विराटनगर । मोरङको प्रहरी प्रमुख भएर आएका नारायणप्रसाद चिमरियाले कामको योजना बनाएर जिल्लामा नआएको बताएका छन् । उनले मोरङमा रहेर माथिको नीति निर्देशनको पालना गर्ने जानकारी दिए ।
बुधबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक चिमरियाले भने ‘यो गर्छु त्यो गर्छु भन्ने योजना छैन मेरो, नेपाल प्रहरीको नीति र विभागको निर्देशनअनुसार काम गर्ने हो ।’
सञ्चारकर्मीको काम गर्ने योजना के छ ? भन्ने प्रश्नको जवाफमा उनले नागरिकमैत्री प्रहरी बनेर काम गर्ने बताए ।
मोरङ प्रहरीमा रहेर नैतिकताका साथ निष्ठापूर्वक काम गर्ने चिमरियाको भनाइ छ ।
आर्थिक लेनदेनको आरोप लागेर नवराज कार्की अवधि नपुगी मोरङबाट सरुवा भएर गएपछि आएका चिमरियालाई सफल प्रहरी बनेर काम गर्न विराटनगरमा चुनौतीपूर्ण छ ।
राजनीतिक दवाब सहनुपर्ने भएकाले उनको नेतृत्वको अनुसन्धान प्रभावित हुन सक्ने सञ्चारकर्मीले सुझाव दिएका छन् ।
सीमा क्षेत्रमा हुने तस्करी, लागुऔषधको कारोबार, गाईगोरु भंसार छलेर निर्यात रोक्न प्रहरीलाई चुनौती रहेको छ ।
प्रदेशको राजधानी विराटनगरमा रहेर सुरक्षा प्रदान गर्ने क्रममा राजनीतिक नेतृत्वको प्रभावमा पर्नुपर्ने प्रहरीको बाध्यता छ ।
प्रहरी सेवामा प्रवेश गरेको २६ औं वर्षमा १२ औं कार्यालय प्रमुखको रुपमा उनी मोरङ प्रमुख भएका हुन् ।
संयुक्त राष्ट्रसंघको दुई वटा स्टीमोर तथा हाइटी मिशनको अनुभव सम्हालिसकेका उनी अपराधरहित जिल्ला बनाउने पहलमा आफू रहेको बताउँछन् ।
उनले जिल्लामा जुनसुकै गलत गतिबिधि देखिए खबर पाउनेबित्तिकै त्यसलाई नियन्त्रण गर्न आफू तयार रहेको बताउँदै सबैले देखिने गरी काम गर्ने स्पष्ट पारे ।
मोरङको ५२ औं प्रहरी प्रमुखका रुपमा अँएका चिमरियाको प्रहरीमा ३० वर्षे अवधिका कारण अब ४ वर्ष सेवा गर्ने समय छ ।
५२ प्रमुख मध्ये सहवीर थापाबाहेक मोरङको नेतृत्व गरेर गएका प्रहरी संगठनको प्रमुख (आईजीपी) कोही पनि भएका छैनन् ।
थापा २०४३ सालमा नायव उपरीक्षकका रुपमा जिल्ला प्रमुख भएर आएका थिए । २०१२ सालमा मोरङ प्रहरीको पहिलो प्रमुखमा प्रहरी निरीक्षक नरेन्द्रबहादुर अधिकारी थिए ।
View : 68
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved