विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोप्वाइन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई प्रहरीले पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेस्थित एसएस एफएमको हाता बाहिर माघ ६ गते दिउँसो दिलकुमारी मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले इलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान–२ देशीलाइनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो ।
आकाशले दिल कुमारीको बञ्चरो प्रहार गरी हत्या गरेको र कानमा लगाएको सुन जस्तो देखिने धातुको २ थान रिङ लुटेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
आकाशले उक्त रिङ धनकुटा पाख्रीवास नगरपालिका–४ बुद्धचोकस्थित रुपकला ज्वेलर्सका संचालिका ३६ वर्षीया धनमाया विश्वकर्मालाई बिक्री गरेको र धनमायाले सो रिङ सोही ठाउँस्थित विवेक ज्वेलरीमा बिक्री गरेको खुलेपछि धनमाया र विवेक ज्वेलरीका सञ्चालक ५३ वर्षीय देवबहादुर विश्वकर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी इलाम माई नगरपालिका–१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका–८ गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।
विर्तामोड नगरपालिका–५ का माया पुलामी झापा अर्जुनधारा नगरपालिका–६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माघ ८ गते मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।
बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले विवाह गर्ने प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
View : 134
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved