विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
उच्च मनोबल, साहस र पदीय कर्तव्यको उत्कृष्ट निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक केसीलाई यो सम्मान दिइएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले उनले एक जटिल अपहरण, शरीर बन्धक तथा ज्यान सम्बन्धी कसुरको अनुसन्धानमा महत्वपूर्ण सफलता हासिल गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जानकारी दिए ।
यस सम्मानको पृष्ठभूमिमा कात्तिक ९ गते झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा भएको ३३ वर्षीय सरोज शर्माको अपहरण, शरीर बन्धक र हत्या सम्बन्धी जटिल घटनाको अनुसन्धान रहेको छ। प्रहरी निरीक्षक केसीले यस घटनाको अनुसन्धानमा अहम् भूमिका निर्वाह गरेका थिए ।
उनले शंका गरिएका व्यक्तिहरूको पहिचान र निगरानी गर्दै अनुसन्धानलाई तीव्र पारेका थिए। कात्तिक १३ गते मेचीनगर नगरपालिका–१३ स्थित सामुदायिक वनमा मृतक शर्माले प्रयोग गरेको जलाइएको गाडी फेला पार्न सफल भए।
घटनाको सूक्ष्म अध्ययनपश्चात् उनले शङ्का गरिएका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भई मृतकको लाश गाडेको स्थान पहिचान गरी उत्खनन गरेका थिए र लाश फेला पारेका थिए। यसले अनुसन्धानलाई थप प्रमाणमुखी बनाउन ठूलो सहयोग पुगेको थियो ।
अनुसन्धानको क्रममा सो घटनालाई लिएर पीडित पक्ष र स्थानीय व्यक्तिहरूले प्रतिवादीहरूको घर तथा सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने प्रयास गरेको अवस्थामा प्रहरी निरीक्षक केसीले आफ्नो नेतृत्वमा टोली परिचालन गरी आक्रोशित भीडलाई नियन्त्रणमा लिएका थिए ।
उनले कुनै पनि धनजनको क्षति हुन नदिई पीडित तथा प्रतिवादी दुवैका परिवारलाई सकुशल उद्दार गरी समाजमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक केसीबाट सम्पादित यी उत्कृष्ट कार्यहरूको उच्च मूल्याङ्कन गर्दै उनलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
View : 201
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved