विराटनगर । मोरङको कटहरी गाउँपालिकाका मुडियारी समुदायलाई परम्परागत सांगितक वाद्य–बादन वितरण गरिएको छ ।
मुडियारी समुदायको संस्कृति संरक्षण तथा प्रबर्धन गर्ने उद्देश्यसहित कटहरी–१ का समुदायका अगुवाहरूलाई वाद्य वादन उपलब्ध गराइएको हो ।
सम्बन्धित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र वडा नम्बर १ का वडाध्यक्ष हरिनारायण राजवंशीले समुदायका अगुवाहरूलाई सांस्कृतिक पहिचानसँग जोडिएको वाद्य वादन हस्तान्तरण गरे ।
उनीहरूलाई मुडियारी समुदायले प्रयोग गर्ने डिगा, मन्दर, दुपरिया र झुनझुनिया बाजाहरू प्रदान गरिएको थियो ।
ती बाजाहरू समुदायले कर्माधर्मालगायत आफ्ना साँस्कृतिक चाडपर्वसहित पूजाआजा र विवाहमा प्रयोग गर्ने गरेको कटहरी १ का सुशील मुडियारीले जानकारी दिए ।
मुडियारी समुदाय आर्थिक, सांस्कृतिक, शैक्षिक सहितका समाजको मूल प्रवाहको विविध क्षेत्रमा पछि परेकाले उनीहरूको उत्थानका लागि पालिकाले काम गरिरहेको कटहरीका अध्यक्ष चौधरीले बताए ।
कटहरी–१ नम्बर वडा कार्यालयको ५० हजार र गाउँपालिकाको २५ हजार समेतगरि ७५ हजार बजेटबाट मुडियारी समुदायलाई हाल चारथान विभिन्न वाद्ययन्त्र उपलब्ध गराइएको तथा थप केही वाद्ययन्त्र छिट्टै उपलब्ध गराइने वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए ।
कटहरी–१ मा झण्डै ५० घरपरिवार तथा वडा नम्बर ५,६ र ७ मा समेत गरी झण्डै ७ सय मुडियारी परिवारको बसोबास रहेको गाउँपालिकाले जनाएको छ । ती मध्ये ५ नम्बर वडामा सबैभन्दा बढी झण्डै ४ सय घर परिवारको बसोबास रहेको जनाइएको छ ।
गाउँपालिकाले यसअघि वडा नम्बर ५ का बासिन्दालाई समेत यस प्रकारको वाद्यवादन उपलब्ध गराइसकेको जनाएको छ ।
View : 378
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved