Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

भोजपुरमा पाक्न लागेको धान ढुसीले नष्ट, कृषक चिन्तित

गोकुल भुजेल
२४ कार्तिक २०८०, शुक्रवार

भोजपुर, २३ कात्तिक : भोजपुर नगरपालिका–५ बोखीमका कृषकहरुको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ । धान पाक्ने बेलामा बोट कालो भएर सुक्दा फलेको थेरै धान पनि भित्र्याउन नसकेको स्थानीय श्रीप्रसाद दंगाल बताउँछन् ।

उनकी छोरी नीता दंगालका अनुसार, करिब ६ रोपनी क्षेत्रफलमा लगाएको धानमा रोग फैलिदा धान सुकेर नष्ट भएको छ । बार्षिक २०–२५ मुरी धान उत्पादन हुँदै आएको खेतमा यसबर्ष २ मुरी पनि धान संकलन नहुँदा आफूहरु मारमा परेका छौं, उनले भनिन् ।

धान गोड्ने बेलामा सामान्य रोगको प्रकोप देखा परेसँगै कृषि ज्ञान केन्द्र तथा औषधि पसलबाट किटनाशक औषधि लगाएपछि नियन्त्रण भएको रोग पछिल्लो समय व्यापक रुपमा फैलिदा सबै धान नष्ट भएको स्थानीय कृषकहरुले बताएका छन् । 

बर्षभरी खाने खाद्यान्न खेतभरी डढेको देख्दा आँखाभरी आशु पार्दै भीमकुमारी दंगाल मनभरी पीडा भएको दुखेसो गर्छिन् । 

धानमा रोग लाग्ने वित्तिकै विषादी प्रयोग नगर्दा यस्तो भएको सरोकारवालाको दावी छ ।  उनको खेतसँगै सिमाना भएका खेतमा रोग लाग्ने वित्तिकै विषादी लगाएसँगै रोग नियन्त्रणमा आएको थियो । उनले पनि पटक–पटक विषादि प्रयोग गर्दा रोग नियन्त्रण नभएपछि धान नष्ट भएको हो ।

उनको खेतमा रोग फैलिदा मौषम अनुकुल हुनुका साथै चाँडो रोग फैलिएर रोग नियन्त्रण बाहिर भएकाले यस्तो अवस्था भएको कृषिज्ञान केन्द्र भोजपुरका बागबानी विकास अधिकृत सुवास दाहालले बताए । उनका अनुसार उक्त रोगको किटाणुहरु धान गोड्ने बेलादेखि सुरु भएर, पसाउने बेलामा ज्यादै सक्रिय हुने गर्दछ । सो बेला तत्काल नियन्त्रण नभए प्रकोपकै रुपमा रोग फैलिने समेत दाहालले जानकारी दिए ।

यता, कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीका अनुसार उक्त प्रकोप(रोग) धान गोड्ने र पसाउने बेलामा जिल्लाभरीनै फैलिएको भए पनि धान नै नष्ट भने बोखीममा मात्र भएको बताए 

रोगले बोखीमको साविक–३ मसिनेबेसी र ४ मध्य बोखीमको खेतहरुमा प्रभाव पारेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए । रोगबाट प्रभावित किसानरुलाई राहतका लागि स्थानीय पालिका, कृषि ज्ञान केन्द्र तथा प्रदेश सरकारसँग आग्रह गर्ने अध्यक्ष प्रधानले बताए । 

भोजपुर जिल्ला धान उत्पादनको राम्रो क्षेत्र मानिन्छ । गत आवमा जिल्लाभरी करिब १६ हजार ८ सय २६ हेक्टर क्षेत्रफलमा ४९ हजार ४ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो । 

View : 260

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved