विराटनगर । विगतका संस्करणमा अस्वभाविक नोक्सानी देखाइँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करणमा करिब ३ लाख रुपैयाँ नाफा भएको देखाइएको छ ।
प्रतियोगिता सम्पन्न भएको आठ महिनापछि नवौं संस्करणको गोल्डकप प्रतियोगिताका संयोजक नवीन रिजालले बिहीबार आम्दानी खर्चको यथार्थ विवरण सार्वजनिक गर्दै प्रतियोगिता नाफामा गएको देखाएका छन् । उनले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको नाफा नोक्सान विवरणमा २ लाख ९४ हजार १७४ रुपैयाँ ३४ पैसा नाफा भएको देखाइएको हो ।
गोल्डकप प्रतियोगितामा टिकट बिक्रीबाट २३ लाख ९ हजार ५००, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार ९९२, विभिन्न प्रायोजक संस्थाबाट ५० लाख १८ हजार ७४० रुपैयाँ प्रमुख आम्दानीको स्रोतमा देखाइएको छ ।
प्रतियोगितामा कूल आम्दानी १ करोड ७ लाख २१ हजार १८७ रुपैयाँ रहेको र १ करोड ४ लाख २६ हजार ८१२ रुपैयाँ ६६ पैसा खर्च भएको संयोजक रिजालले बताए ।
नवौं संस्करणको प्रतियोगिता सञ्चालनका लागि २८ दिनको समय पाएको बताउँदै संयोजक रिजालले अनेकौं कठिनाईका वावजुद प्रतियोगिता सम्पन्न गरेर नाफासमेत आर्जन गरेको बताए । तर, उनले सोचे जस्तो गरी प्रतियोगिता सम्पन्न गर्न भने विभिन्न क्षेत्रबाट राजनीतिक रुपमासमेत असहयोग भएको गुनासो पोखे ।
‘हामीले जिम्मेवारी पाएर २८ दिनभित्र प्रतियोगिता सम्पन्न त गर्यौं तर विराट गोल्डकपमा राजनीति धेरै भयो, विभिन्न संस्थाबाट असहयोग भयो, राजनीति धेरै हुने रहेछ’ रिजालले भने, ‘हामीलाई असफल बनाउन धेरै प्रयास भयो, यस्तै हुँदै गयो भने विराटनगरमा फुटबल प्रतियोगिता गर्न धेरै गाह्रो हुन्छ ।’
संयोजक रिजालले आफ्नो ठाउँको प्रतियोगिता हो भन्दै टिकट नकाट्ने र निःशुल्क ‘पास’ माग्ने परम्पराले समेत विराट गोल्डकपको भविष्यमाथि प्रश्न उब्जिएको बताए ।
साथै, विराटनगर भित्रको सबैभन्दा ठूलो प्रतियोगिता हुने मैदानमा जस्तोसुकै पनि प्रतियोगिता हुन थालेका कारण प्रतियोगिताको महत्व घटाएको दाबी गरे ।
‘फाइनल खेलमा हामीले अठार सय पास बाँड्नु प¥यो, जति पटक पास वितरण गरेपनि यहाँ कसैको चित्त बुझाउन सकिएन’ संयोजक रिजालले भने, ‘टिमभित्र सबैले मेहनत गर्नुभयो, तर पास बाँड्नु हाम्रो ठूलो बाध्यता बन्यो ।’
नवौं संस्करणका लागि कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट पर्याप्त सहयोग नपाएको रिजालले बताए । उक्त प्रतियोगिता भव्य रुपमा समापन हुँदा उपाधि भने चर्च ब्वाइजविरुद्ध थ्री स्टार क्लबले उचालेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमालले आयोजकको तर्फबाट समयमै प्रतियोगिताको मिति तय भएर एन्फालाई जानकारी गराएको खण्डमा प्रतियोगिता खेल्नका लागि विभिन्न क्लबहरूले अझ उत्साहका साथ टोली र खेलाडी उतार्न सक्ने बताए ।
अघिल्लो आठौं संस्करणको प्रतियोगिता विराट गोल्डकपको स्वामित्व रहेको विराट गोल्डकप फुटबल ट्रष्ट आफैंले आयोजना गरेको थियो । उक्त प्रतियोगितामा कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले पर्याप्त बजेट दिने आश्वासन दिएपनि ट्रष्टले प्रदेश सरकारबाट बजेट पाउन सकेन ।
विभागीय सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्कीबीच खर्च व्यहोर्ने र भुक्तानी लगायतका प्रक्रियामा विवादसमेत भएको थियो ।
सोही कारण आठौं संस्करणको प्रतियोगिताको आम्दानी खर्चको यथार्थ विवरण अहिलेसम्म सार्वजनिक हुन नसकेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । ट्रष्टका पदाधिकारीहरूले अनौपचारिक रुपमा भने झण्डै २२ लाख रुपैयाँ घाटा भएको दाबी गर्दै आएका छन् ।
सातौं सिजनको प्रतियोगिता भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफैं संयोजक रहेर सञ्चालन गरिएको थियो ।
उक्त प्रतियोगिताको व्यवस्थापन गरेको विराटनगर सिटी फुटबल क्लवका सञ्चालक एवं सहसंयोजक शुभाशिष कोइरालाले झण्डै ८७ लाख रुपैयाँ घाटा भएको खर्च विवरण सार्वजनिक गरेका थिए । प्रतियोगिताको उपाधि नै विराटनगर सिटी क्लवले जितेका कारण सहसंयोजक कोइरालाले घाटा आफैंले व्यहोर्ने घोषणासमेत गरेका थिए ।
रिजालले खर्च सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडा र वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी लगायतको उपस्थिति रहेको थियो ।
View : 269
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved