मानगढ खानेपानीमा फेरि चर्कियो विवाद
विराटनगर । मानगढ खानेपानी आयोजनाका कामचलाउ नेतृत्वको खानेपानी संस्थामा मनोमानी गर्न थालेको भन्दै उपभोक्ताहरू आन्दोलित बनेका छन् । आइतबार उपभोक्ताहरूले खानेपानी संस्थाको कार्यालयमा पुगेर मनोमानीविरुद्ध ध्यानाकर्षण गराएका हुन् ।
विराटनगर महानगरपालिका–३ स्थित खानेपानी संस्थाको कार्यालयमा पुगेका उपभोक्ताहरूले कामचलाउ हैसियतमात्रै रहेका अध्यक्ष रामबहादुर घिमिरेले स्वच्छ खानेपानी पाउने उपभोक्ताको अधिकारलाई बेवास्ता गर्दै अदालतमा विचाराधीन मुद्दाका कारण आफू शक्तिशाली रहेको र आफूले चाहेमा ‘वर्षौ वर्षसम्म मुद्दालाई पछाडि सारिदिन सक्ने’ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।
मानगढ खानेपानी संस्थाको २०८१ ज्येष्ठ १९ गते निर्वाचन भए पनि उक्त निर्वाचनमा तत्कालीन अध्यक्ष घिमिरेले धाँधलीपूर्ण रुपमा काम गरेको र सबै उपभोक्ताहरूले मतदान गर्न नपाएको लगायतका आरोप लागेपछि विवाद उत्पन्न भएको थियो ।
विवादका कारण मतगणना हुन नसकेपछि खसेको मतको मतगणना समेत हुन सकेन । मतगणना रोक्न उच्च अदालत विराटनगरमा केही उपभोक्ताहरूले मुद्दा दायर गरेपछि अहिले पनि उक्त विषय अनिर्णीत रहेको छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा कामचलाउ रहेका अध्यक्ष घिमिरेलाई मुद्दाको फैसला नहुने अवस्थासम्म खानेपानी संस्थाको खानेपानी वितरण सम्बन्धी दैनिक कार्य सञ्चालनबाहेक संस्थालाई दीर्घकालीन असर हुने खालका कुनै पनि गतिविधि संचालन नगर्न आदेश भएको थियो ।
तर घिमिरेले अदालतको आदेशलाई पालना नगरी स्वच्छ खानेपानी पाउने उपभोक्ताको अधिकारलाई बेवास्ता गर्दै मुद्दाको कारण आफू शक्तिशाली भएको भन्दै हिँड्ने गरेको उपभोक्ताहरूले बताए ।
घिमिरेले खानेपानी संस्थालाई आफ्नो पैतृक सम्पत्ति जस्तो ठान्ने गरेको, उपभोक्ताहरूको लगानीलाई गौण राखी हालसम्म खानेपानीको हिसाबकिताब लुकाएर राखेको, एक वर्षदेखि लेदोजन्य खानेपानी उपभोक्ताहरूको धारा आउँदा समेत बेवास्ता गरेको र आफूलाई खानेपानीको सबैभन्दा जान्ने सुन्ने व्यक्ति भन्दै उपभोक्ताहरूलाई अवमूल्यन गरेको आरोप लगाएका छन् ।
कामचलाउ अध्यक्ष घिमिरेले उपभोक्ताहरूलाई झुक्याएर आफू अनुकुल विधान तयार गरी आफूलाई वैधानिकताका लागि विभिन्न खालका जालझेल गर्न थालेको, जग्गा खरिदमा भएको अनियमितता लुकाएर खरिद गरिएको भनिएको जग्गा हालसम्म पनि घेराबारा नगरेको उनीहरूले बताए ।
साथै काम चलाउ रूपमै पुगेको वर्तमान कार्यसमितिका पदाधिकारीहरूले न्यायालयको आदेशको अपहेलना गर्दै प्रस्तावविहीन बैठक बस्ने र भत्ता खाने गरेको समेत उपभोक्ताहरूले आरोप लगाए । ‘यस्तो कार्य नरोकिएको खण्डमा अब आम भेलाबाट संघर्षका कार्यक्रम बनाउँछौं,’ एक उपभोक्ताले भने, ‘गलत तरिकाले खानेपानीलाई चलाउनेहरुविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिन्छौं ।’
उपभोक्ताहरूले थाहा पाउने गरी विज्ञापन गरेर दक्ष कर्मचारी नियुक्ति गर्नुपर्नेमा जालझेलपूर्ण रुपमा कर्मचारी नियुक्त गर्ने गरेको र त्यसरी नियुक्त भएका व्यक्तिहरुले संस्थाभित्रको गतल कार्यलाई ढाकछोप गर्ने गरेको दाबी गरे । उनीहले मुद्दाको फैसला नहुन्जेलसम्म यस्ता कार्यहरु दोहोरिएको पाइएमा आम उपभोक्ताहरूको भेलामार्फत कामचलाउ नेतृत्वविरुद्ध संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।
मानगढ खानेपानीमा उम्मेदवारी विवाद चर्किंदा एमाले मोरङले महानगर कमिटीका अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपाल र अध्यक्षका अर्का प्रत्यासी एवं वडा नं. ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई कारवाही गरेको छ । आइतबार मानगढ खानेपानी संस्थामा ज्ञापन पत्र लिएर पुगेका उपभोक्ताहरू मध्ये एमालेभित्र कारवाही भोग्ने समूह समर्थित उपभोक्ताहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।
View : 198
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved