विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेले उन्मुक्ति नपाउने बताएका छन् । उनले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबीसमेत गरेका हुन् ।
बिहीबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता डा.कोइरालाले गृहमन्त्रीको बचाउमा उत्रिने पार्टी, दल वा व्यक्ति जो भएपनि ‘एक्स्पोज’ भएर जाने चेतावनी दिए ।
‘अहिले कसरी सरकार चलिरहेको छ ? गम्भीर विषय भएर गएको छ, देशमा कानुन छ भने त्यो गृहमन्त्रीलाई लाग्दैन ?’ कोइरालाले भने, ‘गृहमन्त्री भएका कारण सहकारी ठगीबाट उन्मुक्ति दिने काम हुनै सक्दैन, सहकारी ठगीमा गृहमन्त्री संलग्न हुनुहुन्छ, उहाँले त्यहाँबाट उन्मुक्ति पाउन सक्नु हुन्न भन्ने कुरा नेपाली कांग्रेसको ठहर छ ।’
उनले सर्वसाधारणले सडकमा पानी बेचेर, मकै पोलेर जम्मा गरेको पैसा सहकारीमा राख्दा सहकारीहरुबाटै पैसा हिनामिना भएको बताए । तर गृहमन्त्री लामिछाने भने मैले केही गरेको छैन भन्दै पन्छिने गरेको आरोप लगाए ।
गृह मन्त्रालय छाड्नुहोस्, अर्को मन्त्रालय जानुस्
कोइरालाले गृहमन्त्री लामिछानेलाई गृह मन्त्रालय छाड्न र अर्को मन्त्रालय जान समेत आग्रह गरेका छन् ।
‘त्यसो भए गृहमन्त्रालय छोड्नुस्, अर्को मन्त्रालयमा जानुस्, कांग्रेसले राजिनामा माग्दैन’ कोइरालाले भने, ‘पुलिसलाई स्वतन्त्र भएर काम गर्न दिनुस्, सीआईबीलाई काम गर्न दिनुस् ।’
उनले सरकारविरुद्ध निर्भिक भएर लेख्न र सरकारसँग नडराउन समेत पत्रकारहरुलाई आग्रह गरे । पत्रकारहरुको साथमा नेपाली कांग्रेस सँधै साथमा रहेको बताए ।
कोइरालाले सरकार यसरी नै चल्दै गए देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जाने दाबी गरे । सरकारले कान्तिपुरलाई देखाएर मिडियालाई तर्साउन खोजेको टिप्पणी गरे ।
‘अव यो देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान थालेको छ, यो कुरा जबसम्म बुझ्दैनौं, हामी यसैमा रमाइरहेका हुन्छौं– कैलास सिरोहिया समातियो भनेर’ उनले भने,‘ भोली अर्को समातिएला, यो ट्रेलर मात्रै हो भन्ने कुरा बुझ्न जरुरी छ ।’
कोइरालाले २०३०–३५ सालतिर लिएका धेरै नागरिकतामा गडबड भएको दाबी गरे । गडबडीलाई छानबिन गर्नुको साटो पक्राउ गर्ने र मिडिया क्षेत्रलाई नै तरबार लड्काइरहने काम बन्द गर्न सरकारलाई आग्रह गरे ।
‘न उ भागिरहेको थियो, न छलेको थियो, न केरमेट गरेको थियो, मानिसको इज्जतमाथि पुलिस प्रसासनले खेल्न पाउँदैन’ उनले भने, ‘कैलास सिरोहिया एउटा व्यक्तिको हिसाबले नागरिकताको कन्टेक्टबाट हेर्दाखेरी गडबड होला गलत होला, गलत छ भने दण्ड पाउनु पर्छ, तर किन गरिएको छ भन्ने कुरा महत्वपूर्ण छ ।’
कोइरालाले गृहमन्त्री लामिछानेदेखि संसदका महासचिव पदमप्रसाद पाण्डेयको समेत दुईवटा नागरिकता रहेको तर उनीहरुको छानबिन किन नभएको भन्दै प्रश्न गरे ।
६ पत्रकार सम्मानित
सोही अवसरमा नेपाल प्रेस युनियनले कोशी प्रदेशबाट ६ जना अग्रज पत्रकारहरुलाई सम्मानित गरेको छ ।
खोटाङका कृष्ण आचार्य, झापाका गोविन्द क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङकी भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडा सम्मानित भएका हुन् । उनीहरुलाई नेपाली कांग्रेस नेता डा. कोइरालासहित नेपाल प्रेस यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र नेपाल प्रेस यूनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले लगायतले सम्मानित गरेका हुन् ।
यूनियन ३३औं स्थापना दिवसकै अवसरमा बिहीबार विहान विराटनगरमा आयोजित दौडका विजेताहरुलाई समेत नगदसहित पुरस्कृत गरिएको हो । दौडमा पुरुषतर्फ कपलेश्वर अधिकारी यादव प्रथम, अनन्तराम चौधरी दोस्रो र सुरेश भट्टराई तेस्रो भएका थिए । त्यस्तै महिलातर्फ इन्दु साह प्रथम, माला पालुङ्वा दोस्रो र जानुका नेपाल तेस्रो भएकी थिइन् ।
प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार नगद रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।
View : 218
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved