Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीमा सीमा स्तम्भहरुको मर्मत कार्य सुरु

उद्‌घोष संवाददाता
२५ मंसिर २०८२, बिहिवार

सुनसरी । कोशी प्रदेश अन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगनको काम सुरु भएको छ । सन् २०१४ तिर निर्माण तथा मर्मत भएको सीमा स्तम्भहरू समय क्रममा क्षतिग्रस्त तथा खुइलिएपछि मर्मत र रंगरोगन अघि बढाइएको हो । 

त्यसै क्रममा नेपाली र भारतीय पक्षका सुरक्षा अधिकारीहरूको उपस्थितिमा सुनसरीको सीमा नजिकका विभिन्न स्थानमा स्थलगत अवलोकन तथा रंगरोगनको काम प्रारम्भ भएको छ । 

सम्बन्धित ठाउँका स्तम्भहरूको अवस्थाबारे प्रत्यक्ष अध्ययन गरी रंगरोगनको काम अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए । 

थापाका अनुसार भारतीय पक्षले जोर नम्बरको र नेपाली पक्षले बिजोर नम्बरको स्तम्भको मर्मत तथा रंगरोगन गर्ने समझदारी अनुसार बुधबारदेखि काम सुरु भएको हो । 

६१ दशमलव ९ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको सुनसरीमा २ सय ९० वटा स्तम्भ रहेका छन् । 

जसमा १ सय ३१ वटा जोर नम्बरको सीमा स्तम्भ भारतीय पक्षले मर्मत अघि बढाइसकेको छ । 

उसले अहिलेसम्म ८१ वटा स्तम्भको मर्मत तथा रंगरोगन गरिसकेको छ । नेपाली पक्षले कोशी गाउँपालिका–८ बाट सुरु गरेको बिजोर नम्बरको १ सय ३३ वटा स्तम्भको मर्मत तथा रंगरोगनको काम तीन साताभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको थापाले जानकारी दिए ।

View : 178

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved