विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले प्रहरी कर्मचारीलाई संगठनको हित र उद्देश्यलाई सर्वोपरि राखेर उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् ।
मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित निर्देशन कार्यक्रममा बोल्दै उनले व्यक्तिगत आवश्यकताभन्दा प्रहरी संगठनको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
डिआइजी खनालले संगठनको लक्ष्य र जिम्मेवारी आपसी सहयोग, समन्वय, प्रतिबद्धता तथा एकताबाट मात्र प्रभावकारी रूपमा पूरा गर्न सकिने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीलाई संगठनप्रति समर्पित र उत्तरदायी बन्न आग्रह गरे ।
उनले नेपाल प्रहरीले विगतदेखि विषम परिस्थितिमा पनि प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्दै आएको स्मरण गराउँदै आगामी चुनौतीहरूलाई संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम क्षतिको सिद्धान्त अपनाएर सामना गर्न निर्देशन दिए ।
उनले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्य समयमै पूरा गर्न सबै शाखाले योजनाबद्ध, नतिजामुखी, चुस्त र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताए । सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी, गुणस्तरीय र नागरिकको विश्वास बढाउने दिशामा केन्द्रित हुन उनले निर्देशन दिए ।
प्रहरी प्रमुख खनालले प्रहरीमा दर्जाभन्दा सिकाइ र कार्यक्षमता महत्त्वपूर्ण हुने उल्लेख गर्दै समयसापेक्ष संगठनको हितका लागि प्राप्त हुने राय, सुझाव र सल्लाह जुनसुकै तहबाट आए पनि ग्रहण गर्न आफू तयार रहेको बताए ।
निर्देशन कार्यक्रमपछि उनले कोशी प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखाको निरीक्षण तथा अनुगमन पनि गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले प्रदेशको शान्तिसुरक्षा अवस्था, अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी गण, प्रहरी अस्पताल तथा अन्य इकाइका प्रमुखसहित वरिष्ठ, कनिष्ठ प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved