Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

हाम्रो इटहरीलाई भेट्रान गोल्डकपको उपाधि

उद्‌घोष सम्वाददाता
५ चैत २०८०, सोमवार

सुनसरी । चौथो संस्करणको इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ ।

फाइनलमा आयोजक हाम्रो इटहरीले रियल फ्रेण्डस भेट्रान, सिक्किम (भारत)लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ हाम्रो इटहरीका लागि लिलाराम मगरले गोल गरेका थिए भने रियल फ्रेण्डसका लागि सन्तोष राईले गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्‍यो भने उपविजेता रियल फ्रेण्डस भेट्रानले ६१ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हाम्रो इटहरीका अंकुरकुमार खड्गी घोषित भए । उनले नगद ७ हजार र ट्रफी हात पारे ।

हाम्रो इटहरीका लिलाराम मगर फाइनल खेलको उत्कृष्ट खेलाडीमा चुनिए । उनले नगद २१ हजार एक सय र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ हाम्रो इटहरीका सुनिल तामाङ उत्कृष्ट गोलरक्षक, दिवश राई उत्कृष्ट रक्षापङ्तीका खेलाडी, प्रकाश कोइराला उत्कृष्ट प्रशिक्षक, सुरेन्द्र तामाङ सर्वाधिक गोलकर्ता चुनिए ।

उत्कृष्ट मध्यपङ्तिका खेलाडीमा रियल फ्रेण्डसका माइकल लेप्चा र उत्कृष्ट अग्रपङ्तिका अेलाडीमा रियल फ्रेण्डसकै सन्तोष राई घोषित भए ।

उनीहरूले जनही ३ हजार ५ सय र ट्रफी हात पारे । फागुन २६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ९ टोलीले सहभागिता जनाएका थिए ।

View : 327

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved