Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

उर्लाबारी आगलागी : २५ जनालाई थप उपचारका लागि पुर्‍याइयो काठमाडौं

उद्घोष सम्वाददाता
२८ कार्तिक २०८०, मङ्गलवार

विराटनगर, २८ कात्तिक : उर्लाबारी नगरपालिका–७ आइतबार राती भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका प्रहरीसहित २८ जना मध्ये २५ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । स्थानीय दिपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी नियन्त्रणका क्रममा आगोको लप्काले जलेर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पुर्याइएको हो ।

घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । सोमबार र मंगलबार गरी हालसम्म २५ जनालाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट किर्तिपुरस्थित वर्न हस्पिटल लगिएको जनाइएको छ । सोमबार १४ जनालाई सेनाको स्काई ट्रक र एकजनालाई नियमित उडानबाट थप उपचारका लागि काठमाडौ लगिएको हो ।

त्यसैगरी आज मंगलबार थप १० जनालाई उपचारका लागि काठमाडौं लगिएको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले जानकारी दिए ।

सुजन सेन्दाङ, लाल बहादुर लिम्बु, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बु, रुकुम बहादुर कार्की, नविन थापा, हेमकुमार दाहाल र करण संग्रौलालाई मंगलबार काठमाडौं लगिएको जनाइएको छ । उनीहरु सवै उर्लाबारी नगरपालिका–७ का स्थानीय हुन् । 

नेपाली सेनाको स्काई ट्रकबाट उनीहरुलाई थप उपचारका लागि काठमाडौंस्थित वर्न हस्पिटल किर्तिपुर लगिएको जनाइएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मंगलबार विर्तामोडको विएण्डसी हस्पिटलमा उपचाररत रहेका १० जनालाई थप उपचारका लागि काठमाडौं लैजान आफैं त्यहाँ पुगेर समन्वय गरेका थिए । उनले घाइतेहरुको स्वास्थ्य अवस्था समेत बुझेका थिए ।

घाइतेहरु मध्ये विराटनगरका अस्पतालमा उपचाररत १४ जनालाई सोमबार सेनाकै स्काई ट्रकबाट काठमाडौं लगिसकिएको छ ।

ज्वेलर्सको सटरभित्र आगलागी भइरहेको अवस्थामा नियन्त्रणका लागि सटर खोल्ने क्रममा त्यहाँभित्र रहेका ग्यास सिलिन्डर बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङ, प्रहरी जवान दिल कुमार आचार्य र ऋदिकिरण राईसमेत घाइते भएका थिए ।

उनीहरु मध्ये गम्भीर अवस्थाका प्रहरी सहायक निरीक्षक प्रधान, प्रहरी जवान आचार्य र राईसहित १४ जनालाई काठमाडौँ सोमबार काठमाडौं लगिएको जनाइएको छ ।

उनीहरुको उपचारका लागि आवश्यक सवै व्यवस्था तत्काल गर्न मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवसहित मोरङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल लगायतको छलफल भएको थियो ।

मोरङको विराटनगरस्थित विभिन्न अस्पतालहरूमा उपचाररत घाइतेहरु मध्ये थप उपचारका लागि  कुमार तामाङ, सलिम मन्सुरी, दिनेश शर्मा, शिवकुमार बिक, दिपेन्द्र कार्की, रामेश्वर मरिच, विशाल बस्नेत, कौशल गुरुङ, नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बूलाई काठमाडौँ लगिएको जनाइएको छ ।

उनीहरु मध्ये तामाङको अवस्था बढि गम्भीर रहेको उर्लाबारीका मेयर खरेलले बताए ।

View : 341

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved