विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरीदेखि जुडी खोलासम्मको सडक नबन्दा सर्वसाधरण आमनागरिकसँगै उद्योगीहरूले पनि सास्ती खेप्नुपरेको छ । औद्योगिक कच्चापदार्थ तथा तयारी वस्तु ढुवानी हुने उक्त मुख्य सडक खण्ड नबन्दा औद्योगिक उत्पादनको लागत बढेको छ ।
हुलाकी राजमार्गको अन्य खण्ड बनेर प्रयोगमा आइसक्दा यो खण्ड भने सात वर्षदेखि बन्न सकेको छैन ।
२०७६ कात्तिक महिनादेखि निर्माण सुरु भएको हुलाकी सडकअन्तर्गतको सो खण्डमा बाटो चौडा पार्नेबाहेक कुनै प्रगति नभएपछि उद्योगीहरू निराश भएका छन् ।
मुख्य औद्योगिक करिडर भएको यो सडक खण्ड भएर दैनिक सयौंका संख्यामा मालवाहक ट्रक चल्छन् । त्योभन्दा धेरै संख्यामा सिटी सफारी, साइकल, मोटरसाइकललगायतका सवारी साधन चल्छन् ।
अत्यधिक चाप हुने सडक खण्ड सात वर्षमा समेत नबन्नु दुर्भाग्य भएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन् ।
उनका अनुसार, औद्योगिक कच्चापदार्थ भित्राउने र तयारी वस्तु बजारसम्म पुर्याउने मुख्य मार्गका रूपमा रहेको यो सडक खण्ड निर्माणमा भएको ढिलाइले उद्योगहरूको उत्पादन लागत बढ्नुका साथै ढुवानी व्यवस्थापनसमेत जटिल बनेको छ ।
राज्यले प्राथमिकताका साथ निर्माण गर्नुपर्ने सडक वर्षौंसम्म अलपत्र रहँदा उद्योगीहरूमा निराशा बढ्दै गएको उनले बताए ।
‘यो सम्पूर्ण औद्योगिक करिडोरकै सबैभन्दा समस्याग्रस्त सडक खण्ड हो,’ राठीले उद्घोषसँग भने, ‘हामीले उद्योग संगठनका तर्फबाट पटक–पटक पहल गर्यौं, स्थानीय प्रशासनसँग छलफल गर्यौं, हुलाकी राजमार्ग आयोजनाका अधिकारीहरूसँग पनि कुरा गर्यौं । स्थानीयवासीले आन्दोलनसमेत गरे । तर अहिलेसम्म सडकको अवस्था उस्तै छ ।’
कटहरीदेखि जुडी खोलासम्मको करिब पाँच किलोमिटर सडक खण्ड मोरङको महत्वपूर्ण औद्योगिक मार्ग मानिन्छ । यस क्षेत्रमै सयभन्दा बढी साना तथा ठूला उद्योग सञ्चालनमा छन् ।
दैनिक हजारौं टन कच्चापदार्थ बोकेका ट्रक, तयारी वस्तु ढुवानी गर्ने मालवाहक सवारी, बस, सिटी सफारी, मोटरसाइकल तथा अन्य सवारी साधन यही सडक हुँदै आवतजावत गर्छन् ।
राठीका अनुसार सडक बिग्रिएको कारण उद्योगहरूले दैनिक रूपमा अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको छ ।
‘आज हजारौं ट्रक त्यहाँबाट आवतजावत गर्छन् । कच्चापदार्थ आउँछ, तयारी वस्तु बाहिर जान्छ ।
सडक राम्रो नहुँदा ढुवानी ढिलो हुन्छ, गाडीको मर्मत खर्च बढ्छ, इन्धन बढी खर्च हुन्छ । अन्ततः त्यसको असर उत्पादन लागतमा पर्छ,’ उनले भने ।
उनका अनुसार सडकको खराब अवस्थाका कारण उद्योगहरूले समयमै कच्चापदार्थ प्राप्त गर्न नसक्ने समस्या पनि दोहोरिने गरेको छ ।
कतिपय अवस्थामा सडक हिलाम्मे हुँदा मालवाहक सवारी फस्ने र यातायात अवरुद्ध हुने समस्या देखिन्छ । सुख्खा मौसममा भने धुलोका कारण उद्योग परिसर तथा आसपासका बस्ती प्रभावित हुने गरेका छन् ।
कटहरी–जुडी सडक खण्ड आसपासको क्षेत्र मोरङको प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित छ ।
यहाँ खाद्यान्न, प्लास्टिक, निर्माण सामग्री, कृषि प्रशोधन, तेल उद्योगलगायत विभिन्न प्रकृतिका उद्योग सञ्चालनमा छन् ।
यी उद्योगको कच्चापदार्थ भारतलगायत विभिन्न स्थानबाट भित्रिने गर्छ भने उत्पादन नेपालका विभिन्न जिल्लामा पुग्नुका साथै भारततर्फ नै निकासी हुने गर्छ ।
राठीका अनुसार सडक निर्माणमा भएको ढिलाइले सम्पूर्ण औद्योगिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ ।
‘मलाई लाग्छ त्यहाँ सयभन्दा बढी उद्योग छन् । यति धेरै उद्योग भएको क्षेत्रमा राज्यले सडक निर्माणलाई प्राथमिकतामा राख्नुपथ्र्यो,’ उनले भने, ‘उद्योगी मात्र होइन, त्यहाँ बसोबास गर्ने स्थानीय जनता पनि पीडित छन् । धुलो, हिलो र ट्राफिक समस्याले दैनिक जीवन प्रभावित भएको छ ।’
उनले सडकसँगै हाटखोला पुलको विषय पनि गम्भीर रहेको बताए । उक्त पुलमा कुनै समस्या उत्पन्न भए वैकल्पिक मार्गको अभाव हुने भन्दै उनले तत्काल दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए ।
‘हाटखोला पुल यो क्षेत्रको संवेदनशील पूर्वाधार हो,’ राठीले भने, ‘भोलि पुलमा कुनै समस्या आयो भने हामीस“ग वैकल्पिक बाटो छैन । त्यसैले पुल र सडक दुवैको निर्माण तथा स्तरोन्नतिमा सरकारले तत्काल ध्यान दिनुपर्छ ।’
उद्योगीहरूले भोगिरहेको अर्को प्रमुख समस्या भनेको वैकल्पिक मार्गको अभाव पनि हो ।
सामान्य अवस्थामा भन्सार क्षेत्रबाट कटहरी औद्योगिक क्षेत्र पुग्न धेरै दूरी पार गर्नुपर्दैन । तर सडकको अवस्था कमजोर हुँदा सवारी साधनले लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
राठीका अनुसार छोटो दूरी पार गर्नसमेत करिब १५ किलोमिटरसम्म अतिरिक्त यात्रा गर्नुपर्ने अवस्था छ ।
उनी कटहरीसम्म पुग्न अर्को बैकल्पिक बाटोको आवश्यकता पनि देख्छन् ।
राठीले त्यसका लागि विराटनगरको निर्माणाधीन रिङरोड पनि विकल्प हुने सुझाउँछन् । यो बाटोलाई औद्योगिक सामानको ओसारपसारमा प्रयोग गर्न सके ट्राफिक समस्यादेखि अन्य धेरै समस्याको समाधान हुने उनको बुझाइ छ । यसले समय र खर्च दुवै कम हुने उनी बताउँछन् ।
उनका अनुसार अनावश्यक लजिस्टिक खर्च बढ्नु अहिले नेपाली उद्योगका प्रमुख चुनौतीमध्ये एक हो । सडक पूर्वाधार कमजोर हुँदा त्यो समस्या अझ गम्भीर बनेको छ ।
‘पहिलेदेखि नै उद्योग सञ्चालन खर्च बढिरहेको छ । विद्युत, श्रम, वित्तीय लागत सबै बढेको छ,’ उनले भने, ‘त्यसमाथि ढुवानी खर्च पनि बढ्दा उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्छ ।’
सडक निर्माणमा भएको ढिलाइको असर उद्योग क्षेत्रमा मात्र सीमित छैन ।
कटहरी बजार तथा आसपासका बस्तीका स्थानीय बासिन्दाले पनि वर्षौंदेखि धुलो, हिलो र दुर्घटनाको जोखिम झेल्दै आएका छन् ।
स्थानीयका अनुसार सुख्खा मौसममा सडकबाट उड्ने धुलो घरभित्रसम्म पुग्ने गरेको छ ।
व्यवसाय सञ्चालन गर्न कठिन हुने, स्वास्थ्यमा असर पर्ने तथा बालबालिकालाई विद्यालय आवतजावतमा समस्या हुने गरेको उनीहरूको गुनासो छ ।
वर्षायाममा सडक हिलाम्मे बन्दा पैदल यात्रु तथा दुईपांग्रे सवारी चालकले थप समस्या भोग्नुपर्छ । कतिपय स्थानमा पानी जम्ने र सवारी फस्ने समस्या समेत देखिने गरेको स्थानीयहरू बताउँछन् ।
यद्यपि विगत केही वर्षमा उक्त सडक खण्डको सामान्य मर्मत तथा सुधारका प्रयास पनि भएका छन् ।
उक्त सडक खण्डअन्तर्गतको कटहरी गाउँपालिकाले पनि यस विषयमा बेलाबेलामा चासो देखाउने गरेको छ ।
पालिका अध्यक्ष देवराज चौधरीले जतिसक्दो चाँडो सडक बनाउन सम्बन्धित निकायलाई दवाव दिएका छन् ।
तर, उनी अध्यक्ष निर्वाचित हुनुभन्दाअघि निर्माण सुरु भएको उक्त सडक खण्ड उनको कार्यकाल सकिन लाग्दासमेत बन्ने छाँटकाँट देखिदैन ।
सडक नबन्ने देखेर आजित भएका अध्यक्ष चौधरी एक महिनाअघि २९ बैशाखमा हुलाकी राजमार्ग निर्देशानलय योजना कार्यालय इटहरीलाई धुलो प्रदुषणलाई नियन्त्रण गरिदिन भनेर पत्र लेखे ।
‘धुलोको प्रदुषणले उक्त क्षेत्रका वासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्ने, र वर्षातको समयमा सडकमा ठूलाठूला खाडलहरू परी दैनिक जसो दुर्घटना हुने, स्थानीयले समयसमयमा सडक बन्द गर्ने, आन्दोलन गर्ने जस्ता कार्यले गर्दा दैनिक आवतजावत हुने सवारी साधन लगायत मालवाहक सवारी साधनहरु समेत अवरुद्ध हुने भएको’ भन्दै अध्यक्ष चौधरीले उक्त सडक पुनः ठेक्का तथा निर्माण नहुन्जेलसम्म सडक नियमित
मर्मत तथा धुलो प्रदुषणलाई नियन्त्रण गरिदिन हुलाकी राजमार्ग कार्यालयलाई पत्र लेखेका हुन् ।
उक्त सडक खण्ड निर्माणमा ढिलाइ हुनुको अर्को कारण सडक क्षेत्रमा रहेका विद्युत् पोलहरूको व्यवस्थापनलाई पनि मानिएको छ ।
स्थानीय सरोकारवालाका अनुसार केही स्थानमा पोल स्थानान्तरणको काम पूर्ण रूपमा सम्पन्न हुन नसक्दा निर्माण कार्य प्रभावित भएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी पनि विद्युत पूर्वाधार व्यवस्थापन समयमै हुन नसक्दा सडक निर्माणले अपेक्षित गति लिन नसकेको बताउँछन् ।
तर, सडक निर्माणको काम थाल्दा यस्ता समस्या आफै समाधान हुने उनको तर्क छ ।
कटहरीको सिंघिया खोलादेखि जुडी खोलासम्मको सडक खण्ड हुलाकी राजमार्ग आयोजनाअन्तर्गतको एउटा सानो खण्डमात्रै हो । यो सडक निर्माण कार्य २०७६ कात्तिक २४ गते सुरु गरिएको थियो ।
View : 109
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved