Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सप्तकोशी उच्च बाँधको उचाइ घटाउने सहमति

उद्‌घोष सम्वाददाता
१२ कार्तिक २०८०, आइतवार

विराटनगर : भारतले निर्माण गर्ने भनिएको प्रस्तावित सप्तकोशी उच्च बाँधको उचाइ घटाउने विषयमा नेपाल–भारत संयुक्त विज्ञ टोलीले सहमति गरेको नेपाली अधिकारीहरूले बताएका छन् । नेपालको बराह क्षेत्रमा बनाउने भनिएको सप्तकोशी उच्च बाँध र त्यसको उचाइलाई लिएर नेपालभिक्र चर्को असन्तुष्टि व्यत्त हुने गरेको छ । प्रस्तावित सप्तकोशी उच्च बाँध नेपालको राष्ट्रिय हितमा नरहेको कतिपय विज्ञले बताउँदै आएका छन् ।

सप्तकोशी उच्च बाँध बहुद्देश्यीय आयोजनासम्बन्धी नेपाल–भारत संयुक्त विज्ञ टोलीको बैठक हालै विराटनगरमा भएको थियो ।

‘छलफल हुँदा सप्तकोशी आयोजनाको डुबान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित, सञ्चालित आयोजनाहरू, सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरूलाई समेत दृष्टिगत गर्दै बाँधको उचाइलाई घटाउने सहमति भयो, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ ।

उचाइ किन घटाउन खोजिएको ?

भारतले नेपाललाई हालै पठाएको एउटा मस्यौदामा सप्तकोशी उच्च बाँधको उचाइ २३९ मिटर कायम गर्ने प्रस्ताव गरेको बताइएको छ । आयोजना अघि बढाउने दिशामा विस्तृत परियोजना प्रतिवेदनका लागि नेपाल सहमत भएपश्चात् दुई देशले विसं २०६१ सालदेखि संयुक्त अध्ययन गर्दै आए पनि स्थानीयवासीको विरोधबीच त्यसले अझै मूर्त रूप लिन सकेको छैन ।  विरोधका कारण पछिल्लो चार वर्षदेखि उक्त प्रस्तावित उच्च बाँधको अध्ययन कार्य रोकिएको अवस्था छ ।

सो बाँधको उचाइ २६९ मिटर हुनुपर्ने अडान लिंदै आएको भारतले आफ्नो हात परेको तल्लो अरुण जलविद्युत् आयोजना पनि डुबानमा पर्ने देखिएपछि उचाइ कम गर्न तयार भएको जलस्रोत मामिलाका वरिष्ठ पत्रकार विकास थापा बताउँछन् ।  भारतले नेपालमा धेरै डुबान हुने भएर बाँधको उचाइ घटाउन खोजेको होइन, आफूले हात पारेको आयोजनालाई असर पर्ने भएर घटाउन खोजेको हो, उनले भने ।

भारतले गरेको प्रस्तावअनुसार कुनै सहमति चाहि भइ नसकेको आयोजना सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

संयुक्त विज्ञ टोलीको बैठकमा बाँधको उचाइ घटाउने सहमति चाहिं भएको हो । तर कति घटाउने भन्नेबारे कुनै निष्कर्षमा पुगिसकेको अवस्था होइन, आयोजनाका इन्जिनियर वीरेन्द्र पण्डितले भने । सरकारी स्तरमा थप कुराकानी गरेर कति घटाउने भन्नेबारे छलफल गरिने कुरा छ । घट्ने चाहिं पक्का हो,उनले थपे ।

नेपाली भूभागमा कस्तो प्रभाव पर्छ ?

पण्डितका अनुसार काठमाडौंमा बसेको संयुक्त जलस्रोत समिति (जेसीडब्ल्यूआर) को नवौ बैठकले २६९ मिटर उचाइ कायम हुदा बढी डुबान हुने देखिएकोले उचाइ कति घटाउन सकिन्छ भन्नेबारे अध्ययन गर्न भनेको थियो । संयुक्त विज्ञ टोलीमा भएको सहमतिलाई भने सचिवस्तरीय जेसीडब्ल्यूआरको बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ ।

जलस्रोत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार थापाका अनुसार सप्तकोशी बाँधको उचाइ २३९ मिटर कायम गरिएमा पहिलाको भन्दा केही कम क्षेत्र डुबानमा पर्ने अध्ययनहरूले देखाएका छन् ।

पहिला भनिएको बाँधको उचाइ २६९ मिटर कायम गरियो भने कोशी प्रदेशको १९० वर्गकिलोमिटर भूभाग डुबानमा पर्छ भने २३९ मिटर अग्लो बनाइए १३० वर्गकिलोमिटर डुब्ने नेपाल पानी सदुपयोग फाउन्डेशनको अध्ययनले देखाएको छ, उनले भने।

कतिपय विज्ञले आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल रहेका कोशी जलाधार क्षेत्रमा उच्च बाँध बनाइदा त्यसले नेपालमा ठूलो वातावरणीय एवं पर्यवाणीय क्षति पुर्‍याउने चेतावनी दिंदै आएका छन् । उक्त उच्च बाँध निर्माण भए त्यसले नेपालमा स्थायी रूपमा बाढी निम्त्याउने पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले बताउँछन् । 

नेपाल–भारतबीच कोशी उच्च बाँध बहुउद्देशीय परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने सहमति सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका क्रममा भएको थियो । बीबीसी

View : 291

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved