Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

लिलाबल्लभ अधिकारीमाथि अझै अनुसन्धान जारी, थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

उनमाथि कात्तिक २६ मा दुई दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थप गरिएको थियो । सोमबार ७ दिन पुगेपनि सार्वजनिक विदा परेका कारण काठमाडौं जिल्ला अदालतबाट मंगलबार पुनः ५ दिनको म्याद थप भएको जनाइएको छ ।
उद्घोष सम्वाददाता
४ मंसिर २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप ५ दिन थुनामा राख्न अनुमति पाएको छ ।

असम्बन्धित व्यक्तिहरूलाई आफुसँगै जापान पु¥याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको समेत कसुरमा अधिकारीलाई २०८१ कात्तिक २५ मा विराटनगरस्थित आफ्नै निबासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनमाथि कात्तिक २६ मा दुई दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थप गरिएको थियो । सोमबार ७ दिन पुगेपनि सार्वजनिक विदा परेका कारण काठमाडौं जिल्ला अदालतबाट मंगलबार पुनः ५ दिनको म्याद थप भएको जनाइएको छ । 

म्याद थप भएसँगै हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंलाई सहज भएको हो । पक्राउ पर्नुअघि अधिकारीले भने आफुले अनुसन्धानमा सहयोग गर्न काठमाडौं जान लागेको बताएका थिए ।

सरकारको स्वीकृति बिनै शंकास्पद रुपमा जापान पुगेर फर्किएका तत्कालिन मन्त्री अधिकारीले कात्तिक २१ गते बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । आफ्नो जापान भ्रमण विवादित बनेपछि अधिकारीले ‘नैतिकताका आधारमा’ राजीनामा दिएको घोषणा गरेका थिए । उनी जापानको टोकियो महानगरपालिकाको निम्तो भन्दै एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन व्यक्तिगत हैसियतले कात्तिक ११ गते बलजफ्ती रुपमा जापान उडेका थिए । 

सरकारका कुनैपनि मन्त्रीले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट स्वीकृति लिंदै संघीय सरकारबाट समेत भ्रमणको अनुमति लिनुपर्ने व्यवस्था छ । तर उनी विदाको समय परेको कारण देखाएर कुनै पनि निकायबाट स्वीकृति नलिई जापान पुगेका थिए । जापान जाने क्रममा हङकङमा शंकास्पद तीनजना व्यक्तिहरू समेत सोही कार्यक्रममा सहभागी हुन भन्दै मिसिएपछि आफुले जापान पुगेर प्रहरीलाई पहिलो सूचना दिएको उनको दाबी छ ।

यो घटनामा प्रहरीले अधिकारीलाई पक्राउ गर्नुअघि हङकङमा भेटिएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा पक्राउ परेका थिए ।

सोही प्रकरणमा नगद लेनदेन समेत भएको अनुसन्धानमा प्रहरीले फेला पारेपछि सुरु गरेको थप अनुसन्धानका क्रममा नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेलाई पक्राउ गरेको थियो ।

मन्त्रालयको नक्कली परिचय पत्र बनाएको आरोपमा प्रहरीले खोटाङका गुढी राई र नवीन राई पनि पक्राउ गरिसकेको छ । उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved