Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

बराह जयन्तीकै दिन बराहक्षेत्र जाने बाटो पहिरोले अवरुद्ध

उद्घोष सम्वाददाता
२३ साउन २०८१, बुधवार

विराटनगर । पहिरो खसेपछि प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र जाने सडक अवरुद्ध बनेको छ । बुधबार बराह जयन्तीकै दिन बिहानैदेखि पहिरो खस्दा तीर्थालुहरू बराहक्षेत्र पुग्न सकेका छैनन् । 

कोसी पुलदेखि बराहक्षेत्र धाम जाने बाटोको दुई ठाउँमा लगातार ढुँगासहितको पहिरो खसिरहेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राईले बराह जयन्तीकै दिन भएकोले तीर्थालुहरू बिहानैदेखि बराहक्षेत्र जानका लागि त्यहाँ पुगेपनि पहिरो खसेर बाटो अवरुद्ध बनेपछि जान नपाएको जानकारी दिए । बिहानैदेखि धनसरे खोला र १७ नम्बर पुलको भीरमा चट्टानसहितको पहिरो खसिरहेको उनले बताए । 

लगातार भीरबाट ढुँगा खसिरहेका कारण पहिरो पन्छाउनका लागि गएको स्काभेटर पनि फर्काउनु परेको प्रहरीको भनाई छ । 

सडक अवरुद्ध हुँदा बराहक्षेत्र धाममा पुगिसकेका तीर्थालुहरू भने त्यही अलपत्र परेका छन् । कोसी नदीमा बाढी आएर जलसतह माथि आएका कारण त्यहाँ मोटरबोट समेत सञ्चालन हुन सकेको छैन । 

बराह जयन्तीका अवसरमा नेपालसहित भारतबाट हजारौं तीर्थयात्रीहरू आज बराहक्षेत्र पुग्ने गर्दथे । तर पहिरोले सडक अवरुद्ध हुँदा दुवैतिर तीर्थालुहरू रोकिएको जनाइएको छ ।

धर्मग्रन्थ अनुसार आजकै दिन भगवान विष्णुले हिरण्याक्ष नामक दैत्यको वध गर्न आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतार लिएका थिए । ऋग्वेद अनुसार हिरण्याक्षले पृथ्वीलाई नै चोरेर पाताल लोकमा लुकाइदिए पछि वराह भगवानले चोरिएको पृथ्वीलाई उद्धार गर्ने क्रममा उनको वध गरेका थिए ।

View : 290

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved