएनन्, ३० दिनभित्र ‘देखिने र अनुभूति हुने गरी तस्करी नियन्त्रण गर्न’ सुरक्षा अंगलाई निर्देशन पनि दिए । 

‘आजको .३० दिनभित्रमा तस्करी देखिने र अनुभूति हुनेगरी रोक्न एक्सन लिनुहोला’, सुरक्षा र प्रशासनका सबै अधिकारीहरुका सामु गृहमन्त्रीले चेतावनी नै दिए ‘यदि तपाईंहरुले एक्सन नलिए गृह मन्त्रालयले अर्को एक्सन लिनेछ ।’  

कोशीका मुख्यमन्त्री, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सबै सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु सहभागी कार्यक्रममै गृहमन्त्री आफैले सीमा नाकामा तस्करी धन्दा जारी रहेको बताएका हुन् ।

चेन अफ कमाण्ड (मर्यादाक्रम) मा चल्ने सुरक्षा अंगका प्रमुखहरुले गृहमन्त्रीको भनाइप्रति खुलेर विमति राख्ने मौका पाउँदैनन् । 

यद्यपि उनको भनाइले कोशीका सुरक्षा अङ्गले प्रभावकारी काम नगरेको सन्देश भने प्रष्ट रुपमा दिएको छ । 

सुरक्षा बैठकमा सहभागी भएपछि गृहमन्त्री लेखक पत्रकारहरु माझमा पनि केहीबेर प्रस्तुत भएका थिए । त्यसक्रममा सञ्चारकर्मीले उनलाई सोधे ‘यहा तस्करी चलेको घटना तपाइको पनि असफलता हो कि  होइन ?’ जवाफमा गृहमन्त्रीले केही पृष्ठभूमि सुनाए ।

‘म यहाँ आइसकेपछि हिजो मात्रै मैले मोरङ उद्योग व्यापार संघ र सीएनआईका साथीहरुसँग भेटघाट गर्ने अवसर पाएँ । उहाँहरुसँगको भेटमा उहाँहरुले तस्करीका बारेमा कुरा उठाउनुभयो । यो तस्करी रोक्नुपर्छ र सीमाका अपराधहरु रोक्नुपर्छ भनेर हामी लागिरहेका छौं र गरिरहेका छौं’, गृहमन्त्रीले भने ‘तस्करी रोक्न प्रयत्नहरु नभएका होइनन् ।  मैले प्रत्येक महिनाको राजस्व संकलनको अवस्थालाई मूल्यांकन गरेर हेर्न लगाएको छु, मन्त्रालयमा हेर्ने गरेको छु । कुनै पनि ठाउँमा राजस्व तुलनात्मक रुपले गत वर्षको यही अवधिमा भन्दा कम भएको छ कि बढी भनेर हेर्ने गरेको छु । राजस्व कम हुन दिनुहुँदैन भन्नेमा हाम्रो जोड छ र अहिलेसम्म गत वर्षभन्दा केही प्रतिशत राजस्व बढी नै उठेको छ ।’  

उनले थप खुलाए ‘उद्योगी व्यवसायीहरुले तस्करी भइरहेको छ भन्ने कुरा उठाउनुभएको हुनाले फेरि मेरो थप ध्यान आकर्षित भएको छ र मैले कुनै पनि खालको तस्करी ३० दिनमा बन्द गर्नुपर्छ भनेर भनेको छु र देखिने गरी यो हुनुपर्छ पनि भनेको छु । मैले ३० दिन भनेको उहाँहरुलाई आवश्यक केही थप तयारी गर्नु छ भने त्यो पनि गर्नुस् जनशक्ति थप्नु छ भने थप्नुस् । जे जे गर्नुपर्छ गर्नुस् तर ३० दिनभित्र परिणाम देखिनुपर्छ भनेको हो ।’ आफ्नो कार्यकालको १० महिनामा राजस्व बढेको उनको दाबी थियो । 

उद्योगी व्यवसायीहरुसंगको भेटपछि सुरक्षा निकायप्रति कठोर अन्दाजमा पेश भएका गृहमन्त्रीले सोही कारण आफूले त्यसो भनेको लुकाएनन् । 

गृहमन्त्रीले भने जस्तै कोशीको मोरङ, सुनसरी, झापालगायतका जिल्लाका विभिन्न नाकाबाट पछिल्लो समय तस्करी धन्दा मौलाएको गुनासो उच्च हुँदै आएको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको भनाइ छ ‘ बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारले राष्ट्रको आर्थिक, सामाजिक र सुरक्षात्मक संरचनामा गम्भीर असर पुगिरहेको  छ । हामीले यही विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका हौं ।’ 

राठीका अनुसार सीमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य वस्तु, लत्ता कपडा लगायतका अत्यावश्कीय वस्तुहरुको मूल्य स्वदेशी बजारको भन्दा सस्तो पर्छ । सोहीकारण प्रत्येक दिन हजारौँ नेपाली उपभोक्ता भारतीय बजार जाने, दैनिक अर्बाैं नेपाली रुपैयाँको अवैध कारोबार हुने तथा गैरकानूनी रुपमा नेपाली मुद्रा विदेशिने र बसैनि खर्बौं रकमको राजस्व घाटा हुने गरेको उनको दाबी छ ।

‘यसको नियन्त्रणार्थ सरकारले तत्कालै त्यस्ता वस्तुहरुको माग र आपूर्ति श्रृंखलाको विस्तृत अध्ययन गर्नुपर्छ’ राठीले भने ‘बताउदै विशेष गरी भारतीय बजारमा शून्यदेखि १२ प्रतिशतसम्म जीएसटी कायम रहेका दैनिक उपभोग्य तथा अत्यावश्कीय वस्तुहरुको आयात शुल्क तथा करका दरहरु न्यून गर्न सरकारका सम्बन्धित निकाय समक्ष पहल गरिदिनुपर्छ ।’

तस्करीधन्दाले अपराध बढाएको, हतियार, लागुऔषधको ओसारपसार बढाएको उद्योगीहरुले बताएका थिए । उद्योगीहरुको यस्तो ‘ब्रिफिङ’ पछि गृहमन्त्री सुरक्षा अंगका प्रमुखहरु सामु कठोर रुपमा प्रस्तुत भएका हुन् ।

View : 81

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved