विमानमा यात्रुहरूको हेरचाह गर्ने विमान चालक दलका सदस्यहरू(एयर क्याबिन क्रु) अन्तर्गत पुरूष र महिला दुवै फ्लाइट अटेण्डेण्ट (विमान परिचारिक-परिचारिका) हुन सक्छन् । पुरूष फ्लाइट अटेण्डेण्टलाई ‘होस्ट’ र महिला फ्लाइट अटेण्डेण्टलाई ‘होस्टेस’ का साथै उनीहरूलाई ‘एयर स्टिवार्ड’ र ‘एयर स्टिवार्डेस’ भनिन्छ । प्रमुख फ्लाइट अटेण्डेण्टलाई ‘पर्सर’ भनिन्छ जसले विमानभित्रका सबै क्याबिन क्रुको व्यवस्थापनका साथै प्रशासनिक कार्य पनि गर्दछ ।
यो करियर ग्लामरसका साथै अन्तर्राष्ट्रिय भ्रमण, नयाँनयाँ ठाउँसित परिचित हुने र स्वदेश-विदेशका अति विशिष्ठ व्यक्तिहरू (भीआईपीहरू) सित भेट्न पाउने शानदार अवसर पनि हो । आकर्षक व्यक्तित्व, राम्रो सञ्चार क्षमता अर्थात् कम्युनिकेशन स्किल्स (कम्तीमा अंग्रेजी र नेपाली) र मेडिकल फिटनेस राम्रो भएका १२ कक्षा उत्तीर्ण युवतीहरूले यस क्षेत्रमा आवेदन दिन सक्छन् । स्नातक नै गर्ने हो भने, फ्लाइट अटेण्डेण्ट कोर्षका लागि आतिथ्य, पर्यटन, जनसम्पर्क, वाणिज्य, सञ्चार, नर्सिङ, मनोविज्ञान, समाजशास्त्र, मानवशास्त्र, प्रहरी, अग्नी विज्ञान र शिक्षाशास्त्र जस्ता जुनै विषयमा १२ कक्षा पढेको र १८-२६ वर्ष उमेरको हुनु पर्दछ ।
काठमाडौमा ग्लोबल विङ्स प्रालि., फ्लाइटटेक इन्टरनेशनल प्रालि र एयर होस्टेस इन्स्टिच्युट प्रालिले एयर होस्टेसका लागि प्राथमिक चिकित्सा तालिम, ग्राउण्ड स्टाफ ह्याण्डलिङ तालिम, आगो निभाउने, भोजन तथा पेय पदार्थ, अन्तर्राष्ट्रिय एयर होस्टेस तालिम, हेरचाह र व्यक्तित्व विकास, फ्यामिलियराइजेशन इन्प्फ्लाइट लाइट एक्सपेरियन्स, स्विमिङ एण्ड डिचिङ, आधारभूत एयर होस्टेस तालिम दिने गर्दछ ।
तालिमका अतिरिक्त क्याबिन क्रुका लागि प्रमाणपत्र र डिप्लोमा इन एयर होस्टेस तालिम कोर्षहरू, बीएस्सी इन एयर होस्टेस तालिम, बीएस्सी एभिएसन, ब्याचलर अफ हस्पिटालिटी एण्ड ट्राभल म्यानेजमेण्ट, ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेण्ट, बीबीए, एमबीए इन एभिएसन, एमबीए इन एभिएसन म्यानेजमेण्ट जस अन्तर्गत् व्यापार प्रशासन, आतिथ्यता, उड्डयन, मार्केटिङ, पर्यटन आदि विषयहरू हुन सक्दछ । एयर होस्टेस (विमान परिचारिका) को शैक्षिक योग्यताभन्दा बढी शारीरिक बनावट (फिगर) महत्वपूर्ण हुन्छ ।
परिचारिकाहरूको मुख्य काम
विमानमा काम गर्ने पाइलटहरू ककपिट क्रु र विमान परिचारक (पुरूष) र विमान परिचारिका (महिला) एयर होस्टेसलाई सामूहिक रूपमा क्याबिन क्रु भनिन्छ । एयर होस्टेसलाई फ्लाइट अटेण्डेण्ट वा एयर स्टिवार्डेस पनि भनिन्छ भने नेपालीमा ‘व्योम बाला’ भत्र सकिन्छ । अधिकांशलाई लाग्न सक्दछ कि एयर होस्टेसको काम केवल उडान अवधिभर मात्र हुन्छ, विमानबाट यात्रु निस्केपछि एयर होस्टेसको ड्युटी सकिन्छ, तर त्यस्तो हुँदैन । विमानको उडान शुरू हुनुअघिदेखि नै एयर होस्टेसको काम शुरू हुन्छ र प्mलाइटको यात्रा पूरा भएपछि पनि एयर होस्टेसको ड्युटी चालू रहन्छ ।
एयर होस्टेसले गर्ने कार्यहरू:
विमान चढ्ने यात्रुको स्वागत गर्नु, उनीहरू बस्ने सिट देखाइदिनु, सामान राख्न मद्दत गर्नु, विमानको ढोका बन्द गर्नु खोल्नु, उडानअघि ब्रिफिङ्ग गर्नु, उडान र अवतरणको सूचना दिनु, अशक्त असक्षमहरूलाई सिट बेल्ट बाँध्न मद्दत गर्नु, चकलेट-कपास वितरण गर्नु, कम्पनीले व्यवस्था गरेको खानेकुरा तथा पेय पदार्थ वितरण गर्नु, यात्रुलाई आवश्यक भए तिनको सीटछेउ पुग्नु, बिरामी यात्रुको हेरचाहमा मद्दत गर्नु, प्राथमिक उपचारका सामग्री दिनु, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नु, टर्बुलेन्स (विमान हल्लिने) तथा आपत्कालको बारेमा बताउनु, सुरक्षा प्रक्रियाको बारेमा जानकारी दिनु आदि ।
हरेक उडान अघि यात्रुलाई सिटको पेटी बाँध्न, आपत्कालीन अवस्थामा के गर्ने ? अक्सिजन मास्क कसरी लगाउने भनेर प्रदर्शन गरी सिकाउनुपर्ने दायित्व अन्तर्राष्ट्रिय उड्डयन संगठनको नियमले क्याबिन-क्रु को हो । उनीहरूले अर्को उडानको तयारीअघि सरसफाई लगायत विमानभित्र रिस्टोकिङ गराउँछन्, ताकि पुनः चढ्ने यात्रुले सबथोक व्यवस्थित पाओस् ।
उनीहरू उडानको पृष्ठपोषण तयार गर्छन्, त्यसका अतिरिक्त कागजपत्र तयारी पनि गर्छन् र यात्राको क्रममा विशेष जे भएको छ, त्यसको प्रतिवेदन तयार गर्छन् । पाइलटहरूका साथी बनेर यात्रु सत्कारमा सदैव तत्पर रहने विमान परिचारिका (एयर होस्टेस) हरूको जीवन खासै सहज नभए पनि आकर्षक भने देखिन्छ । राम्रो देखिनु पर्ने, शरीर तन्दुरूस्त राख्नुपर्ने, खानपिन, सरसफाइ, यात्रुको रेखदेख, परामर्श, आपत्कालिन सेवादेखि रातबिरात उड्नुपर्ने अत्यन्तै चुस्त र प्राविधिक सेवा प्रदान गर्ने काम क्याबिन क्रुको हो । उनीहरूलाई आम रूपमा हेर्ने दृष्टिकोण राम्री, ग्ल्यामरस, सधैँ उड्याउड्यै, कस्तो सजिलो हाईफाई काम भत्रे छ ।
यात्रुहरूलाई यो हिमाल यति उचाइको भनेर नेपालको पर्यटन प्रवर्धन गर्ने उनीहरू खासमा ध्वजावाहक संस्थाको राजदूत नै हुन् । अधिक काम, मानसिक थकान, सहकर्मीबाट विभेद र कतिपय अवस्थामा यौन दुर्व्यवहार पनि भोग्नुपर्दा उनीहरू दिक्क मान्छन् । म्यासेञ्जर, मोवाइलमा यौनजनक सन्देश पठाएर हैरान पार्ने, ‘नाइट स्टप’ बस्दा पाइलट सहकर्मीको दुर्व्यवहारका कुराहरूलाई लिएर वायुसेवा कम्पनीहरूको ‘गोप्य रिपोर्टिङ’ प्रणालीमा गुनासो गर्दा गुनासो कसले गरेको हो थाहा भैहाल्ने हुँदा त्यसपछि झन पेलान हुन्छ । श्रम ऐन अनुसारको बिदा पनि पाइँदैन । उडान नभए पनि कार्यालयमा बोलावट हुन्छ ।
गुनासो गर्नेलाई दण्डित गर्न ‘पनिसमेण्ट फ्लाइटकाे अभ्यास रहेको छ । यो भनेको कम्पनी वा पाइलटलाई कुनै परिचारिका मन परेन भने थर्काउने र उल्टै चेताउने उद्देश्यले लगातार उडानमा राखिदिने गरिन्छ । केही पाइलटहरूले उडानका क्रममा ककपिटमा बोलाइरहने, केरकार गर्ने, दोहोर्याइ, तेहेर्याइ पानी मगाउने गरेका हुन्छन् । जब लुक्लाको सिजन शुरू हुन्छ, उनीहरूलाई लिन बिहान साढे ४ बजे गाडी आइपुग्छ । त्यसका लागी उनीहरू कम्तीमा राति. साढे ३ बजे उठ्नु पर्छ । झिसमिसेमै विमानस्थल पुग्नुपर्छ, ६ बजे उडान हुन्छ । दिनभरि थुप्रै टेकअफ (जमिन छाडेर आकाशतर्फ उड्ने), ल्याण्डिङ (अवतरण) गर्नुपर्छ ।
भारी सामान चेक–इन–ब्यागेजमा हाल्नु नै उपयुक्त
उडानमा निश्चित नगद मात्रै लग्न पाइन्छ साथै ह्याण्ड ब्यागमा ७ देखि १४ केजीसम्मको वजनको सामान राख्न पाइन्छ । बोर्डिङ पास लिँदाको बखत लग्न पाउने चेक-इन-ब्यागेजको वजन तोकिएको हुन्छ । तोकिएको वजनभन्दा बढीको सामान लगेमा बढी वजनको प्रति केजीको हिंसाबले रकम असुली गरिन्छ । फ्लाइटमा यात्रा गर्दा क्लोरिन, एसिड, ब्लिचिङ पाउडर, चुक आदि लग्न मनाही छ । मदिरा भने लग्न पाइन्छ ।
फ्लाइटमा यात्रुाको प्रत्येक आवश्यकतामा मद्दत गर्नका लागि एयर होस्टेसहरू नियुक्त भएका हुन्छन् भत्रे यात्रुको सोच हुनसक्छ तर, त्यस्तो हुँदैन । यदि यात्रुले फ्लाइटमा दैनिक रूटिनका सामान भएको ब्याकप्याक वा हाते झोला लिएर गएका छन् र त्यसलाई आफ्नो सीट माथि बनेको क्याबिन, र्याकमाथि राख्नका लागि एयर होस्टेसलाई भन्दा उनीहरूले इन्कार गरिदिन सक्छन् किनभने त्यो काम उनीहरूको ड्युटी म्यानुअलमा हुँदैन । यो मान्यता छ कि जुन सामान यात्रु स्वयंले बोक्न सक्दैनन् त्यो एयर होस्टेसले बोकी देलान् भत्रे अपेक्षा गर्न हुँदैन । चेक-इन-काउण्टरबाट विमानसम्म र सिढी चढी विमानभित्र यात्रु स्वयंले यदि आफ्नाे ब्याकप्याक, हाते झोला बोक्न सक्दैनन् भने दुब्ली पातली एयर होस्टेसले बोकी दिनुपर्छ भत्रे छैन । गरूङ्गो ब्यागलाई चेक-इन-ब्यागेजमा हाल्नु नै उपयुक्त हुन्छ । एयर होस्टेसले मद्दत गर्न त सक्छन् तर आवश्यक छैन कि उनले यात्रुको कुरो टेरोस् ।
विदेश जाँदा एयर होस्टेसको भिजा
एयर होस्टेस पनि क्रु मेम्बरको अंग हुन्छिन् । यस्तोमा विदेश आउ-जाउ गर्ने फ्लाइटमा एयर होस्टेसलाई पनि भिजा (प्रवेशाज्ञा) को आवश्यकता पर्छ । तर, एयर होस्टेसको लागि भिजाको नियम अलिक फरक हुन्छ । केही मुलुकमा क्रु मेम्बर्सको लागि क्रु भिजा जारी गरिन्छ जुन नर्मल भिजाभन्दा फरक हुन्छ । जवकी केही मुलुकमा क्रु मेम्बर्सको लागि जनरल डिक्लेरेशनको प्रक्रिया अपनाइन्छ जस अन्तर्गत विमान कम्पनीले गन्तव्य मुलुकलाई आफ्नो क्रु मेम्बर्सको नामको जानकारी दिनु आवश्यक हुन्छ ।
विमानमा सिक्रेट रूम
लामो दूरीको फ्लाइटमा काम गर्ने एयर होस्टेस र क्रु मेम्बर्सले १२-१४ घण्टासम्म खट्नुपर्दा थकानको कारणले आराम गर्न, ताजगी हुनलाई विमानको पछिल्लो भागमा ओछ्यानसहितको छुट्टै कोठा हुन्छ जसलाई चेञ्जिङ, मेकअप रूमको रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।
View : 139
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved