Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राजावादीहरूको एउटै मोर्चा बनेको दाबी

उद्घोष सम्वाददाता
५ पुष २०८०, बिहिवार

विराटनगर । नेपाल विद्वत् परिषद् र नेपाल सद्भावना मञ्चले राजावादीहरूको एउटै मोर्चा बनेको दाबी गरेका छन् । एउटै मोर्चा बनेको घोषणासहित बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एकीकृत राष्ट्रिय संघर्ष समितिले राजा मान्ने र गणतन्त्रको काम छैन भन्ने शक्ति एक भएको जनाएको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालले २००७ सालदेखि आजसम्मको प्रजातन्त्रले नेपाली जनताको उन्नति प्रगति हुन नसकेको बताए । उनले मुलुकमा भ्रष्टाचार र मनपर्दी शासन व्यवस्थाले देश नै ओरालो लागेको आरोप लगाए । देशमा जातीय लगायत अनेक प्रकारका द्वन्द्वहरू देखिन थालेको र नेपालीहरू रोजगारीका लागि देशै छाडेर भाग्ने अवस्था सिर्जना भएको बताए ।

छुट्टाछुट्टै विरोधबाट राजसंस्था पुनर्स्थापनाको सफलता सम्भव नदेखिएको भन्दै सबै शक्तिहरूलाई एकीकृत गरिएको उनले जानकारी दिए । समितिका सल्लाहकार एवं पूर्व गृहमन्त्री बद्रिप्रसाद मण्डलले गणतन्त्र रहिरहे देशै नरहने भन्दै गणतन्त्र फालेर राजा फर्काउनुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष दाहालका अनुसार एकीकृत संघर्ष समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश राउत, उपाध्यक्ष रमा प्रसाईँ, वरिष्ठ सचिवमा पुष्पराज दाहाल, सचिवमा पन्नालाल राजवंशी, सहसचिवमा सन्दिप घिमिरे रहेको जनाइएको छ । उनले २५ सदस्यीय समिति गठन गरिएको बताए ।

View : 139

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved