Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ताप्लेजुङका तीन कर्मचारीलाई स्पष्टीकरण

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

संखुवासभा । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने ताप्लेजुङका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।

तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए । उनीहरुको कर्मचारीको नाम भने खुलाइएको छैन ।

दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ । ती कर्मचारीलाई लिखित स्पष्टीकरण लिइएको हो ।

आचारसंहिता विपरीत गतिविधि पुनः दोहोर्याएमा कडा कारबाही गरिने सहायक निर्वाचन अधिकृत न्यौपानले बताए ।

त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने निर्णयसमेत भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्य एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् ।

१५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।

जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।

View : 142

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved