Biratnagar, Morang, Nepal
३ पुष २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

पोखरेल पत्नी अञ्जलाविरुद्ध पक्राउ पुर्जी, प्रहरी भन्छ ‘हामीलाई केही जानकारी छैन’

उद्घोष सम्वाददाता
३ पुष २०८१, बुधवार

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी संसद्का लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कोइरालासहित २६ जनाविरुद्ध मंगलबार मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

‘अञ्जला कोइरालासहित २६ जनाविरुद्ध पक्राउ पुर्जी  जारी भएको छ’ मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने ‘मंसिर २७ मा अभियोग पत्र दायर भएको थियो । सोही अनुसार पक्राउ पुर्जी जारी भएको हो ।’ 

इलाका प्रहरी कार्यालय रंगेलीले यो विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो । 

सोही आधारमा सरकारी वकिलको कार्यालय मोरङले पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको उमागौरी सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जला  मोरङ २ का एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलकी पत्नी हुन् । त्यस्तै सहकारीका अध्यक्ष रौनियार कर्सियाका स्थानीयबासी हुन् । उनी एमालेका कार्यकर्ता र  कुनै बेला सो क्षेत्रमा ऋषिकेश पोखरेलका विश्वासपात्र पनि थिए ।

कुनै बेला पत्नी सञ्चालक सदस्य रहेको, अध्यक्ष रौनियारसंग सांसद पोखरेलको राम्रो व्यक्तिगत र राजनीतिक सम्बन्ध भएकै कारण सहकारीबाट पीडितहरू रौनियारलाई पोखरेलको संरक्षण हुन सक्ने आशंका व्यक्त गर्थे । तर पोखरेलले यसलाई अस्वीकार गर्दै आएका छन् । 

रंगेली प्रहरीले अनुसन्धान गरेर दिएको अन्तिम प्रतिवेदनमा भने अञ्जला पनि दोषी भएको र २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ । 

यो सहकारी ठगी प्रकरण बाहिर आएपछि सभापति पोखरेल पत्नी अञ्जलाले सहकारीको गतिविधिबारे आफूलाई केही थाहा नभएको र यसको सबै जानकारी अध्यक्ष रौनियारलाई हुने बताएकी थिइन् । उनले सहकारीबाट आफै पीडित रहेको बताएकी थिइन् । अध्यक्ष रौनियार फरार छन् भने अन्जला पनि पछिल्लो समय फरार नै छन् ।

मोरङ प्रहरीले भने मंगलबार साँझसम्म आफूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको बारे जानकारी नभएको बताएको छ । ‘अहिलेसम्म हामीलाई यसबारे केही जानकारी आएको छैन, पत्र प्राप्त भएको छैन’, जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद  चिमरियाले मंगलबार साँझ भने ‘यसबारे अनुसन्धान गर्ने रंगेली प्रहरीलाई सोध्नुपर्छ ।’ 

एसपी चिमरियाले यसो भनेपछि उद्घोषले इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार खड्कालाई सोधेको थियो । उनले यसबारे आफूलाई केही जानकारी नभएको बरु जिल्ला प्रहरीमा सम्पर्क गर्न भनेका थिए ।

View : 42

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved