Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

महाधिवेशनको मुखैमा एमाले नेता आचार्यमाथि भ्रष्टाचार मुद्दा

उद्‌घोष संवाददाता
२१ मंसिर २०८२, आइतवार

विराटनगर । नेकपा (एमाले) भित्र पुरानो भएर पनि पछिल्लो समय भूमिकाबिहीन जस्तै भूमिकामा रहेका सुनसरीका नेता भीमप्रसाद आचार्य आउँदो महाविधेशनमा उपाध्यक्ष लड्ने तयारी गर्दै थिए । 

यद्यपि पार्टीभित्र अध्यक्ष केपी ओली लाइन हाबी भएका बेला उनी खुलेर कुनै कित्तामा उभिन सकेका थिएनन् । ठीक यहीबेला उनको त्यो यात्रामा अवरोध हुनेगरी भ्रष्टाचार मुद्दा लागेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कासम्बन्धी भ्रष्टाचार प्रकरणमा पूर्व तत्कालीन पर्यटनमन्त्री भीम आचार्यविरुद्ध मुद्दा दर्ता भएपछि उनको राजनीतिक यात्रामा अर्को गम्भीर मोड आएको छ । एमाले महाधिवेशनअघि नै मुद्दा दायर भएसँगै उपाध्यक्ष पदको उनको आकांक्षामा कानुनी र नैतिक अवरोध खडा हुन पुगेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा अभियोग दायर गरेको छ । उक्त मुद्दामा ५५ जना प्रतिवादीमध्ये आचार्य पनि एक हुन् । 

कोशीका पूर्वमुख्यमन्त्री आचार्य २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट निर्वाचित भएका थिए । यसअघि नवौं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित भएका थिए । सौराहामा भएको दशौं महाधिवेशनमा भने उनी पदाधिकारी बन्नबाट रोकिएका थिए । 

राजनीतिक रूपमा उनी सुरुदेखि नै माधव नेपाल र झलनाथ खनाल समूहसँग नजिक थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर चुनाव जित्दै आएका आचार्य २०७० सालमा पर्यटनमन्त्री बनेका थिए ।

एमालेमा १० बुँदे समूहमा रहेका उनी पार्टीको प्रदेश इञ्चार्जसमेत बनिसकेका नेता हुन् । 

लामो समय सुनसरी जिल्लाको पार्टी राजनीतिमा प्रभाव जमाएका आचार्य सुनसरी एमालेको सचिवका रूपमा लामो समय सक्रिय रहे । यस पटकको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा पनि उनको प्रभाव देखिएको थियो ।  

पर्यटनमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालसँग उनको सम्बन्ध तनावपूर्ण बनेको थियो । 

स्रोतहरूका अनुसार विमानस्थलको ठेक्का खनाल पक्षले सिफारिस गरेका व्यक्तिलाई नदिएको विषयमा विवाद चर्किएपछि उनी मन्त्री पदबाट हटाइएका थिए । 

अख्तियारले यो प्रकरणमा आचार्यसहित पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । एक चिनिया कम्पनीविरूद्ध पनि मुद्दा दर्ता भएको छ । विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ । 

भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दीपक अमात्य छन् । 

यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । 

अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर विस्मृतिमा गएका छन् । मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् ।

View : 251

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved