Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्धारित मितिमा नआउने भयो न्यूनतम कार्यक्रम

उनका अनुसार जसरी भए पनि सहमति जुटाएर सहमतिको साझा विन्दू पहिल्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाले निर्देशन दिएका छन् । सोही अनुसार कार्यक्रम बनाउन कार्यदल लागे पनि सहमति अहिलेसम्म नजुटेको ती सदस्यको भनाइ छ ।
उद्घोष सम्वाददाता
२३ असोज २०८१, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न गठित कार्यदलले निर्धारित समयमा साझा कार्यक्रम बुझाउन नसक्ने भएको छ । भनेको समयमा केही काम गर्न नसक्ने भनेर आलोचित बन्दै आएका दलहरुले यो दलिललाई कोशीमा फेरि एकपटक प्रमाणित गरेका छन् ।

संघसहित सबै प्रदेशमा सत्ता सहयात्रा गरिरहेका सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु सहभागी कार्यदललाई असोज २३ गते सम्मको म्याद दिएर न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी दिइएको थियो ।

सो म्यान्डेट अनुसार कार्यदलको म्याद बुधबार सकिंदैछ । यद्यपि दशैं बिदालगायतका कारण देखाउँदै कार्यदलले बुधबार न्यूनतम साझा कार्यक्रम सरकारलाई नबुझाउने निश्चित भएको छ ।

कार्यदलका सदस्यसमेत रहेका नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दशैं बिदा लगक्तै कार्यत्रम बुझाउने र सार्वजनिक गर्ने दाबी गरे ।

‘अहिले प्रमुख सचिव पनि हुनुहुन्न रहेछ, दशैं बिदा पनि सुरु भइसकेको अवस्था भयो’, प्रमुख सचेतक भण्डारीले भने ‘त्यसैले अहिले नै बुझाउने अवस्था रहेन । तर, हामीले कांग्रेस र एमाले दुवै दलका संसदीय दलका नेतालाई कार्यक्रम बुझाइसकेका छौं ।’

प्रमुख सचेतक भण्डारीले न्यूनतम साझा कार्यक्रम तयार भएको बताए पनि अहिलेसम्म न्यूनतम कार्यक्रमबारे कांग्रेस र एमालेभित्र सहमति जुटनै बाँकी छ ।

कार्यदलका एक सदस्यले दिएको जानकारी अनुसार दुवै दलबाट कार्यदलमा रहेकाहरुले खेस्रा भने तयार पारेका छन् । तर, त्यसलाई ‘फिनिसिङ टच’ दिन भने बाँकी छ ।

‘एमालेका साथीहरुले यसपटक ल्याएको बजेट अनुसार नै न्यूनतम साझा कार्यक्रम बनाउने अडान देखाएका छन्’, कार्यदलका सहभागी कांग्रेसका एक सदस्यले भने ‘हामीले भने बजेटमै पुनरावलोकन गरेर नयाँ कार्यक्रमहरु तय गर्नुपर्ने अडान लिएका छौं । त्यसैले यसबारे सहमति जुटिसकेको छैन ।’

उनका अनुसार जसरी भए पनि सहमति जुटाएर सहमतिको साझा विन्दू पहिल्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाले निर्देशन दिएका छन् । सोही अनुसार कार्यक्रम बनाउन कार्यदल लागे पनि सहमति अहिलेसम्म नजुटेको ती सदस्यको भनाइ छ ।

कोशी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम निर्माणका लागि असोज ६ गते कार्यदल गठन गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सत्तापक्षको संयुक्त संसदीय बैठकले न्यूनतम साझा कार्यक्रमका लागि ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित नेकपा एमालेको तर्फबाट कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक समितिका सदस्य थिए भने  कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ सदस्य थिए ।

कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको थियो । तर, अनेक बहाना देखाउँदै कार्यदल र सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम तयार नपारेपछि निर्धारित मितिमा कार्यक्रम नबुझाइने निश्चित भएको हो ।

कोशी प्रदेशमा अहिले संसद्का सबैभन्दा दुई ठूला दल नेकपा एमाले र  नेपाली कांग्रेसको सरकार छ । संयुक्त सरकार हुादा न्यूनतम साझा कार्यक्रम ल्याउने चलन छ ।

सोही चलन अनुसार असोज पहिलो साता कार्यदल गठन भएको थियो । यद्यपि कार्यदलले निर्धारित समयमा कार्यक्रम नल्याउने निश्चित भएपछि दशैंपछि माक्रै कार्यत्रम तयार पारेर सरकारलाई बुझाइने भएको छ ।

View : 97

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved