Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

विपन्नलाई आइडिया नेपालको ई–रिक्सा सहयोग

उद्‌घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

विराटनगर । कुष्ठरोग प्रभावितहरूको उपचार र जीवनस्तर उकास्न सहयोग गर्दै आएको आइडिया नेपालले कोशी प्रदेशका ५४ जना कुष्ठरोग प्रभावितलाई विभिन्न प्रकारको सहयोग गरेको छ ।

एसोसिएसन फोर आइडिया नेपालको कोशी प्रदेश कार्यालयले कुष्ठरोग प्रभावित तथा आर्थिक अवस्था कमजोर भएकाहरूलाई ई–रिक्सा, साइकल र शैक्षिक सामग्री सहयोग गरेको हो । सो संस्थाले बुढीगंगा गाउँपालिका–१ स्थित जेसीज भवनमा कार्यक्रमको आयोजना गरी सामग्री वितरण गरेको छ ।

सो अवसरमा चार जनालाई ई–रिक्सा र ५० जना विद्यार्थीलाई साइकलसहित शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीहरूलाई साइकलका साथै स्कुल ब्याग एक थान, कपी दुई दर्जन, पेन्सिल एक दर्जन सहित एउटा कम्पास प्रदान गरिएको छ ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, आइडिया नेपालक केन्द्रीय महासचिव जयबिन्दकुमार यादव, कोशी प्रदेश अध्यक्ष दीपक मण्डललगायतले ती सामग्री प्रदान गरे ।

कुष्ठरोग प्रभावित हुनुका साथै न्यून आर्थिक अवस्था भएका मोरङ, सुनसरी र झापा जिल्लाका व्यक्तिहरूलाई सामग्री उपलब्ध गराइएको आइडिया नेपालका केन्द्रीय महासचिव यादवले बताए ।

उनले चार जनालाई दातृ निकायको आर्थिक सहयोगबाट ५० प्रतिशत अनुदान तथा ५० प्रतिशत लाभग्राही आफैले किस्ता तिर्नेगरी ई–रिक्सा उलब्ध गराइएको बताए  । यस्तै घरबाट तीन किलोमिटर टाढा विद्यालय रहेका कुष्ठरोग प्रभावितका छोराछारीलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए । 

कुष्ठरोग प्रभावितलाई जर्मनीको संस्था नेप्रो ईभीको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको आइडिया नेपालका कोशी प्रदेशका प्रोजेक्ट को–अर्डिनेटर कञ्चन यादवले बताए ।

कार्यक्रममा आइडियाकी वित्तीय अधिकृत प्रकृति आछामी, प्रदेश सचिव भरतलाल चौधरी सहित लाभग्राहीहरूको सहभागिता थियो ।

View : 259

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved