Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले कोशीको समानुपातिक सूची : प्रभावशालीहरुकै बोलवाला

उद्‌घोष संवाददाता
१४ पुष २०८२, सोमवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ सिफारिस गरेको उम्मेदवार सूचीमा यसअघि विभिन्न तहमा जनप्रतिनिधि भइसकेका नेताहरूको वर्चश्व देखिएको छ । 

समावेशी प्रतिनिधित्व, नयाँ अनुहार र संगठनभित्रै अवसर नपाएका कार्यकर्तालाई अघि सार्ने आम अपेक्षाबीच केन्द्रमा पठाइएको सूचीमा भने बहुसंख्यक नामहरू पहिले नै संसद्, सरकार, स्थानीय तह वा पार्टीको शक्तिशाली संरचनामा अवसर पाइसकेकाहरू नै परेका छन् । 

एमाले कोशी प्रदेश स्रोतका अनुसार कोशीबाट सिफारिस गरिएका उम्मेदवारमध्ये ठूलो हिस्सा पूर्वसांसद, पूर्वमन्त्री, पूर्वमेयर, उपमेयर, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय तहमा लामो समय नेतृत्व गरिसकेका व्यक्तिहरू छन् । 

यसले समानुपातिक प्रणालीको मूल मर्म नयाँ, पछाडि परेका र अवसर नपाएका समुदाय तथा व्यक्तिलाई प्रतिनिधित्व गराउने उद्देश्यसँग मेल नखाने गुनासो समेत उठ्न थालेको छ । मोरङबाटै भएको सिफारिसमा पनि कार्यकर्ताले सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गरिसकेका छन् । 

खासगरी एमाले झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा, खोटाङ, उदयपुरलगायत जिल्लाबाट सिफारिस गरिएका धेरै नेताहरू यसअघि नै संसद् वा सरकारमा पुगिसकेकाहरु छन् । 

कोशीबाट केन्द्रमा सिफारिस भएका नामहरूमध्ये पूर्वमेयर, पूर्वउपमेयर, पूर्वपालिका अध्यक्ष, प्रदेशमन्त्री, संविधानसभा सदस्य तथा समानुपातिक सांसद रहिसकेकाहरू उल्लेख्य छन् ।

कोशी प्रदेशबाट केन्द्रमा सिफारिस गरिएको समानुपातिक सूचीमा रहेका रोमनाथ ओली यसअघि दमक नगरपालिकाको मेयर भइसकेका नेता हुन् । उनी पार्टी अध्यक्ष केपी ओलीका नातेदारसमेत हुन् । 

जसमाया गजमेर पूर्वप्रदेशसभा सदस्य तथा मन्त्री रहिसकेकी छन् । इलामबाट सिफारिसमा परेकी सकुन्तला लेप्चा समानुपातिकबाटै संविधानसभा सदस्य रहिसकेकी नेतृ हुन् । 

तेह्रथुमबाट सिफारिस भएका डा. विजय सुब्बा यसअघि प्रत्यक्ष चुनाव हारेका र समानुपातिकको अवसर पाइसकेका नेता हुन् । 

विष्णुमाया बिक पनि पूर्व समानुपातिक सांसद हुन् । पाँचथरबाट सिफारिस भएका डम्बरसिंह सम्बाहाम्फे यसअघि प्रतिनिधिसभा सदस्य तथा राज्यमन्त्रीसमेत भइसकेका नेता हुन् ।

धनकुटाबाट बिनादेबी राई यसअघि प्रदेशसभा सदस्य रहिसकेकी छन् भने खोटाङकी उषाकला राई समानुपातिकबाटै प्रदेशसभा सदस्य भएर मन्त्री भइसकेकी केन्द्रीय कमिटी सदस्य हुन् । उदयपुरकी  कला  घले पनि प्रदेशकै पूर्वसांसद हुन् । 

मोरङका गुरुप्रसाद बराल पूर्वसांसद रहिसकेका र निर्वाचनमा पटक पटक अवसर पाएका नेता हुन् । नरेश पोखरेल जिल्ला समन्वय समिति मोरङका पूर्वप्रमुख हुन् ।

उदयपुरबाट सिफारिस भएकी मञ्जु चौधरी यसअघि समानुपातिक सांसद भइसकेकी नेतृ हुन् भने इच्छाकुमारी गुरुङ ओखलढुंगाको उप–मेयर भइसकेकी हुन् ।

यसबाहेक पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग र प्रदेश नेतृत्वमा बसेर लामो समय प्रभाव जमाएकाहरूले नै  समानुपातिक सूचीमा कब्जा जमाएका छन् । 

विशेषगरी झापा, मोरङ र इलामबाट सिफारिस भएका कतिपय नेताहरू पटक–पटक अवसर पाएका भए पनि फेरि समानुपातिक कोटामै समेटिएको देखिन्छ ।

यसले संगठनभित्र लामो समयदेखि काम गरिरहेका तर जनप्रतिनिधि हुन नपाएका कार्यकर्तामा असन्तुष्टि बढाएको छ ।

जनप्रतिनिधि नभएका नामः सीमित तर फरक पृष्ठभूमि

यद्यपि सूचीमा केही त्यस्ता अनुहार पनि छन्, जो यसअघि कुनै पनि तहमा जनप्रतिनिधि भएका छैनन् । 

ताप्लेजुङबाट अनन्तबहादुर सावा (प्रदेश कमिटी सदस्य), चन्द्रा खतिवडा भट्टराई (जिल्ला कमिटी सदस्य) जस्ता नाम सिफारिस भएका छन् ।

पाँचथरबाट राजकुमार भण्डारी (प्रदेश कमिटी सचिव) र भूमिका सुब्बा (जनसांस्कृतिक महासंघ अध्यक्ष) जनप्रतिनिधि नभएका अनुहारका रूपमा सूचीमा परेका छन् ।

इलामबाट देबेन्द्रकुमार विश्वकर्मा र रिपल राई (प्रदेश कमिटी सदस्यहरू) जो यसअगाडि जनप्रतिनिधि भएका छैनन् । 

झापाबाट लता प्रसाईं, रोशनी मेचे, पवित्रा पाठक, निरु पुलामी जस्ता पार्टी नेत्रीहरू यसअघि कुनै निर्वाचित पदमा नपुगेका व्यक्तिका रूपमा सूचीमा समेटिएका छन् । रोशनी मेचे ओली प्रधानमन्त्री हुँदा स्वकीय सचिवालयमा थिइन् । 

तेह्रथुम, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी र मोरङमा पनि यस्तै केही नाम छन्, जो पार्टीमा लामो  सक्रियता र योगदान भएकाहरु परेका छन् । 

मोरङबाट बाबुराम कार्की, लक्ष्मी भण्डारी (पूर्व उपमेयर, उर्लाबारी), भूराज राई, भुवनसिंह राई, ज्ञानेश्वर राजवंशी (पूर्वप्रदेश सासद), इर्जालाल राजवंशी, धना तामाङ, शान्ति लिम्बू (पूर्व उपाध्यक्ष, लेटाङ), किरण चौधरी, रूपनारायण मिश्र, लुखिराम हास्दा, अनिता सोरेन, मो. नुरहसन मियाँ, इमाम हैदर, हसन इमाम बक्स, मंजिता खातुन, मोहनलाल सरदार, जितनारायण सरदार, डिल्ली विश्वकर्मा, गीता शिवा, अमर धिमाल लगायतका नाम जनप्रतिनिधि नभएकै रूपमा सिफारिस भएका छन् ।

उदयपुरबाट अम्बिका थापा र कला घले दुबै प्रदेशका सासद भैसकेका हुन् । 

पदमबहादुर राई, सिर्जना तामाङ, कान्ता राई, बेनीबहादुर रम्तेल, भीमकुमारी राउत, खड्गबहादुर परियार, नारदराज थापा, राजन शाही, माया भण्डारी, सुरेश तामाङ, अनन्त दनुवार, चन्द्रनारायण चौधरीजस्ता नेताहरू पनि सूचीमा परेका छन् । 

राई पूर्व गाविस उपाध्यक्ष हुन् भने राउत कटारी नगरपालिकाकी पूर्व उपमेयर हुन् ।

समानुपातिक प्रणाली फेरि पनि अवसर पाएकाहरूको ‘सेफ जोन’ बन्ने कि सीमान्त प्रतिनिधित्वमा जोड दिने भन्ने सबाल एमाले सिफारिसले फेरि उठाएको छ । 

कोशी प्रदेशका केही एमाले कार्यकर्ताहरूका अनुसार केन्द्रमा पठाइएको सूचीले समावेशिता र पुस्तान्तरणको सन्देशभन्दा पनि पुरानै शक्ति सन्तुलनलाई निरन्तरता दिएको छ । यसबारे अब अन्तिम निर्णय केन्द्रले गर्नेछ ।

View : 288

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved