सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने प्रतियोगितामा पहिलो पटक १० टिम सहभागी हुने भएका हुन् ।
वि.सं. २०५५ सालदेखि सुरु भएको गोल्डकप २५ बर्षदेखि आठ टिमको मात्र सहभागितामा सञ्चालन हुँदै आएको थियो । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारत र भुटानका तीन टिमसहित नेपालका १० टोलीले सहभागिता जनाउने जानकारी दिएको छ ।
गत बर्ष रजत उत्सवको रुपमा आयोजना गरिएको प्रतियोगितालाई यस बर्षदेखि बृहत बनाउँदै लैजाने योजना अनुसार १० टिमलाई प्रतिस्पर्धा गराउन लागिएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
आउ“दा संस्करणहरुमा सहभागी टिम संख्या थप बढाउँदै लैजाने योजना रहेको तामाङको भनाई छ ।
धरान रंगशालामा सञ्चालन हुने प्रतियोगितामा साबिक बिजेता एनआरटी क्लब (काठमाडौं), चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब (ललितपुर), झापा–११, आयोजक धरान फुटबल क्लब, भुटानको रोयल थिम्पु क्लब र भारतको जर्जियन क्लब कालेम्पुङले सहभागिता जनाउने तामाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई होण्डा स्कुटर प्रदान गरिने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
गत संस्करणमा एनआरटीले चर्च ब्वाइजलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो । आयोजक धरान फुटबल क्लब भने अहिलेसम्म पाँच पटक फाइनल पुगेपनि उपविजेतामै सीमित हुँदै आएको छ ।
View : 116
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved