Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल

उद्घोष सम्वाददाता
१४ कार्तिक २०८१, बुधवार

काठमाडौँ, १४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् । 

आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए ।

देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो ।   

“वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्छ ।

उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं”, मन्त्री पौडेलले भने ।

उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उललेख गरे । 

“समितिले उत्पादन बढाउँदै आर्थिक स्तार सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ ।

यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ ।

सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन”, मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्व रहेको उल्लेख गरे ।  

“वैद्यखाना नेपालको मौलिक विधिबाट सञ्चालित संस्था हो ।

यसमा हाम्रो मौलिकतासँगै आध्यात्मा र इतिहास जोडिएको छ ।

यो हाम्रो संस्कृति र परम्परा पनि हो । अहिले समितिको उत्पादन घट्दो छ, यो पनि बन्द हुने स्थिति भयो भने हाम्रो मौलिकता समाप्त हुन्छ”, उनले भने ।

मौलिकता र संस्कृति जर्गेना गर्न पनि उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा अर्थसमितिका सभापति सन्तोष चालिसेले वैद्यखानाको विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले समितिबाट उत्पादन वृद्धि गर्न सरकारले वातावरण मिलाएमा आफूहरुले विदेशमा समेत निर्यात गर्नेगरी उत्पादन वृद्धि गर्दै जाने बताए ।

उनले विदेश निर्यातका लागि बजार व्यवस्थापनका लागि सहयोग गर्न मन्त्रीसमक्ष प्रस्ताव राखे ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ्न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।

नेपाल आयुर्वेद चिकित्सा सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले वैद्यखानामा दरबन्दी थप्न र कर्मचारीको वृद्धि विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराए ।

सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष प्रा डा ठाकुरप्रसाद दुवाडीले वर्षिकोत्सवको शुभकामना आदानप्रदान गर्दै आर्थिक रुपले समितिलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।  

कार्यक्रममा चन्द्र निघण्टुको १०औँ भाग मन्त्री पौडेललगायत विशिष्ट अतिथिहरुद्वारा विमोचन गरिएको थियो ।

राजा प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको वैद्यखाना त्यसपछि थापाथली दरबार हुँदै सिंहदरबारमा स्थानान्तरण भएर २०५२ सालदेखि विकास समितिअन्र्तगत सञ्चालित हुँदै आएको छ । रासस

View : 67

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved