विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाको आयोजनामा सुरक्षित गर्भपतनसम्बन्धी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ मोरङ शाखाको समन्वयमा आइतबार विराटनगर–१० स्थित संघको भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुरक्षित गर्भपतनको कानुनी व्यवस्था, महिलाको प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित सेवा पहुँच तथा असुरक्षित गर्भपतनबाट हुन सक्ने जोखिमबारे जानकारी गराइएको थियो ।
सहभागीहरूलाई गर्भपतनसम्बन्धी भ्रम चिर्नुका साथै स्वास्थ्य संस्थामार्फत सुरक्षित सेवा लिनुपर्ने विषयमा सचेत गराइएको थियो ।
कार्यक्रमका विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय तहले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
उनले सुरक्षित मातृत्व र महिलाको स्वास्थ्य संरक्षणका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै त्यस्ता कार्यक्रमहरुमा महानगरपालिका सधै सहकार्य गर्न तयार रहेको बताइन् ।
नेपाल परिवार नियोजन संघ मोरङ शाखाका प्रवन्धक शंकरप्रसाद दाहाल ले गर्भपतनसम्बन्धी कानुनी व्यवस्था, सुरक्षित सेवाको अधिकार तथा महिलाको जीवन रक्षासँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले नेपालको कानुनले निश्चित अवस्थाहरूमा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै महिलाले गोपनीय र सुरक्षित स्वास्थ्य सेवा पाउनुपर्ने बताए ।
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले महिलाको स्वास्थ्य सुरक्षाका लागि सही जानकारी अत्यन्त आवश्यक रहेको बताउँदै सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा बुझ्नुपर्ने धारणा राखे ।
उनले असुरक्षित गर्भपतनका कारण अझै महिलाले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको बताए ।
नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले सुरक्षित गर्भपतनसम्बन्धी सही सूचना समुदायसम्म पुर्याउन औषधि व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले औषधि व्यवसायीहरूलाई जिम्मेवार र सचेत भएर सेवा प्रवाह गर्न आग्रह गरे ।
संघका केन्द्रीय सदस्य प्रदिपकुमार दासले महिलाको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सुरक्षित गर्भपतनबारे समाजमा रहेका भ्रम हटाउन आवश्यक रहेको बताए । उनले जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषय अझै पनि समाजमा खुलेर छलफल हुन नसकेको बताइन् ।
उनले सुरक्षित गर्भपतनबारे सही सूचना नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तथ्यमा आधारित सचेतनामूलक सामग्री उत्पादन गर्न पत्रकारहरू जिम्मेवार हुनुपर्ने बताइन् ।
View : 274
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved