Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पुसोइमा विद्यार्थी स्वागत र विदाई एकैसाथ

समयमै परीक्षा, समयै रिजल्ट : उपकुलपति
उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) मा इन्जिनियरिङ अध्ययनका लागि विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन पूरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ ।

आइतबार एक भव्य कार्यक्रमका बीच २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जना विद्यार्थीहरूको स्वागत र २०१९ मा भर्ना भएर अध्ययन पूरा गरेका १४८ जना विद्यार्थीलाई विदाई एकैसाथ गरिएको हो । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले विश्वविद्यालयले समयमै परीक्षा लिने र नतिजा समयमै निकाल्दै आएको बताए । उनले इन्जिनियरिङ अध्ययनबाट मुलुकका लागि दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे । 

विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसमा पठनपाठनमात्रै नभएर यस प्रकारका कार्यक्रम पनि आवश्यक रहेको उपकुलपति थपलियाले बताए । उनले विद्यार्थीहरूले क्याम्पसलाई आफ्नो घर ठानेर अब्बल बनाउँदै लैजानुपर्ने बताए ।

विश्वविद्यालयले पनि नयाँ नयाँ कार्यक्रमहरू ल्याउँदै जाने र आगामी दिनमा विद्यार्थीहरूलाई अझ नयाँ शैक्षिक अवसर प्रदान गर्ने उनले बताए ।

‘पठनपाठनका लागि अझ राम्रो मौका प्रदान हुनेछ, भौतिक पूर्वाधार विकासको पनि क्रमैसँग भइरहेको छ’ उपकुलपति प्राडा थपलियाले भने, ‘विश्वविद्यालयले समयमा परीक्षा र समयमा रिजल्ट प्रकाशन गर्दै गएको छ, विद्यार्थीको नतिजा पनि राम्रो हुँदै गएको छ ।’

उनले इन्जिनियरिङतर्फ विश्वविद्यालयबाट हालसम्म २० हजार बढी प्राविधिक जनशक्ति उत्पादन भइसकेको जानकारी दिए ।

पुसोईका इन्जिनियरिङ संकायका निमित्त डीन हेमन्तकुमार गोईतले विद्यार्थीहरूले भविष्यको सपना देखेर अघि बढ्नु पर्ने बताए । उनले आफूलाई पढाउनका लागि अभिभावकले गरेको दुःख सम्झिएर मेहनत गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा विश्वविद्यालयका अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशक उत्तमकुमार रेग्मी, प्राध्यापक संघका उपसभापति जीवन थापा लगायतले शुभकामना दिएका थिए । 

पुसोईका निर्देशक ई. तेजराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत र नृत्य प्रस्तुत गर्दै स्वागत र विदाई कार्यक्रमलाई भव्यता प्रदान गरेका थिए ।

पुसोईमा स्नातक तहतर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्यूनिकेशन एण्ड अटोमेसन र इलेक्ट्रिकल इन्जिनियरिङ अध्यापन हुने गरेको छ ।

त्यस्तै स्नातकोत्तरतर्फ कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, इन्जिनियरिङ म्यानेजमेन्ट, इलेक्ट्रिकल पावर इन्जिनियरिङ र एमई इन अर्थक्वेक विषयमा अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।

 

View : 815

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved