एमाले विराटनगर महानगर निर्वाचन
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनको बिहीबार राती सम्पन्न भएको मतगणनाबाट अध्यक्षमा बलराम गिरी (नवीन) को प्यानलै निर्वाचित भएको छ । गिरी ५२ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका छन् ।
गिरीसहित पदाधिकारी तर्फका सबै पदमा जिल्ला कमिटी मोरङको समर्थनसहित नेता विनोद ढकालले खडा गरेका उम्मेदवार निर्वाचित भएका हुन् ।
गिरीले १७३ मत पाएर अध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत प्राप्त गरेका छन् । अध्यक्षमा पराजित कोइराला निवर्तमान कमिटीको अध्यक्ष हुन् । अध्यक्ष निर्वाचित गिरी सचिव थिए ।
उपाध्यक्षमा पनि गिरी प्यानलकै सुवास कुमार न्यौपाने (सुरज) १४५ मत ल्याएर विजयी बन्दा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरेका छन् । विराटनगरका लोकप्रिय युवा नेताका रुपमा उदाएका पोखरेल मात्र ९ मतले न्यापानेसँग पराजित बने ।
सचिव पदमा विज्ञान चापागाईं निर्वाचित भए । उनले १८३ मत पाए । कोइराला प्यानलबाट सचिव उठेका नवराज काफ्लेले १०४ मत प्राप्त गरेका छन् ।
उपसचिवमा हमिद आजाद र हिमा मैनाली (पोखरेल) निर्वाचित भएका छन् । दुवै उपसचिव नेता ढकालले खडा गरेको गिरी प्यानलका उम्मेदवार हुन् ।
उपसचिव निर्वाचित आजादले १७८ मत प्राप्त गरे । त्यस्तै मैनालीले १६९ मत प्राप्त गरी निर्वाचित हुँदा कोइराला समुहमा रहेका उपसचिवका उम्मेदवार चन्द्रशेखर विश्वासले ९८ र कला डाँगीले १११ मत प्राप्त गरिन् ।
३१४ जना प्रतिनिधि कायम रहेको ३०८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मंगलबार महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन हुनु अघि नै दुवै समुहले पदाधिकारीमा प्यानलै उम्मेदवार घोषणा गरेका थिए । संस्थापन पक्षको उम्मेदवार रहेको कोइरालाले घोषणा गरेका थिए भने गिरी नेता विनोद ढकालको मुख्य साथ पाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।
उद्घाटनदेखि बन्दसत्र र नेतृत्व चयनको काम विराटनगर–१२ पाञ्चालीस्थित पार्टी कार्यालयमै तोकिए अनुसार अघि बढेको थियो । उद्घाटनमा सहमतिको रटान गर्दै केही नेताहरूले भाषण गरेपनि त्यसअघि नै अधिवेशन चुनावमय बनेको थियो ।
अध्यक्ष पदमा कोइराला र गिरीको प्यानलै घोषणा हुँदा पनि नेताहरू भने सहमतिकै औपचारिकतामा केन्द्रित बने ।
अधिवेशन अघि नै उम्मेदवारी घोषणा भइसक्दा पार्टी नेतृत्वले भने देखेको नदेखै गरेका कारण निर्वाचन कमिटीले समयमा मतदानको तयारी गर्न सकेको थिएन ।
निर्वाचन कमिटीले प्रतिनिधि विवरण प्रकाशनदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रियामा ढिलाई गरेका कारण बिहीबार विहानैदेखि हुने भनिएको निर्वाचन प्रभावित भएको प्रतिनिधिहरूले आरोप लगाएका थिए ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित ९७ जनाको महानगर कमिटी निर्वाचित गर्नुपर्नेमा पदाधिकारीसहित १६ वटा पदमा मात्रै निर्वाचन भएको थियो । ८१ जना सदस्य भने सर्वसम्मत भएका थिए ।
महानगर कमिटीमा बाँकी ४ जना भने मनोनित गरेर १०१ सदस्यीय बनाइने जनाइएको छ ।
View : 651
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved