Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश आमसञ्चार विधेयक

पत्रकारको मागलाई सकारात्मक रुपमा लिएको छु : मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
१० भदौ २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन् । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि मुख्यमन्त्री कार्कीले पत्रकारका सरोकारलाई सरकारले गम्भीरताका साथ लिएको बताए । 

महासंघसहित सरोकारवाला पक्षहरूले विधेयकका व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । विधेयक संसदभित्र रहेकोले संसदका सरोकारवाला दलहरूसँग समेत छलफल गरेर अघि बढाउन आवश्यक रहेको बताए । 

महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले आमसञ्चार विधेयकले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने गरी उल्लेख गरेका दफाहरूबारे मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारिता क्षेत्रका लागि बलियो संस्था बनाउने इच्छा रहेको उल्लेख गरे । पहिलो कार्यकालमा आफु आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेला नियमावलीमार्फत आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकार हकहितको काम सुरु गरेपनि तत्कालिन सरकारले त्यसलाई खारेज गरिदिएको बताए । 

अहिले आफु मुख्यमन्त्री भएको बेलामा आफ्नै पहल कदमीमा विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई समेट्न खोजेपनि विभिन्न बिषयमा छलफल बाँकी देखिएको महसुस गरेको भन्दै प्रदेश सभामा विधेयक पारितका लागि निर्णयार्थ पेश हुने सम्भावना कम भएको बताए ।

‘अहिले बनेको विधेयकमा थप छलफल गर्नुपर्ने अवस्था देखियो, सरकारले विधेयकमा बिषयमा आएका सरोकारवालाई गम्भीरतापूर्वक लिएका छौं’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा म प्रतिबद्ध छु, पत्रकारहरूको मागलाई सकारात्मक रुपमा लिएको छु ।’

View : 446

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved