Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिवि क्षेत्रीय पनिकाले सक्रियता बढाउँदै

क्षेपनिका अन्तर्गत सञ्चालित परीक्षाको प्रत्यक्ष अनुगमन गर्न प्रविधिको जडान गरी निगरानी गर्ने व्यवस्था सुरुवात समेत भएको छ । कार्यालयमा बसी महेन्द्र मोरङको परीक्षाको निगरानी सुरुवात भैसकेको प्रमुख डा प्रसाईले बताए ।
उद्घोष सम्वाददाता
४ चैत २०८०, आइतवार

विराटनगर । विराटनगरस्थित त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय (त्रिवि क्षेपनिका) ले आफ्ना गतिविधिमा सक्रियता बढाएको छ ।

कहिले स्नातकोत्तर क्याम्पस त कहिले भाडाको घरमा कार्यालय राखेर परीक्षाको कार्य गर्दै आएकोमा अहिले विराटनगर–१४ स्थित आफ्नै २० कोठाको दुईतले नयाँ भवनमा सरेसँगै सक्रियता बढाएको हो ।  जसले गर्दा उत्तरपुस्तिका संकलन र भण्डार गर्न एवम् परीक्षाका गोप्य कामहरुलाई सहज रुपमा गर्न समेत सजिलो भएको  जनाइएको छ ।

यसका साथै  यो वर्ष त्रिवि क्षेपनिका आर्थिक सुशासनमा अब्बल भई सम्मानित पनि भएको छ । त्रिवि क्षेपनिकाका प्रमुख सहपरीक्षा नियन्त्रक डा डिल्लीराम प्रसाईका अनुसार  त्रिविका ६ वटा निकायहरु मध्ये आर्थिक गतिविधिमा  क्षेपनिका विराटनगरले शून्य बेरुजु ल्याउन सफल भएकोले पुरस्कृत भई आर्थिक सुशासनमा अब्बल भएको हो ।

अर्कोतर्फ आर्थिक विकेन्द्रीकरणको समस्याले गर्दा उत्तरपुस्तिका परीक्षण गराउने बजेट नभएको, आन्तरिक सूचना प्रविधिमा अध्यावधिक भए पनि विद्यार्थीको परीक्षा फर्म भर्ने लगायतको कार्यका लागि अधिकार नहुँदा परीक्षाका कामहरु समयमा नै नहुने गरेको छ ।

सूचना प्रविधि (आईटी)बाट सेवा कार्य झन द्रुत हुनुपर्नेमा पनिका केन्द्रीय कार्यालय बल्खुको नियन्त्रण रहेको आईटी सेवा वितरण प्रभावकारी नहुँदा विद्यार्थीले त्यसको मार खप्नु पर्ने जनाइएको छ । जसको कारण पढाइ सकिएको ६ महिना भइसक्दा पनि  स्नातक दोस्रो वर्षको परीक्षाको कुरा त परै जावस् फर्म डाटामा इन्ट्रीसमेत भएको छैन । 

यसका साथै खटाइएका वाह्य विज्ञलाई पारीश्रमिक समेत दिने अधिकार क्षेपनिकालाई नहुँदा उनीहरुले  खटाइएको ठाउँमा जान नमान्ने गरेका छन् । विज्ञहरुले खटेको पारिश्रमिक तुरुन्त नपाउने समस्याका कारण बाह्य विज्ञमा खटिन प्राध्यापकहरु नमान्ने गरेका  डिग्री क्याम्पसका सहायक प्रमुख मिलन खरेल स्वीकार्छन् ।

क्षेपनिका अन्तर्गत सञ्चालित परीक्षाको प्रत्यक्ष अनुगमन गर्न प्रविधिको जडान गरी निगरानी गर्ने व्यवस्था सुरुवात समेत भएको छ । कार्यालयमा बसी महेन्द्र मोरङको परीक्षाको निगरानी सुरुवात भैसकेको प्रमुख डा प्रसाईले बताए ।

यसका साथै परीक्षाका कार्यलाई चुस्त दुरुस्त राख्न उत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक समयसापेक्ष गरी तु भुक्तानी दिने व्यवस्था मिलाउने आवश्यक पहल सुरु गरिएको उनले बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न विषय विज्ञहरुको सूची (रोष्टर) पनि अद्यावधिक गरिएको उनले जनाए ।

अहिले सामुदायिक तथा निजी क्याम्पसहरुलाई परीक्षा केन्द्र चलाए बापत दिइने भुक्तानी क्षेपनिकाबा नै दिने व्यवस्था मिलाएको छ । त्रिविमा सम्वन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसहरुमा विनियोजन र सेवा शुल्क क्षेपनिकामा नै बुझाउने व्यवस्था गरिएको छ । 

परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन विभिन्न किसिमका सात वटा तालिम आयोजना गरी प्राध्यापक, कर्मचारी  थप जिम्मेवार बनाइएको उनले दावी गरे । कार्यालय मातहतका १६ जिल्लाका १७० क्याम्पसका तीन सय जनालाई  सो तालिमबाट लाभान्वित भएको डा प्रसाईंले जानकारी दिए ।

View : 378

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved