विराटनगर, २१ मंसिर : विराटनगर महानगरपालिका– ७ सातघुम्ती रोडमा रहेको कवाडीमा बुधबार अपरान्ह भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । उपचारका लागि नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएका चारजना घाइतेमध्ये एकको उपचारकै क्रममा मृत्यु भएको हो ।
दुई जनाको भने बुधबार नै निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कवाडी सञ्चालक परिवारकै अन्दाजी ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो हस्पिटलमा मृत्यु भएको हो ।
त्यसैगरी कवाडीभित्रै जलेर मृत्यु भएकी एक महिलाको पनि सनाखत भएको छ । मृतक महिला विराटनगर– ६ की सुशीला पासवान भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले घटनास्थलमा तत्काल नामथर वतन नखुलेको महिला मृत अवस्थामा फेला परेको भनिएकोमा मृतक ५५ वर्षीया सुशीला पासवान रहेको जानकारी दिए ।
बुधबार सार्वजनिक गरेको प्रारम्भिक घटना विवरणमा सुशीला पासवान गम्भीर घाइते भनिए पनि उनी विराटनगर– ६ कै ६५ वर्षीया सुनिता कामत रहेको खुल्न आएको उनले बताए । प्रवक्ता दाहालका अनुसार सुनिताको पनि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार साँझ साढे ८ बजेतिर मृत्यु भएको छ ।
उपचारका लागि किर्तिपुर बर्न अस्पताल पुर्याइएका विराटनगर–६ बस्ने अन्दाजी ६० वर्षीया रीता सरदारको अवस्था गम्भीर छ । उपचारकै क्रममा रहेका विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका– ६ की ३० वर्षीया पिंकी कामतको अवस्था भने सामान्य रहेको जनाइएको छ । घाइते सबैको उपचार जारी रहेको प्रहरीको भनाइ छ ।
View : 201
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved