विराटनगर । नेकपा एमाले मोरङ ६ नम्बर निर्वाचन क्षेत्रको बिस्तारित भेलामा मंगलबार पार्टीबाट निस्कासित भएका एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाको खोजी भएको छ ।
पार्टीका जिम्मेवार स्थानीय नेताहरूले बैठकमा थापालाई गरिएको कारवाही बारे प्रश्न गरेका छन् । २० वटा वडाको नेतृत्व गर्ने ६ नम्बर क्षेक्रको कार्यत्रममा महानगरका १९ वडाको नेतृत्व गर्ने थापाको खोजी भएको हो ।
थापालाई खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको जनाउँदै कारवाही भएपछि पार्टीका कार्यक्रममा उनको खोजी हुन थालेको छ ।
कार्यक्रममा नेकपा एमाले मोरङ सचिवालय सदस्य मीनकुमार आचार्यले सामाजिक संघ संस्थाका गतिबिधिलाई लिएर पार्टीको लेटरप्याड दुरूपयोग भएको बताए ।
थापालाई जिल्ला अध्यक्ष बाबुराम कार्कीले पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरिएको पत्राचारको विषयमा आचार्यले प्रश्न गरेका हुन् । महेन्द्र मोरङ क्याम्पसमा दुई पटक स्ववियु सभापति भएका थापा एमाले मोरङका चर्चित नेता हुन् ।
थापालाई गरिएको कारवाही बारे एमाले विराटनगर ५ का अध्यक्ष राजेश गिरी र १२ का अध्यक्ष भानु पाठकले पनि जिज्ञाशा राखेका थिए । उनीहरूले थापालाई पार्टीबाटै निश्कासन गरिनुले आगामी निर्वाचनमा पार्टीले क्षति बेहोर्न सक्ने चेतावनी दिएका थिए ।
यस्ता सामान्य विषयलाई लिएर गरिएको कारवाहीले पार्टीको मिसन ०८४ लाई असर पर्ने उनीहरूको सुझाव थियो ।
विराटनगरका १९ वडामा आधा भन्दा बढी समितिका पदाधिकारी थापासँगै पार्टीको जिम्मेवारीबाट बाहिर रहन तयार रहेको बताइएको छ ।
विराटनगर महानगरमा कार्यपालिकामा नेकपा एमालेको बहुमत रहनुमा पार्टीका वडास्तरका नेता कार्यकर्ताको भूमिका बढिरहेको बताइएको छ । आगामी निर्वाचनमा एमालेले मेयर जित्ने लक्ष्य लिए पनि सागर थापालगायतको कारवाहीले एमालेलाई अझ कम्जोर बनाउने वडा पार्टीका अध्यक्षहरूले बताएका छन् ।
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले थापालगायतलाई गरिएको कारवाही बारे छोटो जवाफ दिंदै पार्टीभित्र हुने कारवाही कसैलाई सिध्याउन नभएर सुधार्न गरिने जानकारी दिए ।
पार्टी बिधान बिपरित गरिने गतिबिधिले पार्टीलाई कम्जोर बनाउने बताउदै त्यस्ता गतिबिधि मान्य नहुने खतिवडाको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेले मोरङको इञ्चार्ज तोकेका नेता जीवन घिमिरेलाई स्वागत गरिएको थियो ।
२० वटै वडाका पार्टी अध्यक्ष र सचिव सहभागी कार्यक्रममा नेता घिमिरेले वडास्तरबाट आएका सुझावलाई जिल्ला कमिटीले मनन गर्ने बताए । उनले सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका अपेक्षाबीच पुलको काम गर्ने संयन्त्र बनाइने जानकारी दिए ।
एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जिल्लामा पार्टीका १६ हजार ५ सय सदस्यको यस वर्ष पार्टी सदस्यता नवीकरण भई सकेको जानकारी दिए ।
एमालेका केन्द्रीय सदस्य रामलाल साह, जिल्ला अध्यक्ष बाबुराम कार्की, क्षेत्रीय इञ्चार्ज पर्शुराम बस्नेत, क्षेत्रीय अध्यक्ष मकर बुढाथोकीलगायतले मिसन ०८४ सफल बनाउन पार्टीको वडा कमिटीको सबैभन्दा बढी भूमिका हुने बताए ।
View : 171
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved