विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर बस्तीमा फैलिंदा एउटा सामुदायिक विद्यालयसहित ७ घर जलेका छन् ।
सोमबार साँझ करीव ५ बजेतिर डढेलो वस्तीमा फैलिंदा छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङ्मामा विद्यालय र घर जलेको जनाइएको छ ।
डढेलोले कक्षा ५ सम्म पढाई हुने बालकन्या आधारभूत विद्यालय समेत जलेको छ । विद्यालयको दुईकोठे कार्यालय भवन जलेर नष्ट भएको जनाइएको छ ।
डिकुवाको अडमे राई, नगेन्द्र राई, हिराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हिराधन राईको घर जलेको वडाध्यक्ष देवेन्द्र राईले बताए । उनका अनुसार डढेलो फैलिएको क्षेत्र अत्यन्तै सुख्खाग्रस्त क्षेत्र रहेको जनाइएको छ ।
गाउँमा पानीको स्रोत नहुँदा आगो निभाउने कुनै उपाय नभएको वडाध्यक्ष राईले बताए । यस क्षेत्रमा चैत ३ गतेयता डढेलो फैलिएको थियो ।
आगलागी नियन्त्रणका लागि सदरमुकाम दिक्तेलस्थित नेपाली सेनाको रणभीम गण मुडे ब्यारेकबाट खटिएको सेनाको टोलीले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले बताए ।
हलेसी तुवाचुङकै वडा नम्बर ७ स्थित महादेवस्थानमा स्थानीय पदमशेर राईको घरबाट सल्किएको आगोले छिमेकी चार घर जलेका थिए । त्यतिबेलाको आगलागीमा सात करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
View : 158
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved