विराटनगर । तराईमा धान पूरा पसाएर दाना लाग्न नपाउँदै बाला सुक्ने रोगको प्रकोप तीव्र देखिएको छ । असोज तेस्रो सातासँगै बाला लागेको धानमा दूध नपसी भुष हुने रोग सुनसरी, झापा र मोरङमा तीव्र देखिएको हो ।
विराटनगर–१२ का वडा सदस्य कुशेश्वर राजवंशीले आफ्नो वडामा लगाइएको धानमा बाला सुक्ने रोग धेरै देखिएको र कृषि विज्ञहरु जानकारी गराइ सकेको र यसको नियन्त्रण र रोकथामका बारेमा अहिलेसम्म उपाय नदिएको बताए ।
राजवंशीले भने, ‘धानमा बाला सुक्ने प्रकोप व्यापक छ, कृषि शाखालाई भनिसकेको छु, रोकथामका लागि चाँडै उपाय आउला ।’
झापा दमक नगरपालिका–२ डाकिनीका किसान नारायण श्रेष्ठले धानमा बाला सुक्ने रोग तीव्र रुपमा देखिएको र सो बारेमा नगरपालिकालाई भनी सकेको तर कतैबाट सुनुवाइ नभएको गुनासो गरे ।
यसै सन्दर्भमा किसानको धेरै गुनासो आएपछि दमक नगरपालिकाले सो बारे अनुसन्धान गरी आइतबार सो सम्वन्धमा ‘नगरवासी कृषकहरुमा अत्यन्त जरुरी सूचना’ प्रकाशित गरी धान बालीमा देखिएको बाला कालो हुने (ब्याक्टेरियल पेनिकल ब्लाइट) रोग भएको जानकारी गराएको छ ।
सूचनामा भनिएको छ, ‘हाल नेपालको पूर्वदेखि पश्चिमसम्मकै तराई जिल्लाहरुमा खास गरी मसिनो जातका असोज महिनाभित्र पाक्ने धानहरुमा पसाउँदैदेखि बाला कालो हुने र धानमा दूध नपसी भुस मात्र हुने (ब्याक्टेरियल पेनिकल ब्लाइट) रोग तीव्र रुपमा फैलिएको छ ।’
दमक क्षेत्रका धेरै स्थानहरुमा देखिएकोले सो रोगको रोकथाम तथा नियन्त्रणको प्रयासका लागि दमक नगरपालिका कृषि विकास शाखाबाट बिनाशकारी रोग न्यूनीकरण गर्न विषादी उपलब्ध गराउने भएको जनाएको छ ।
साथै सम्बन्धित कृषकले आफ्नो धानको नमुनासहित ल्याएर विषादी लैजान सो शाखाकी अधिकृत चन्द्रकला भट्टराईले सूचना जारी गरी अनुरोध गरेकी हुन् ।
View : 184
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved