विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारी र विद्यार्थी भेला पारेर बिहीबार विराटनगरमा संविधान दिवस मनाउँदा राजनीतिक शक्तिहरूलाई भने पूरै वेवास्ता गरेको छ ।
महिना दिन अघिदेखि संविधान दिवस मनाउने तयारीमा लागेको सरकारले अन्तिम समयमा मात्रै निम्ता गरेपछि राजनीतिक दलका मुख्य नेताहरूले कार्यक्रममा अनुपस्थित रहेर सरकारी कार्यशैलीप्रति असन्तोष प्रकट गरेका छन् ।
‘प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी पहिल्यैदेखि गरेको थियो । संविधान दिवस असोज ३ मा पर्ने तथ्यबारे सरकार जानकार नहुने कुरै भएन’, कोशीका एक जना पूर्व मुख्यमन्त्रीले भने, ‘तर, त्यतिधेरै अघिदेखि निर्धारित कार्यक्रमको मौखिक निम्तो भने बुधबार साँझ मात्रै पाइयो । नआए पनि हुन्थ्यो भने जसरी गरिएको निम्ता पाएपछि गैएन ।’
तीनै जना पूर्व मुख्यमन्त्रीहरूले निम्ता ढिलोगरी आएको, आफ्नो अन्तै कार्यक्रम रहेको बताए । प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले पनि जानकारी ढिलो पाएको, आफm्नो कार्यक्रम अन्तै रहेका कारण संविधान दिवसको कार्यत्रममा उपस्थित हुन नसकेको जानकारी दिएका छन् ।
संविधान दिवसका दिन हरेक वर्ष प्रभातफेरीसहितका केही परम्परा धान्ने कार्यक्रम गरेर औपचारिकता पूरा गर्न मात्रै खोज्ने सरकारले यसपटकको संविधान दिवसमा कोशीमा सत्ता सहयात्री दल नेपाली कांग्रेसकै पनि साथ पाउन सकेन ।
कोशीमा अहिले नेकपा एमाले र नेपाली कांग्रेसको सयुक्त सरकार छ । एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । एमालेको सत्ता सहयात्री दल कांग्रेस कोशीमा दुई दुई जना पूर्व मुख्यमन्त्री छन् ।
दलका नेता उद्धव थापा र केदार कार्की दुबै जना बिहीबारको कार्यक्रममा अनुपस्थित रहे । एकीकृत समाजवादीका नेता एवम पूर्व मुख्यमन्त्री राजेन्द्र राई पनि कार्यक्रममा देखिएनन् । विराटनगरको शहीद रंगशाला अगाडिबाट निकालिएको प्रभातफेरीमा मुख्यमन्त्री कार्की र उनका सरकारका मन्त्रीहरूबाहेक फ्रदेशका राजनीतिक शक्तिहरू गयल थिए ।
‘सरकारले निम्ता गर्नु अघि नै मेरो अन्यत्रै कार्यत्रम तय भैसकेको थियो’, तीनै जना पूर्व मुख्यमन्त्रीहरूको जवाफ एकै थियो, ‘पूर्व निर्धारित कार्यक्रम भएकाले आउन पाइएन ।’ यसको अर्थ पनि महिना दिन अघिदेखि नै संविधान दिवस मनाउने तयारीमा रहेको सरकारले राजनीतिक शक्तिहरूलाई भने सबैभन्दा अन्तिममा खबर गरेको देखिन्छ ।
सोही कारण बिहीबार बिहान प्रभातफेरीपछि आदर्श माविको प्राङ्गणमा आयोजित औपचारिक समारोहमा पनि राजनीतिक शक्तिका नेताहरू देखिएनन् । अहिलेको प्रदेश सभामै तीन तीन जना पूर्व मुख्यमन्त्रीहरू छन् ।
थापा र कार्कीबाहेक एकीकृत समाजवादीका राजेन्द्र राई पनि प्रदेश सभा सदस्य हुन् । यी तिनै जना पूर्व मुख्यमन्त्रीहरू बिहीबार विराटनगर आसपास नै थिए । तर, सरकारले बुधबार पनि अबेर मात्रै खबर गरेको उनीहरूको सचिवालयले जानकारी दिएका छन् ।
प्रदेशस्थित दलका नेताहरूले मुख्यमन्त्री कार्कीले बोल्दा आफू संयुक्त सरकारको मुख्यमन्त्री भने पनि व्यवहारमा भने ठिक उल्टो व्यवहार देखाएको भन्दै गुनासो गरेका छन् ।
‘वर्तमान सरकारका मुख्यमन्त्री परम्परा धान्नेबाहेकको अर्को स्तरमा उक्लिनै सकेनन् । कर्मचारी भेला पारेर संविधान दिवस मनाउने कर्ममा मात्रै सीमित भए’, कोशीका एकजना पूर्व मुख्यमन्त्रीले भने, ‘कार्यक्रममा निम्ता पनि नआए पनि हुन्थ्यो भने जसरी ढिलो गरियो । सायद मुख्यमन्त्री मञ्चमा एक्लै बस्न रूचाएर यस्तो भएको होला । संविधान दिवसमै दलहरूलाई यो तहको बायस्ड (पूर्वाग्रह) जरूरी थिएन ।’
संविधान दिवसको औपचारिक कार्यक्रममा प्रदेशका राजनीतिक शक्तिहरू अनुपस्थित रहेको सन्दर्भलाई कोशीका सांसदहरूले पनि राम्रो मानेका छैनन् ।
‘संविधान दिवस मनाउन मुल समिति बनाएको कुरो पहिल्यै आएको थियो तर त्यो समितिले के गर्यो अब सदनबाट नै जवाफ खोजिनेछ’, कांग्रेसका एक सांसदले भने, ‘संविधान दिवसको खर्च विवरण पनि खोज्नुपर्ने देखियो ।’
संविधान निर्माण गर्ने र कार्यान्वयन गर्ने प्रमुख पात्र राजनीतिक दलहरू भएको तर कोशी सरकारले त्यो सत्य भुलेर वेवास्ता गरेको नेताहरूको भनाइ छ ।
‘संविधान निर्माणदेखि कार्यान्वयनसम्मका लागि सबैको भूमिकाको महत्व छ’ ती पूर्व मुख्यमन्त्रीले भने ‘तर, अहिलेको सरकारले त्यो तथ्य बुझेन वा बुझ्न चाहेन । कर्मचारी मात्रै भेला गरेर दिवस मनाउने सरकारी शैलीले राम्रो अभ्यासको संकेत गर्दैन ।’
View : 165
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved