Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

समाचार संकलनमा बोलाएर पत्रकार देवानमाथि आक्रमण

उद्‌घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

विराटनगर : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र वाईसीएलको नेतृत्वमा विराटनगर महानगरपालिकामा तालाबन्दी गर्न गएको समूहले विराटनगरका पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको छ । आक्रमणबाट देवान घाइते भएका छन् ।

आक्रमणमा परेका देवानले आफ्नो देब्रे हातमा चोटपटक लागेको बताएका छन् । उनले बिनाकारण आफूलाई आक्रमण गरेको भन्दै दोषीहरूलाई कारवाहीको माग गरेका छन् ।

समाचार संकलनका लागि पुगेका आवर विराटनगर डट नेटका समाचार संयोजक देवानमाथि हातपात भएको भन्दै नेपाल पत्रकार महासंघ मोरङसहित पत्रकार सम्वद्ध संघसंगठनहरूले भर्त्सना गरेका छन् । 

महासंघका सचिव नेत्र पी अधिकारीले विज्ञप्तिमार्फत घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनबमोजिम कारवाही गर्न माग गरेका छन् ।

बिहीबार दिउँसो रिपोर्टिङका लागि विराटनगर महानगरपालिका परिसरमा पुगेका देवानमाथि आक्रमण भएको घटनाको चारवटा संगठनहरूले भर्त्सना गरेका छन् ।

प्रेस चौतारी मोरङ, प्रेस युनियन मोरङ, प्रेस सेन्टर मोरङ र समाजवादी प्रेस संगठन मोरङले संयुक्त विज्ञप्तिमार्फत आक्रमणको विरोध जनाएका हुन् । आन्दोलनमा उत्रिएका केही व्यत्तिहरूले नै पत्रकार देवानलाई रिपोर्टिङका लागि पटक–पटक फोन गरेर बोलाएको र महानगरपालिका परिसरमा पुगेलगत्तै कठालो समाएर लछारपछार गरेको भन्दै ऊक्त आक्रमण सुनियोजित रहेको दाबी गरेका छन् । 

पत्रकारमाथि भएको आक्रमणको गम्भीर अनुसन्धान गर्न र घटनामा संलग्नको पहिचान गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग उनीहरूले माग गरेका छन् । 

 

View : 216

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved