Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरका स्पामा प्रहरीको छापा, ३६ जना नियन्त्रणमा

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

विराटनगर । विराटनगर क्षेत्रमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा मोरङ प्रहरीले शनिबार साँझ एकैपटक छापा मारेर  ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर–१३, १४ र १५ का विभिन्न स्थानमा सञ्चालित स्पा केन्द्रहरूलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानीको समन्व्यमा ‘स्विप अपरेसन’ सञ्चालन गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अवैध गतिविधि भइरहेको सूचनापछि ती स्पा तथा मसाज सेन्टरहरू लामो समयदेखि निगरानीमा राखिएका थिए । 

सोही सूचनालाई आधार मानेर शनिबार साँझ एकैसाथ कारबाही अघि बढाइएको जनाइएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा केही स्पा केन्द्रमा यौनजन्य गतिविधिको आशंका प्रहरीको छ । प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएकामध्ये केही भारतीय नागरिक पनि छन् । 

विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि सञ्चालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सो स्पा आवश्यक अनुमति नलिई सञ्चालन गरिएको थियो भने त्यहाँ कार्यरत कर्मचारीको परिचयपत्रसमेत नबनाइएको भेटिएको छ ।

प्रहरीले किपु स्पाका सञ्चालक सुनसरी बर्जु–१ की ३० वर्षीया नीलमदेवी शर्मा र भारत बिहारको पटना दानापुर निवासी ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको जनाएको छ । 

स्पाबाट नियन्त्रणमा परेकामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनी मापदण्डविपरीत सञ्चालन हुने यस्ता संस्थामाथि निगरानी तथा कारबाही निरन्तर जारी रहने प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्पा तथा मसाज सेन्टरहरूमा यौनजन्य गतिविधि हुने गरेको आशंकाका आधारमा आकस्मिक छापा अभियान चलाइएको हो । 

उनले नियन्त्रणमा लिइएकामाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।

View : 225

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved