Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुदूरपश्चिमेली १९ जना राउटे कोशीमा, हेर्नेको भिड

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

विराटनगर । लोपोन्मुख घुमन्ते समुदाय राउटेका १९ जना सदस्य यतिबेला मोरङको मिक्लाजुङ गाउँपालिका–३ को निसेलुङ याक्थुङ भिलेज (उल्टो घर) मा पुगेका छन् । 

सोसेक नेपाल र निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण एवं प्रवद्र्धन समितिको सहकार्यमा उनीहरूलाई कर्णाली प्रदेशबाट केही दिनका लागि ल्याइएको हो ।

आयोजकका अनुसार गत शनिबारदेखि कम्तीमा एक सातासम्मका लागि राउटे समुदायको कला, संस्कृति, रहनसहन, भेषभूषा तथा परम्पराबारे अध्ययन तथा अवलोकन गर्ने अवसर प्रदान गर्ने हेतुले उनीहरूलाई सो स्थानमा ल्याइएको हो । 

मिक्लाजुङमा रहेको उल्टोघर हेर्नलाई पहिला सय रुपैयाँ तिर्नुपथ्र्यो भने अहिले आयोजकले राउटे समुदायकालाई समेत त्यहाँ ल्याएर उनीहरुबाट बनाइएका काठका सामग्रीहरु राखिएका हुँदा दुई सय रुपैयाँ तिरेर हेर्न पाइने भएको हो ।

दशकाैं लामो इतिहास बोकेको सो समुदायका मानिसहरूलाई कार्यक्रममा अनुसन्धानकर्ता, साहित्यकार, पत्रकार, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी राउटे समुदायको भेषभूषा, रहनसहनलगायतका पक्षमा जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनमा लोपोन्मुख समुदायका ती मानिसहरू मात्रै नभएर उनीहरुद्वारा निर्मित भाँडाकुँडा समेत प्रदर्शन र बिक्री वितरणका लागि मिक्लाजुङमा आयोजित मेलामा राखिएको छ ।

बाहिरी समाजको मतलब नगर्ने सो समुदाय पछिल्लो समय भने केही खुला रूपमा घुलमिल हुन थालेकोे छ । 

मिक्लाजुङमा आयोजित कार्यक्रमले उनीहरूको संस्कृति संरक्षण र अन्तर सांस्कृतिक आदान–प्रदानमा सहयोग पुग्ने अपेक्षा गरिएको सञ्चालक समूहका प्रतिनिधिले बताए ।

ती लोपोन्मुख समुदायका व्यक्तिहरूसँग नागरिकतासमेत छैन । उनीहरूले देशको कानुन र ऐन, नियममा बाँधिन नचाहेको र आफूहरूले फरक राज्यमा बसोबास गर्ने गरेको मान्यता राख्ने गरेका छन् ।

राउटे समुदाय खासगरी कर्णाली र सुदूरपश्चिमका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, अछामलगायतका घना वन क्षेत्रमा बसोबास गर्दै आएका छन् । 

आफूहरूलाई जंगलको राजा भनेर आप्mनै मान्यता स्थापित गरेका छन् । 

राउटेहरू स्थायी बसोबास नगरी फिरन्ते जीवन बिताउने गर्छन् । उनीहरू एकै ठाउँमा दुई–तीन महिना बढी नबस्ने फरक विशेषता छ ।

राउटेहरूको मुख्य पेशा काठका सामग्री निर्माण गर्नु हो । आरी, ठेकी, मदुस, कोठालो, बाक्सा लगायतका सामग्री बनाएर गाउँलेसँग अन्न साटासाट गर्ने गरेका उनीहरूबाट हस्तनिर्मित समाग्रीले तराईका जिल्ला, पहाडी जिल्लाका साथै छिमेकी मुलुक भारतीय पर्यटकको समेत आकर्षण बढाउने उद्देश्य रहेको आयोजकले बताए ।

राउटे समुदाय प्रकृतिपूजक मानिने सो जातिले वनदेवीको पूजा गर्ने  गर्छन् । 

बिरामी पर्दा जडीबुटी, धामीझाँक्री तथा घरेलु उपचार अपनाउने चलन अझै भएको हुँदा अस्पताल जान अनिच्छुक हुने वा हिच्किचाउने गर्छन् । यद्यपि पछिल्लो समय विभिन्न संघसंस्थाले स्वास्थ्य शिविर, खोप तथा उपचार सेवासम्म पहुँच बढाउने प्रयास गरिरहेका छन् ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved